सुदूरपश्चिममा करोडौंका भेन्टिलेटर थन्कियो



Download our app to get more features

 धनगढी,  ३ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले करोडौं खर्च गरेर खरिद गरिएका भेन्टिलेटरहरु विभिन्न अस्पतालका त्यतिकै थन्किएका छन् ।

कोरोना संक्रमितको उपचारमा सहजता होस् भनेर खरिद गरिएका ती भेन्टिलेटरहरु प्रदेशस्थित विभिन्न अस्पतालहरुमा थन्किएका हुन् । कोरोना संक्रमित संगै अन्य विरामीहरुले भेन्टिलेटर सेवा नपाउने समस्या विद्यमान रहे पनि मेसिनहरु जडान गर्ने भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएको पाइएको छ ।

सुदूरपश्चिममा कोरोना भाइरसको प्रभाव सुरु भएपछि प्रदेश सरकारको मन्त्रीपरिषदले गत चैत २७ गते नै २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालसहित टीकापुर अस्पताल र पहाडी जिल्लाका अस्पतालहरुलाई भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेको हो । निर्णय गरेको झण्डै ६ महिनापछि गत असोजमा ती भेन्टिलेटर खरिद गरियो ।

सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले असार २९ गते ६० दिनभित्र भेन्टिलेटर आपूर्तिका लागि टेण्डर आह्वान गरेको थियो । ८३ दिनपछि हस्पिटेक ईन्टरप्राइजेज प्रालि काठमाडौंले ५ करोड ६५ लाख ५० हजारमा आपूर्ति गर्ने सम्झौतापछि २० वटा भेन्टिलेटरहरु असोजमा धनगढी ल्याएको थियो । तर विभिन्न अस्पतालहरुलाई वितरण गरिएका ती मेसिनहरु सञ्चालनमा आउन नसकेका हुन् ।

टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राई भन्छन्, ‘मेसिन आयो तर हामी संग जनशक्ति छैन ? जुन कारण सञ्चालनमा आउन नसकेको हो ।’ टीकापुर अस्पतालमा भेन्टिलेटर जडान भएपनि जनशक्ति नहुँदा सञ्चालनमा आउन नसेको बताइएको छ । त्यस्तै, जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष यज्ञराज जोशीले सञ्चालनको तयारीमा लागेको तर जनशक्ति र भौतिक संरचनाको अभावका कारण ढिलाइ भैरहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा दिनप्रति दिन कोरोनाका गम्भीर प्रकृतिका विरामीहरु बढ्दै गएका छन् । उनीको उपचारमा आईसीयू र भेन्टिलेटर आवश्यक हुन्छ । तर ती मेसिन जडानमा भएको ढिलाइले सर्वसाधारण अकालमा ज्यान गुमाउनुपर्ने या प्रदेश बाहिरको अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता नरेन्द्र कार्कीले संरचना र जनशक्ति भएको स्थानमा केही दिनमै भेन्टिलेटर सञ्चालनमा आउने बताए ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts