बाजुराका २ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना



Download our app to get more features

बाजुरा, ६ कात्तिक । बाजुराको गौमुल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्नेगरी केन्द्रको स्थापना भएको हो ।
 
नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारीका रुपमा कार्यरत रहने बताइएको छ । उनीहरुले सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने जिल्ला आयुर्वेद कार्यालय बाजुराकी प्रमुख दिक्षा भण्डारीले बताइन् । आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्ने कार्यालयले जनाएको छ । 

गाउँमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउन नपर्ने भएको छ । गाउँमा सेवा संचालनका लागि पहलगर्ने जिल्ला आयुर्वेद केन्द्र लगायत सबैप्रति गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता थापाले आभार व्यक्त गरिन् । यस्तै गाउँपालिका अध्यक्ष हरी रोकायाले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै सञ्चालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने बताए । 

यसअघि स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेको छ। एक सातापहिले उक्त गाउँपालिकामा सेवा केन्द्र स्थापना भएको हो ।
  
पछिल्लो समय जिल्ला आयुर्वेद बाजुराले प्रभावकारी सेवा दिइरहेको स्थानीयले बताएका छन् । कार्यालयले गाउँघरमै पुगेर आयुर्वेद उपचार समेत दिँदै आएको उनीहरुको भनाइ छ ।
 
कार्यालयले नसर्ने रोग दम, अम्लपित्त, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मेनोेगत रोग लयायतका रोगको विशेष उपचार गरिरहेको कार्यालय प्रमुख भण्डारीले बताइन् । ‘पछिल्लो समयमा कार्यालयमा  उपचार गर्नेको निकै भिड लाग्ने गरेको छ’ उनले भनिन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts