कोरोना महामारीकाबीच चितवनमा बढ्दै डेङ्गु र स्क्रब टाइफसका बिरामी

साउनयता एक सय ९९ जनामा स्क्रब टाइफस देखियो



Download our app to get more features

चितवन, २८ कात्तिक । चितवनमा पछिल्लो समय कोरोना महामारीकाबीच डेङ्गु र स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । 

साउन १ गतेदेखि हालसम्म जिल्लाभर ३७ जनामा डेङ्गु संक्रमण देखिएको छ । जसमा २६ जना पुरूष र ११ जना महिला रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । 

उनका अनुसार संक्रमितमध्ये ७० प्रतिशत पुरूष र ३० प्रतिशत महिला रहेका छन् ।

त्यसैगरी जिल्लाका एकसय ११ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । संक्रमित हुनेमा ६१ जना महिला र ५० जना पुरूष रहेका छन् । चितवनका विभिन्न अस्पतालमा उपचार गराउन आएका अन्य जिल्लाका समेत गरी साउनयता चितवनमा एक सय ९९ जनामा स्क्रब टाइफस र ४५ जनामा डेङ्गु संक्रमण देखिएको तिवारीले बताए ।

तिवारीका अनुसार भरतपुर महानगरपालिकामा ५४ जनामा स्क्रब टाइफस र २० जनामा डेङ्गु संक्रमण देखिएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा २३ जनामा स्क्रब टाइफस र ८ जनामा डेङ्गु, राप्ती नगरपालिकामा १० जनामा स्क्रब टाइफस र १ जनामा डेङ्गु संक्रमण देखिएको हो । 

त्यसैगरी खैरहनी नगरपालिकामा १५ जनामा स्क्रब टाइफस र ४ जनामा डेङ्गु, माडी नगरपालिकामा ८ जनामा स्क्रब टाइफस र १ जनामा डेङ्गु, कालिका नगरपालिकामा ३ जनामा डेङ्गु र जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा एकजनामा स्क्रब टाइफस देखिएको छ ।

जिल्लामा कालिका नगरपालिकामा स्क्रब टाइफस र इच्छाकामनामा गाउँपालिकामा डेङ्गु संक्रमण साउनयता कसैलाई पनि नदेखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले  जानकारी दिए ।

स्क्रब टाइफस छुचुन्द्रो, मुसा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले टोक्दा मानिसमा सर्छ । यो किर्ना विशेषगरी चौर, झारपात, पुरानो काठ, घास आदिमा पाइन्छ । त्यस्तै डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गुभएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । 

चितवनमा स्क्रब टाइफस र डेङ्गुसँगै कोरोना संक्रमण समेत बढेको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीवार दिउँसोसम्म जिल्लाका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ हजार एकसय ९६ जना पुगेको छ ।

जसमध्ये अहिलेसम्म ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । बिहीवार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या एकहजार ४ सय ५७ छ । त्यसमध्ये एकहजार २ सय ४६ जना होम आइसोलेसन, एकसय १७ जना हस्पिटल र ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ७९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ४६ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी भने विभिन्न पालिकाका छन् ।

जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा भने अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2020-11-13 08:49:50

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts