अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

बुढेसकालमा स्मरण शक्ति घट्नु साधारण होइन !



Download our app to get more features

काठमाडौं, १५ असोज । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ६० वर्ष उमेर कटेकाहरुको लागि यो दिवस मनाइने गरिन्छ । अहिले कोरोना महामारीका कारण पनि ज्येष्ठ नागरिकलाई आफ्नो चपेटामा लिन थालेको छ । 

विषेशगरी ६० वर्ष कटेका उमेर समूहका र दीर्घरोगीलाई रोगले चाँडै नै आक्रमण गर्ने गरेको छ । किनभने ६० वर्ष उमेर कटेका व्यक्तिहरुको शरीरमा रोगसँग लड्ने क्षमता कमजोर भएकाले उनीहरु रोगको उच्च जोखिममा हुन्छन् । त्यसमा पनि ६० वर्ष उमेर कटेका व्यक्तिहरुमा स्मरणशक्ति हराउने समस्या मुख्य हुन्छ ।  

बुढ्यौली लाग्दै गर्दा मानिसमा स्मरण शक्ति क्रमशः घढ्दै जानुलाई हाम्रो समाजमा सामान्य प्रक्रिया ठान्ने गरिन्छ । उमेर बढ्दै जाँदा आम्दानी घट्नु, परिवारबाट अपहेलित हुने आदि कारणले उनीहरूमा उदासीपन र चिन्ताले सताउने गर्छ । उदासीपन र चिन्ता बढ्दै जाँदा उनीहरूमा अल्जाइमर (बिर्सने) रोग लाग्न सक्छ ।

यस्तो अवस्थामा बिरामीको स्याहार गर्नेले जति राम्रो गरे पनि शारीरिक र मानसिक रुपमा ऊ सन्तुष्ट हुँदैन । बिरामीको स्याहार गर्नेले उनीहरूसँग कसरी संचार गर्ने, कुरा कसरी बुझाउने, बिरामीका कुरा कसरी बुझ्ने र घरको वातावरण कस्तो राख्ने भन्नेमा ध्यान पु¥याउनु पर्ने चिकित्सकहरूको भनाइ छ । 

जेष्ठ नागरिकले बिर्सन थाले त्यसलाई सामान्य ठान्ने परिपाटि सुधार गर्न नेपाल अल्जाइमर विस्मृती समाजले जनचेतनामुलक कार्यक्रम र जेष्ठ नागरिकलाई परामर्श दिदै आएको छ । जेष्ठ नागरिकलाई उपचारमा आर्थिक चुनौति छ । यो रोग कसैलाई ६० वर्ष पार गरेपछि लाग्छ भने कसैलाई ७० र ८० वर्ष पार गरेपछि मात्रै लाग्ने गरेको छ । कोही व्यक्तिलाई नलाग्न पनि सक्छ । 

अल्जाइमर रोग विशेषज्ञ डा. रमेश कडेँलका अनुसार यो रोग लागे वृद्धवृद्धाले खाएको कुरा बिर्सने, खान दिए पनि मलाई खान दिइनस् भन्ने, एउटै कुरा पटक पटक दोहोर्याउने, घरका सदस्यलाई नै नचिन्ने, बाटो बिराउने, दिसापिसाब जहाँ पायो त्यही छोडिदिने, शंका गरिरहने, घरको भित्ता र ऐनासँग कुरा गर्ने जस्ता लक्षण देखाउँछन् । डा. कडेँलले भने ‘यो रोग पुरा निको हुँदैन, तर कन्ट्रोल गर्न सकिन्छ ।’ कन्ट्रोल गर्न सकिने भएकाले अल्जाइमरको कुनै पनि लक्षण देखा पर्ना साथ अस्पताल जान डा. कडेँलले आग्रह गरे । उमेर ढल्कदै जाँदा बिर्सिहाल्छन नि भनेर बेवास्ता नगर्ने उनको सुझाब छ । बेवास्ता गरे यो रोगले जटिल अवस्था निम्ताउने डा. कडेँलको भनाइ छ ।

यसरी पाइन्छ अल्जाइमर उपचारमा सुविधा
सरकारले अल्जाइमर उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्छ । डा. कडेँलका अनुसार एक लाखले १० देखि १५ वर्ष सम्मलाई पुग्ने औषधि पाइने हुँदा उपचारका लागि जेष्ठ नागरिक डराउनु पर्ने अवस्था नरहेको डा. कडेँलले बताए । यो सेवा पाउन अल्जाइमर उपचार हुने अस्पतालमा नागरिकताको फोटोकपी र २ वटा फोटा लिएर जानु पर्छ । 

जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष डा. गौरी शंकरलाल दासले वृद्धवृद्धालाई उचित हेरचाह गर्न आग्रह गरे । बिर्सने रोगको कुनै लक्षण भए अस्पताल गएर तत्काल उपचार गराउन उनले सबैलाई अनुरोध पनि गरे । 

डिमेंसियाः बिर्सने रोग 
डिमेंसिया (बिर्सने रोग) मस्तिष्कमा लाग्ने एक प्रकारको रोग हो । जसले स्मरण शक्ति, चिन्तन, जागरुकता, मनन, हिसाबकिताव, नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा ह्रास ल्याउँछ । यो रोग एकै चोटि नदेखिएर बिस्तारै बढ्दै जान्छ र जीवनभर रहिरहन्छ । अन्तमा यो अन्यन्त कठोर भएर बिरामीलाई सिकिस्त पार्छ र ज्यान समेत लिनसक्छ । डिमेंसिया विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये अल्जाइमर सबै भन्दा बढीमा देखिन्छ । 

लक्षण

♦  तर्क गर्न क्षमता गुम्नु तथा सामान्य समस्या पनि समाधान गर्न नसक्नु ।

♦  सँधै गर्दै आएको घरायसी, व्यावसायिक अथवा सामान्य समस्या पनि समाधान गर्न नसक्नु ।

♦  समय तथा स्थानको होस नहुनु ।

♦  स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु । 

♦  घरायासी तथा व्यवसायिक क्रियाकलापबाट बिमुख हुनु ।

♦  व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु । 

कसरी जोगिने
स्वस्थ जीवन शैली अपनाउनाले व्यक्तिमा बिर्सने रोगको खतरा कम हुन्छ । मुटुको लागि जे राम्रो हुन्छ सोही दिमागको लागि पनि राम्रो हुन्छ । बिर्सने रोगको खतरालाई कम गर्ने यस्ता उपाय अपनाउनु पर्छ :-

♦  मुटुको हेरविचार गर्ने ।

♦  शरीरिक रुपमा क्रियाशिल हुने । 

♦  सधैं सन्तुलित, पोसिलो खाना खाने । 

♦  मस्तिष्कलाई चुनौति दिने प्रयास गर्ने ।

♦  सामाजिक क्रियाकलापमा सहभागी हुने । 

Last modified on 2020-10-01 08:36:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts