कोरोना कालमा डाक्टरको दशैंः यस पटक अस्पताल र बिरामीसँगै



Download our app to get more features

कोरोना कालमा यस वर्षको दशैँ सबै नेपालीहरु मनाइरहेका छन् । विगतका वर्षभन्दा यसवर्षको दशैं पूरै फरक शैलीमा मनाइँदैछ । विश्वभर फैलिएको कोरोना माहामारीका कारण पूरै विश्व नै प्रभावि हुँदा भिडभाड हुने काम नगर्न विश्व स्वास्थ्य संगठनले मात्रै होइन सबै निकायले आग्रह गरिरहेको छ । 

वर्षमा एक पटक आउने दशैं निकै नै हर्षोल्लासका साथ मनाइने गरिन्थ्यो । वर्षमा एक पटक भएपनि परिवारका सबै सदस्य, ईष्टमित्र, आफन्त एक ठाउँमा जम्मा भएर एक अर्कामा माया साट्ने, आशिर्वाद दिने, मनका कुरा साटासाट गर्ने अवसरको रुपमा दशैंलाई लिने गरिन्छ । कार्य व्यवस्तताका कारण, अध्ययन, र आफ्ना लक्ष्य पूरा गर्नका लागि मानिसहरु घरभन्दा बाहिर, गाउँभन्दा बाहिर जान्छन् जसले गर्दा परिवारसँग प्रत्येक समय सँगै बस्ने मौका हुँदैन । चाडबाड मात्रै एक यस्तो अवसर हो जहाँ परिवारसँग समय बिताउन सकिन्छ । तर, यस वर्षको दशैं मात्रै होइन आउने र बितेका सबै चाडबाड खासै मनाइएको छैन ।

गत डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एकपछि अर्को मुलुक गर्दै विश्वभर फैलिसकेको अवस्था छ भने अर्कोतिर आउने जाडो मौसममा संक्रमण फेरि बढ्न सक्ने विज्ञहरुले चेतावनी दिँदै छन् । यो अवस्थामा सबै सचेत हुनु र सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पूरा गर्नु नै उत्तम उपाय हो । 

अर्को कुरा भनेको बिरामीको देखभाल गर्ने निकाय अस्पतालहरु, त्यसमा पनि विशेष गरि कोभिड विशेष अस्पताल र त्यहाँ काम गर्ने डाक्टरहरुको भूमिका र उनीहरुको योगदानलाई हामीले बिर्सनु हुँदैन । कोरोना संक्रमणको दरसँगै अस्पतालमा आउने बिरामी, उनीहरुको उपचार, उनीहरुको रेखदेख गर्ने सबै जिम्मेवार प्रमुखहरुको हुन्छ । कोरोना महामारी नेपालमा सुरु भएदेखि नै अग्रस्थानमा खटिएकाहरुको दशैं अन्य वर्षपनि खासै हुँदैन थियो । कारण चिकित्सकीय पेशामा विदा कमै मात्रै पाइन्छ । यदि पाइयो भने पनि आलोपालो गर्नु पर्ने हुन्छ । यस वर्षको दशैं कोभिड वारियरका लागि अस्पताल र बिरामीसँगै बित्ने भएको छ । यस पटकको दशैं कोभिड वारियर र अग्रस्थानमा मोर्चा सम्हालेका डाक्टरहरुको दशैं कस्तो हुँदैछ ? कोभिडको मोर्चा सम्हाल्ने डाक्टरको कुराकानी उनकै भनाइ अनुसार

डाक्टर अनुप वास्तोला
शुक्रराज ट्रपिकल अस्पताल, टेकु

यस पटकको दशैं अस्पताल र बिरामीसँगै बिताउँदै छु । अस्पतालमा दैनिक गम्भीर िप्रकृतिका कोरोना संक्रमित बिरामीको संख्या थपिँदैछ । उनीहरुलाई हाम्रो आवश्यकता हुन्छ । हुन त अस्पतालमा टिम छ, तरपनि बिरामीले डाक्टरलाई नै खोज्ने, कहिलेकाहीँ डाक्टरले भनेको मात्रै सुन्ने पनि हुन्छन् त्यहि भएर अस्पताल नगई हुँदैन । अहिले पनि १२/१३ जना आईसीयूमा छन् भने कहिलेकाहीँ भेन्टिलेटरमा पनि पुग्छन् बिरामी । यो अवस्था नै फरक छ । बिरामीलाई छोड्न मिल्ने अवस्था नै छैन । त्यसकारण अस्पतालमै प्रायः समय बितिरहेको हुन्थ्यो र दशैंमा पनि त्यो निरन्तर नै छ ।

अरु बेला दशैंमा इष्टमित्र, आफन्तकोमा टिका लगाउन जाने, भेटघाट गर्ने गरिन्थ्यो भने कोरोनाले गर्दा उनीहरुसँग भेटघाट पनि हुन सकेको छैन र दशैंमा जाने र बोलाउने अवस्था पनि छैन । घरमा बुबा मुमा हुनुहुन्छ, १५ महिनाको बाबु छ, श्रीमति छ त्यहि भएर जोखिम सबैलाई हुन्छ । आफूले पनि सुरुदेखि नै सबैलाई सम्झाई बुझाई गर्दै आएकोले सहमति मै यस पटक दशैं जे छ, जहाँ छ त्यहि त्यसरि नै मनाउन भनिएको छ । 

बिरामीको स्वास्थ्य भन्दा ठूलो केही हुँदैन । यस वर्ष भएन भने अर्को वर्ष मनाइन्छ । तर, ज्यान जोखिममा राखेर अनि जानीबुझी त्यस्तो गर्नु हुँदैन । सामान्य रुपमा नलिने र स्वास्थ्यका मापदण्ड पूरा गर्ने काम गर्नुपर्छ । आशिर्वाद र टिका भनेको त सँधैभरि नै हुन्छ त्यसकारण हेलचेक्र्याइँ नगरौं ।

डाक्टर उदय सिंह
नारायणी अस्पताल, पर्सा


कोभिडले गर्दा यस पटकको अवस्था नै फरक छ । यो हामी सबैले बुझेका छौं । सामान्य अवस्था होइन अहिलेको, जो सबैजना घुलमिल गर्ने, रमाइलो गर्न सक्छौं । अहिले पनि इमर्जेन्सीमा बिरामी आउने क्रम जारी छ । अस्पतालको प्रशासन सेवा दशैंमा विदा भएपनि बिरामीलाई सेवा दिने काम बन्द छैन । फरक यति मात्रै छ की पहिलेको जस्तो अहिले निरन्तर अस्पतालमा बस्नु परेको छैन ।

कोभिड कस्तो रोग हो त्यो हालसम्म पनि कसैलाई थाहा छैन । सँधै परिवर्तन भइ नै रहेको छ यो । त्यसकारण पनि यहि नै उपचार हो, यो नै यसको लक्षण हो भनेर भन्न सकिँदैन । त्यसकारण बिरामी अस्पताल आयो भने अहिले वर्क फ्रम होमको अवस्थामा काम गर्दैछु । फोनमा निरन्तर कुराकानी हुन्छ । त्यस्तै परे अस्पताल पनि जान्छु । बिरामीको स्वास्थ्य पहिलो प्राथमिकतामा छ र हुन्छ ।

ढुक्क के कुरामा छु भने आमा, बुबा, छोराहरु र श्रीमतिसँगै छु । खास घर सर्लाही भएपनि वीरगञ्जमै छौं सबैजना । गाउँ गइँदैन खासै । तर, भाइ र दीदी काठमाडौंमा बस्ने भएकाले यस वर्ष उहाँहरुसँग भेटघाट हुँदैन । अन्य वर्षमा त सबै जना यतै आउने गुर्नु हुन्थ्यो भने यस वर्ष कोही नआउने र हामी पनि कतै नजाने भएका छौं । घरमा यसै वृद्धवृद्धा हुनुहुन्छ र अन्य सदस्यलाई पनि जोखिम हुने भएकाले दशैं सामान्य नै भइरहेको छ ।

पर्सा जिल्लामा संक्रमितको दरमा कमी आएपनि अन्य छिमेकी जिल्लाबाट अस्पताल आउने संक्रमित छन् । उनीहरुको व्यवस्थापनदेखि फोनमा पनि नियमित कुराकानी हुन्छ । होम आइसोलेसनमा बस्नेहरुसँग । अहिले काठमाडौं उपत्यकामा धेरै संक्रमण बढ्दै जाँदा त्यहाँबाट पनि फोनहरु आउने र उहाँहरुलाई परामर्श दिँदैछु । त्यसैले यस वर्षको दशैं फोन र काममै बितिरहेको छ ।

डाक्टर रोशन कुमार झा
शसस्त्र प्रहरी अस्पताल, काठमाडौं


आफू त डाक्टर मात्रै होइन सुरक्षाकर्मी पनि परे । त्यसकारण दुबै विधाका कारण दशैं र अन्य चाडवाड पनि बिरामीसँगै बित्ने गरेको थियो पहिलेपनि । झन् यस पटक त अवस्था के र कस्तो छ त्यो हामी सबैले बुझेका छौं । कोही कतै जाने आउने अवस्था नै छैन । झन् हामी भनेको छ दोहोरो जिम्मेवारी भएको व्यक्ति बिरामीलाई र सुरक्षालाई छोड्नै नमिल्ने ।

जनकपुर हो घर मेरो । घर जाँदा पनि बिरामी आइ हाल्छन् र यहाँ त स्वाभाविक रुपले नै बिरामीलाई हेर्नु परिहाल्छ । घरमा बच्चा, आमा र डाक्टर श्रीमति र सबैले कोरोनाबारे बुझेको हुनाले दशैं बिरामीसँगै बित्दैछ । अस्पतालमा दैनिक बिरामीको संख्या बढ्ने, त्यसमा पनि गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दा अवस्था अनुसार अस्पताल कुद्नु पर्छ । होइन सामान्य अवस्था छ भने त फोनमै पनि सम्पर्क गरेर काम गरिन्छ ।

सामान्य अवस्था हुँदा र अहिलेको अवस्था पुरै फरक छ । त्यसकारण यो वर्षको दशैं खासै नमान्ने भएको छु । बिरामीलाई हेर्दै दिन बित्छ । उनीहरुलाई सेवा दिन पाउँदा खुशी छु । दशैं भनेको यस वर्षलाई यस्तै भयो । बिरामी र कोभिडसँगै दशैं मनाइरहेको छु ।

अन्तिममा कोरोना संक्रमितको सुरुवातदेखि होस् वा जुनसुकै समयमा आएर कोरोना विरुद्धको लडाईंमा खट्नेहरुको दशैं यसपटक बिरामीसँगै बित्दैछ । घर जाने र दशैं मनाउने अवस्था नहुँदा जो जहाँ छौं त्यहि सावधानीका साथ दशैं मनाउन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।

Last modified on 2020-10-26 07:46:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts