होम आइसोलेसन बस्ने कोरोना संक्रमित गर्भवती, जेष्ठ नागरिक र दीर्घरोगीलाइ आइसोलेसन किट दिइने



Download our app to get more features

काठमाडौं, ११ मंसिर ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितहरुका लागि आइसोलेसन किट उपलब्ध गराउने सम्बन्धी मार्ग निर्देशन जारी गरेको छ।

होम आइसोलेसनलाई सुरक्षित बनाई जोखिम अवस्थाको पहिचान गरी समयमै अस्पताल सेवा लिन उत्प्रेरित गर्ने र जटिल अवस्थाको समयमै व्यवस्थापन गरी मृत्युदर घटाउने उद्देश्यले मन्त्रालयले उक्त मार्ग निर्देशन जारी गरेको हो। 

मार्ग निर्देशनमा भनिएको छ, ‘यस किटमा आफ्नो स्वास्थ्यको अवस्था दैनिक अभिलेख राख्ने व्यवस्थाका साथै अक्सिमिटर पनि हुने भएकाले अक्सिजनको मात्रा घट्न गएमा तुरुन्तै कोभिड अस्पतालमा लैजान उत्प्रेरित हुन गई मृत्युदरमा समेत कमी आउने देखिन्छ।’

मन्त्रालयले उपलब्ध गराउने आइसोलेसन किटमा मेडिकल मास्क, हात सफा गर्ने सेनिटाइजर, थर्मोमिटर र ब्याट्री, पल्स अक्सिमिटर र ब्याट्री, प्यारासिटामोल चक्की, टिस्यू पेपर, पञ्जा, स्वं अनुमगन फारम, संक्रमण रोकथाम तथा नियन्त्रण पर्चा, अस्पतालमा जानु पर्ने अवस्था सम्बन्धी पर्चा छन्। 

होम आइसोलेसनमा बस्ने सबै संक्रमितले यो किट पाउँदैनन्। गर्भवती, ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोग भएका व्यक्तिहरु ९मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला सम्बन्धी समस्या, कलेजो सम्बन्धी समस्या, क्यान्सर प्रभावित व्यक्तिहरु० ले मात्र उक्त किट प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। 

आइसोलेसन किट उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारको हुने निर्देशनमा उल्लेख छ। उक्त मार्ग निर्देशन अनुसार स्रोतको उपलब्धता र आवश्यकता हेरी लक्षित समुहको दायरालाई पालिकाहरुले थपघट गर्न सक्नेछन्। 

आइसोलेसन किट उपलब्ध गराउनका लागि व्यवस्थापनको काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। किटमा आवश्यक पर्ने सामग्री जुटाउनुपर्ने भएकाले उपलब्ध गराउन केही समय लाग्ने उनले बताए। 

७५ प्रतिशतभन्दा बढी संक्रमितहरु हाल होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts