विश्व एनेस्थिसिया दिवस

के हो बिरामी बेहोश बनाउने एनेस्थेसिया ?



Download our app to get more features

आज १६ अक्टोबर अर्थात विश्व एनेस्थेसिया दिवस । बिरामीलाई अप्रेसन गर्दा लठ्याउने वा बेहोश गराउने विधा चिकित्सा जगतमा महत्वपूर्ण छ । बिरामी र बिरामीका आफन्तसँग प्रत्यक्ष सम्पर्क नहुने तर पृष्ठभूमिमा रहेर उपचार प्रक्रियामा ठुलो भुमिका निर्वाह गर्ने एनेस्थेसियाका हस्तीहरूलाई पर्दा पछाडीका नायक भन्दा फरक पर्दैन । एनेस्थेसियाको प्रकार शरीरको कुनै भाग लठ्याउने वा पुरै शरीर बेहोश बनाउने आधारमा तीन भागमा विभाजन गरिएको छ । 

लोकल एनेस्थेसिया : शरीरको कुनै सानो भागलाई मात्र लठ्याउन लोकल एनेस्थेसियाको प्रयोग गरिन्छ । चोट लागेको भागमा टाँका लाउन, सानोतिनो गाठो, मासु पलाएको आदि हटाउन यो प्रयोग गरिन्छ ।

रिजनल एनेस्थेसिया : शरीरको कुनै ठूलो भागलाई लठ्याउन रिजनल एनेस्थेसिया प्रयोग गरिन्छ । यसमा हात, खुट्टा, कम्मर मुनिको भाग आदि मात्र लठ्याइन्छ तर, बिरामी होसमै रहन्छ । बच्चा पाउँदा गरिने अप्रेसन सिजेरियन सेक्सन, एपेन्डीसाइटिस, खुट्टाको अप्रेसनहरूमा दिइने स्पाइनल एनेस्थेसिया यस अन्तर्गत पर्छन । 

जेनेरल एनेस्थेसिया : पुरै शरीर बेहोश बनाएर गरिने अप्रेसनको निम्ति जेनेरल एनेस्थेसिया प्रयोग गरिन्छ । टाउको, नाक, कान, घाँटी, पेट आदिको जटिल र मेजर शल्यक्रियामा पुरै शरीर लठ्याइने गरिन्छ । यसमा बिरामीको श्वासप्रश्वासको निम्ति सहयोग गर्न फोक्सोमा पाइप पनि हाल्ने गरिन्छ । 

बेहोश बनाउने डाक्टरसँग के सोध्ने ? जुनसुनै अप्रेसनमा बेहोश बनाउने चिकित्सकसँग आफुलाई बेहोश बनाउन प्रयोग हुने एनेस्थेसियाको किसिम, यसको सम्भावित जटिलता, विकल्पलगायतको जानकारी लिनुपर्छ । बेहोश बनाउने चिकित्सकले श्वासप्रश्वास, मुख, घाँटी आदिको जाँच गर्छन । आफुले लामो समयसम्म खाइरहने औषधि, उच्च रक्तचाप वा दीर्घरोग केही भए सो को जानकारी एनेस्थेसिया चिकित्सकलाई गराउनु पर्छ ।

एनेस्थेसियाको अन्य प्रयोग अप्रेसनमा लठ्याउन मात्र नभई चिकित्सा क्षेत्रमा एनेस्थेसियाको धेरै भूमिका छ । बिरामीलाई सहनै नसक्ने दुखाई भएमा त्यो दुखाई कम गर्न, छारेरोग आदिको बिरामीलाई लठ्याउन, मुखबाट फोक्सोमा पाइप हालेर भेन्टिलेटरमा जडान गर्न आदि विभिन्न प्रक्रियामा एनेस्थेटिस्टको सहयोग आवश्यक पर्छ । विकसित देशहरूमा इपिड्युरल एनेस्थेसियाको माध्यमले दुखाईविना बच्चा पाउने विधि निकै प्रचलनमा आइसकेको छ । बिरामीसँग अन्तरक्रिया कम हुने भएकाले एनेस्थेसिया विधाबारे हामी कम जानकार छौं । आफुलाई अप्रेसन वा दुखाईको बेला पीडालाई कम गर्ने महत्वपूर्ण जिम्मेवारी निभाउने एनेस्थेसिया टीमलाई धन्यवाद दिने गरौं ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts