सुदूरपश्चिममा कोरोना जितेकाहरु भन्छन्ः कोभिड अस्पतालका स्वास्थ्यकर्मी भगवान हुन्



Download our app to get more features

धनगढी, १९ कात्तिक । भाडाको कोठा लिएर आइसोलेसनमा बसेको ७ दिनपछि पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ खलंगाका दीपक अवस्थीको खुशीको सीमा छैन ।

कडा लक्षणसहित कोरोना रिपोर्ट पोजेटिभ आएपछि अब बाँच्दैन भन्ने चिन्तामा डुबेका अवस्थीको मन अब भने चड्ढा भएको छ । पूरानै अवस्थामा फर्किएका छन् ।

नेपाल रेडक्रस सोसाइटी दार्चुलाका मन्त्री समेत रहेका अवस्थी भन्छन्, ‘म नेपाल रेडक्रस सोसाइटी दार्चुलाको पदााधिकारी पनि हुँ । लकडाउनको समयमा राहत वितरण गरेका थियौ । सो समयमा कोरोना संक्रमण देखिएन । पहिरो पीडितलाई राहत वितरणमा सहभागी थिए । त्यो बेला देखिएन् । अहिले कताबाट संक्रमण भयो रु थाहा भएन् । रेडक्रसका अन्यलाई पनि कोरोना देखियो । मलाई पनि कोरोना देखियो । अरुहरु घरमै ठीक भए । तर मलाई भएन ।’ 

गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अवस्थी ८ दिन होम आइसोलेसनमा बसे । ८ औँ दिनमा स्वास्थ्यमा समस्या देखिएपछि असोज २२ गते उपचारका लागि धनगढी आएका अवस्थी २४ गते मात्र सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना भए । 

१५ दिनसम्म आईसीयूमा राखेर उपचार भयो उनको । रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भई भाडाको कोठा लिएर थप ७ दिन आइसोसनमा बसे । पुनः रिपोर्ट नेगेटिभ आएपछि उनमा खुशीको सीमा रहेन ।

निको भएपछि उनी कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । आफु निको हुनुको श्रय कार्यरत चिकित्सक, नर्स तथा सफाई कर्मचारीलाई दिएका छन् ।

उनी भन्छन्, ‘अब म पलाज्मा थेरापीका लागि समेत रगत दिन तयार छु । मलाई साह्रै जटिल भएको हो । म भन्दा जटिल संक्रमितको ज्यान बचाँउन चाहान्छु । म त डाक्टर र नर्सहरुको सेवाले सन्चो भएको हुँ । उनीहरुको सेवा धेरै राम्रो पाए । कोभिड अस्पतालको सबै सेवा राम्रो छ ।’

कोभिडलाई सामान्य रुपमा लिन नहुने उनको भनाइ छ । सामाजिक, शारीरिक, मानसिक तथा परिवारबाट समेत संक्रमितले दुःख पाइने गरेको अवस्थीको तितो अनुभुती छ । 

अरु अस्पताल यस्तै बनोस्
असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्त पनि होम आईसोलेसनमै थिए । स्वास्थ्यमा समस्या देखिएपछि असोज २७ गते सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना  भएका पन्त ८ दिनको उपचारपछि संक्रमण मुक्त भए ।

पेशाले आफै डाक्टर रहेका पन्त कोरोना अस्थायी अस्पतालको उत्कृष्ट सेवाकै कारण आफूले कोरोनालाई परास्त गरेको खुशी व्यक्त गर्छन् । ‘अस्पताल बसाइको क्रममा राम्रो व्यवहार पाए । यस्तो आशा गरेको थिएन् । डाक्टरहरुले पनि मोनिटरिङ गर्नुभयो । नर्सहरुको व्यवहार राम्रो छ’ उनले भने । 

कोरोना संक्रमितको उपचार निशुल्क भएको बताउँदै पन्तले संक्रमितका लागि आवश्यक खाना, नास्ता र उपचारका लागि औषधिको समेत व्यवस्था गरिएको उल्लेख गरे । कोभिड अस्थायी अस्पतालको जस्तो सेवा अन्य अस्पतालमा समेत लागु गर्न आवस्यक रहेको पन्तले औल्याए ।

यहाँ आएर बाँचियो :पत्रकार धामी
असोज २४ गते कोरोना पुष्टि भएका कञ्चनपुरका पत्रकार सुरेश धामी पनि कोभिड अस्थायी अस्पतालको उपचारपछि संक्रमण मुक्त भएका छन् । 

फोक्सोको निमोनिया देखिएपछि सघन उपचार कक्ष ९आईसीयू० मा उपचार गराएका धामीले उचित उपचार, नर्सिङ कर्मचारीको उचित हेरचाह र व्यवहारकै कारण कोरोनालाई परास्त गर्न सफल भएको बताउँछन् । 

धामीले भने, ‘कोरोना सामाजिक प्रतिष्ठासँग जोडिएको छ । बढी नै समस्या भएपछि मात्र कोरोना अस्पताल आएको पाए । म पनि ५÷७ दिन महेन्द्रनरमा नै अल्मलिए । मेरो स्वास्थ्यमा बढी समस्या भएपछि मात्र अस्पताल आए । डाक्टरहरुले पनि ढिलो भएको भए समस्या हुने भन्दै थिए । अस्पतालको वातावरण समेत राम्रो पाए । भित्र एक्लै हुने अनुमान थियो । तर यस्तो रहेनछ । अस्पतालको वातावरणसँग घुलमेल हुँदै आए ।’

नर्सहरुमा समेत कोरोना संक्रमणको त्रास रहेको अनुभव धामीको छ । कोरोना संक्रमितहरुले पनि एक अर्कालाई सहयोग गर्दै आएका उनले बताए । ‘आफ्नो ज्यानको बाजी लगाएकार सेवा गर्ने स्वास्थ्यकर्मी त भगवान हुन’ उनले भने । 

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोभिड अस्थायी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीको उचित उपचार र हेरचाहले नयाँ जीवन पाएकाहरु खुसी भएका छन् । उनीहरुले स्वास्थ्यकर्मीहरुलाई भगवानको संज्ञा दिन पछि परेका छैनन् ।

कोभिड अस्पतालको उपचार मात्र नभएर खाने, बस्ने र सरसफाइको पनि प्रशंसा गरिएको छ । यता जोखिम मोलेर संक्रमितको सेवामा खटिएका चिकित्सकहरुले पेशागत कर्तव्यलाई आत्मसाथ गर्दै अहोरात्र खटिएको कोभिड अस्थायी अस्पतालकी इन्चार्ज कल्पना भट्ट बताउँछिन् ।

छैन, अब कोरोनाको डर
कोभिड अस्थायी अस्पतालमा प्रत्येक १० दिनपछि अरुलाई नयाँ इन्चार्ज तोकिन्छ । १० दिन नर्स इन्चार्ज भएकी भट्टले नयाँ–नयाँ अनुभव बटुलेको बताउँछिन्, ‘एक जना संक्रमित भुईमा लड्नुभयो । मैले गएर उठाए । कोरोना संक्रमणबाट मुत्यु भएकी महिलाको शव समेत डिस्पोज गरेकी थिए । मलाई डर लागेको थियो । मेरो मास्क पनि निस्कियो । सैनिकहरुले पछि सहयोग गर्नुभयो ।’ उनले त्यसो गर्दा आफ्नो मन कत्तिपनि विचलित नभएको बताएकी छिन् । 

कोरोना संक्रमितका लागि परामर्श समेत आवश्यक हुने उनको भनाइ छ । संक्रमितहरु आतिने भएकाले समय–समयमा परामर्श दिदै आएको भट्ट सुनाउँछिन् ।

‘सुरुका दिनहरुमा कोभिडको धेरै डर थियो । तर अहिले कम भएको छ । संक्रमितका परिवारका सदस्यहरुले समेत सहयोग गर्दै आएका छन्’ उनले भनिन् । 

कोरोनाको उपचारको लागि औषधि पत्ता नलागेको अवस्थामा चिकित्सकले विरामीको समस्याको पहिचान गरेर उपचार गर्दै आएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts