कोरोना विरुद्धको खोपमा सबैको सहज पहुँचका लागि सरकार क्रियाशीलः प्रधानमन्त्री ओली



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण यस वर्षको दशैं सचेत भएर मनाउनुपर्ने बताएका छन् 

देशवासीका नाममा शुक्रवार दशैंको शुभकामना दिँदै उनले अहिलेको विषम परिस्थितिमा यसवर्षको दशैं सेचत भएर तथा भौतिक दुरीमा कायम गरेर मनाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने सभ्भावित संक्रमणको खतरालाई ख्याल गर्नुपर्ने पनि उल्लेख गरे ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दशैं मनाउनु सबैलाई आग्रह गरेका छन् ।

उनले दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको भन्दै अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बनेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले महामारीको संक्रमणको वेग थामिन समय लाग्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रीत गरेको पनि दावी गरे ।

उनले भने, ‘कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामा पछि हट्दैन ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने भन्दै पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहने बताए ।

सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको भन्दै उनले सम्बन्धीत अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहेको पनि बताए । 

‘मृतकहरुको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ ।’ उनले भने, ‘स्थानीय परम्परा र पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिक संलग्नतामा शव व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको छ । निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनु भएको छ ।’

प्रधानमन्त्रीले दोह¥याउँदै भने, ‘यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा आफ्ना कर्तव्यहरुबाट विमुख हुनसक्दैन र भएको छैन । त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न म सबैमा आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट जनतालाई बचाउन मानवीय र सेवाभावका साथ आ–आफ्नो मोर्चामा हरेक खतरा र कठिनाई व्यहोर्दै चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था र व्यक्तिहरु निरन्तर क्रियाशील रहेको भन्दै अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गरे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts