कोरोना सङ्क्रमणको दोस्रो लहर कसरी हुँदैछ ? यसो भन्छन् विज्ञ



Download our app to get more features

काठमाडौं, २१ मंसिर । नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमण सुरु भएको वर्ष दिन हुनै लाग्यो । चीनको वुहानमा पहिलो पटक देखिएको कोभिड–१९ बाट विश्वका २ सय भन्दा धेरै मुलुक प्रभावित बनेका छन् । कतिपय देशमा कोरोना नियन्त्रणपछि फेरी सङ्क्रमण अघिल्लो पटक भन्दा तिव्र गतिमा फैलिँदै गएको छ ।

चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा सुरु भएकोकोभिड–१९ को सङ्क्रमण शून्यमा झरेपछि त्यहाँ लगाइएको प्रतिबन्ध अप्रिलमा हटाइयो । वुहानमा मात्रै ८० हजारभन्दा बढीमा देखिएको कोरोना सङ्क्रमण शून्यमा झरेको डेढ महिनापछि चीनको राजधानी बेइजिङमा दोस्रो चरणको लहर सुरु भएको थियो ।

चीनबाट सुरु भएको कोरोना सङ्क्रमण ईरान हुँदै युरोपीय मुलुकमा प्रवेश ग¥यो । इटली, स्पेन, फ्रान्स लगायतका मुलुक सङ्क्रमणको सुरुवाती क्रममा सबैभन्दा बढी प्रभावित बने । त्यसपछि युरोपका सबै देशहरुमा सङ्क्रमण फैलियो । २४ जनवरीमा पहिलो पटक फ्रान्समा देखिएको कोरोना सङ्क्रमण अगस्ट महिनामा नियन्त्रण आयो । तर, फेरि कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु हुन थालेको भन्दै त्यहाँ राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । 

जनस्वास्थ्य विज्ञ डा.सुरेश तिवारीका अनुसार भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्छ । जसलाई जेनेटिक म्यूटेशन भनिन्छ । जब भाइरस एक व्यक्तिमा जान्छ र अर्को व्यक्तिमा सर्ने क्रममा भाइरस म्यूटेट भएर जान्छ । पहिलो पटक सङ्क्रमण भएपछि अर्को व्यक्तिमा सरेको भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिसकेको हुन्छ । जसलाई जेनेटिक म्यूटेशन भनिन्छ । तर, यो युरोपीय केही मुलुकहरुमा मात्रै देखिएको छ । जुननिकै नगन्यमात्रामा छ । यो अवस्थामा व्यक्तिमा भाइरस म्यूट भएको अवस्थामा दोहोर्याएर उसमा सङ्क्रमण देखिन सक्छ । जसलाई रिसर्ज भनिन्छ ।

दोहोर्याएर किन सङ्क्रमणको दर सुरु हुँदैछ भन्ने विषयमा डा.तिवारी भन्छन्, ‘मानिसहरुको आवतजावतको क्रम बढेको छ । त्यसमा पनि जुनमुलुकमा कोरोना सङ्क्रमणको दर बढी छ त्यस मुलुकबाट जुन मुलुकमा सङ्क्रमण दर कमभएको छ त्यो मुलुकमा मानिसहरुको ओहोरदोहोर बढेको छ । त्यहाँ दोहोर्याएर सङ्क्रमण देखिन थालेको छ ।’

दोहोर्याएर सङ्क्रमणको दर बढ्दै जानुको एउटा कारणमा मानिसको ओहोर दोहोर हो भने म्यूटेशनका कारणले पनि सङ्क्रमणको दर बढ्दै गएको बुझ्न सकिने उनको भनाइ छ ।

हाल आएर भारत, अमेरिकाका विभिन्न राज्य, हङकङ, युरोपका स्पेन, इटली, बेल्जीयम, फ्रान्स, जर्मनी लगायतका मुलुकहरुमा नियन्त्रणमा आइसकेको कोरोना सङ्क्रमणको दरमा फेरि वृद्धि हुन थालेको छ । नियन्त्रणमा आइसकेको स्थानमा फेरि किन दोस्रो, तेस्रो र चौथो चरणको लहर सुरु भइरहेको छ भन्ने प्रश्नमा अर्का जन स्वास्थ्यविद सुजन मरहट्ठा भन्छन्, ‘सङ्क्रमणको प्रकृतिलाई हेर्ने भने एक चरणमा सङ्क्रमणक बढ्दै जाने,मध्यतिर गएर उच्चहुने र पछि कमहुँदै गएको देखिन्छ । अहिलेसम्म कोरोनाको सङ्क्रमण दर हेर्ने हो भने त्यहि नै छ सबै देशमा । त्यसलाई हेर्दा नेपालमा पनि दोस्रो चरणको लहर सुरु भएको हो की भन्ने देखिन्छ ।’

मौसमले कोरोनाभाइरसलाई प्रभावित बनाउँछ भनेर भन्ने गरिन्छ यस विषयमा  मरहट्ठा भन्छन्, ‘भाइरसको लागि जाडो मौसम गर्मीको भन्दा अलिकति प्रिय हुन्छ । जाडोमा भाइरस वा जीवाणुहरु लामो समयसम्म बाँच्न सक्ने हुन्छन् । तर, यसको अर्थ यो होइन की गर्मीमा भाइरस कमजोर हुँदा किन सङ्क्रमण दर फैलियो । कोरोनाभाइरस नयाँ हो त्यसकारण यसले सबै मौसममा आफूलाई ढालिसकेको छ ।’

अन्य मुलुकमा जानै पर्दैन हामीले नेपालकै हकमा हेर्ने हो भने पनि कतिपय जिल्लामा नियन्त्रणमा आइसकेको सङ्क्रमण फेरि फैलिँदै गएको छ । 

फेरि सङ्क्रमण बढ्नुको कारण मध्येको मुख्य कारण भनेको जन स्वास्थ्यका मापदण्डलाई लागू नगर्नु हो । जनस्वास्थ्य विज्ञ मरहट्ठाले चाडवाडको बेला जनस्वास्थ्यका मापदण्डलाई लागू नगर्नाले र मानिसहरुको ओहोरदोहोर एक ठाउँबाट अर्को ठाउँमा हुनुले पनि सङ्क्रमण दोहोर्याएर देखिन थालेको बताए ।

मरहट्ठाका अनुसार जाडो मौसममा दमका रोगीलाई गाह्रो गराउने, मुटुरोगीहरुलाई समस्या गराउने, घरहरु गुम्सिदा भाइरसहरु लामो समयसम्म जीवित रहने, मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नुे जस्ता कारणले आगामी दिनमा अझ बढी सङ्क्रमण बढ्न सक्ने जोखिम रहेको छ ।

भाइरस म्यूटेसन, भाइरसको स्वरुप परिवर्तन, भाइरसले नयाँ नयाँ लक्षणहरु देखाउने जस्ता कारणले पनि कसलाई सङ्क्रमण भयो भनेर यकिन भन्न समस्या हुने गरेको विज्ञहरु बताउँछन् ।

भाइरोलोजिष्ट डा.श्रवण कुमार मिश्रका अनुसार मौसमले भाइरसलाई कुनै प्रभाव नपारे पनि चिसो मौसम भनेको भाइरस बाँच्नका लागि निकै नै उपयुक्त समय हो । जसले गर्दा कोरोनाभाइरस पनि जाडो मौसममा लामो समयसम्म बाँच्न सक्छ । चीनको वुहानमा पनि चिसो मौसममै सङ्क्रमण सुरु भएको थियो पछि गर्मी लाग्दै गर्दा कम भयो । तर, यसको अर्थ यो पक्कै पनि होइन कि भाइरसले मौसम अनुसार आफूलाई परिवर्तन गर्दै गएको छ ।

डा. मिश्रले कोरोना सङ्क्रमण भएका सबैमा रोग विरुद्ध लड्न सक्ने एन्टिबडीको विकास नहुने र यो भाइरस अन्य आरएनए भाइरसभन्दा स्टेबल भाइरस रहेको बताए । स्टेबल भाइरस भएका कारण यसमा धेरै म्यूटेशन नरहेको भन्दै उनले मानिसहरुमा रोग विरुद्ध लड्न सक्ने एन्टिबडी नबनेको हुँदा दोहोर्याएर सङ्क्रमणको सम्भावना देखिन सक्ने बताए ।

दोस्रो लहर सुरु हुनुको कारणबारे डा. मिश्र भन्छन्, ‘इपिडिमियोलोजिकल आधारलाई मान्ने हो भने यो भाइरस सङ्क्रमण हुने गर्छ । सङ्क्रमण हुँदा विभिन्न चरणको कुरा गर्ने गरिन्छ । प्राइमरि लेभलको इम्युनिटी वा साइको टक्सिक अथवा सेल मेडिएटेडले काम गरिदिने र रोगको गम्भीरता भइदिने । एन्टिबडी नबन्दै सेल मेडिएटेडले नै सङ्क्रमण निको हुने गरेको देखिन्छ । जसपछि फेरि सङ्क्रमण दोहोरिन सक्ने जोखिमहुन सक्छ ।’

विश्व स्वास्थ्य संगठनसहित वैज्ञानिक र चिकित्सकहरुले पनि कोरोना भाइरसको सङ्क्रमण दोहोरिन सक्छ भनेर चेतावनी दिँदै आएका छन् । सङ्क्रमण दर रोकथाम मात्रै गर्न सकिने तर, नियन्त्रणमा ल्याउनका लागि उपयुक्त खोप एक मात्रै विकल्प रहेको विज्ञहरुको भनाइ छ । 

जबसम्म कोरोना विरुद्धको ठोस खोप उपलब्ध हुँदैन र मानिसहरुले रोगलाई लिएर वेवास्ता गरिरहन्छन् तबसम्म कोरोनाको दोस्रो मात्रै होइन अनेक चरणको लहर देखिन सक्ने विज्ञहरु बताउँछन् ।

वैज्ञानिकहरु कोभिड–१९ को विषयमा कुनै ठोस नतिजामा हालसम्म पुग्न सकेका छैनन् । भाइरस नै नयाँ भएकाले अनुसन्धान जारी छ र कयौं नयाँ तथ्यहरु फेला परिरहेको छ ।

यसैबीच, युरोपीय मुलुकहरुमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु हुनमा भाइरस म्यूटेशन जिम्मेवार हो की भनेर एक अध्ययनले देखाएको छ । 

डेली मेल रिपोर्टका अनुसार स्पेनसहितका युरोपीय केही मुलुकमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु हुनमा भाइरस म्यूटेशन जिम्मेवार रहेको पाइएको छ ।

वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले भाइरसलाई ट्र्याक गरिरहेको र यो विकसित हुँदै गइरहेको बताएको छ । वैज्ञानिकहरुले विकसित हुँदै गएको भेरिएन्टलाई २० ए.ईयू १  नाम दिइएको छ । जुन जाडो मौसममा ९० प्रतिशतले बढेको छ ।

रिपोर्टमा युरोपिय मुलुकमो कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु हुनुको मुख्य कारण भाइरस म्यूटेशन, जाडो मौसम र मानिसहरुको ओहोरदोहोरलाई लिइएको छ । युरोपिय मुलुकहरुमा जाडो मौसममा विदा मनाउनेहरु एक मुलुकबाट अर्को मुलुक आउजाउ गर्न थालेका छन् । जसले कोरोनाको सङ्क्रमण नियन्त्रणमा आइसकेका स्थानमा दोहोरिएर सङ्क्रमण बढ्न थालेको छ । साथै रिपोर्टमा भनिएको छ, ‘जाडो मौसममा भाइरस अन्य समयको भन्दा बढी समय बाँच्ने र दीर्घरोगीका साथै बालबालिकालाई जाडो मौसमले बढी प्रभावित बनाउने हुँदा उनीहरुलाई चाँडै सङ्क्रमण गराउन सक्ने जोखिम बढ्ने हुन्छ ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts