लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको मृत्यु



Download our app to get more features

रुपन्देही, १४ कात्तिक । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन ।

गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । 

अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि विरोध जनाएका छन् । ‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त कमलराज गिरीले भने, ‘५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।’

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए । केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताए ।
बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उनले बताए । ‘यही कारणले मृत्यु भयो भनेर भन्न सकिन्न, तर अस्पताल र डाक्टरले जानी–जानी लापर्बाही गर्ने कुरा हुँदैन,’ प्रवक्ता गौतमले भने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts