चितवनमा कोरोनाको उपचारमा सफल बन्दै प्राकृतिक चिकित्सा पद्दति, खाली भयो आइसोलेसन केन्द्र



Download our app to get more features

चितवन, ९ पुस । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई आइसोलेसनमै प्राकृतिक विधिबाट सफल उपचार गरिएको छ । 

भरतपुर महानगरपालिका–१ स्थित वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको भरतपुर महानगरपालिका कोभिड–१९ आइसोलेसन केन्द्रले कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट सफल उपचार गरेको हो ।

योग तथा प्राकृतिक चिकित्सा विधिबाट त्यहाँ उपचार गरिएका सबैजना कोरोना संक्रमित निको भएर घर फर्किएका चिकित्सालयका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

मंगलवार मात्रै १८ जना कोरोना संक्रमणमुक्त भएर घर गएका उनले बताए । उनीहरू निको भएर घर फर्किएपछि सो आइसोलेसन केन्द्र खाली भएको छ । कोरोना उपचार सञ्चालन भएदेखि अहिलेसम्म चार सय १२ जनाको सफल उपचार गरिएको डा. कोइरालाले बताए ।

केन्द्रमा लक्षण बिहीन तथा कम लक्षण भएका बिरामीको उपचार गरिने भनिएपनि केहि गम्भीर लक्षण देखिएका संक्रमितको समेत सफल उपचार गरिएको उनले बताए ।

त्यहाँ प्रत्येक कोठामा छुट्टा–छुट्टै शौचालय तथा नुहाउने ठाउँको व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिका र भरतपुर अस्पतालले बेड तथा अन्य आवश्यक सहयोग गरेको हो । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि उपचार गर्न छुट्टाइएको बेड भरिएपछि सरोकारवालाले त्यहाँ कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेका थिए । 

डा. कोइरालाका अनुसार योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडीबुटी चिकित्सा र हाम्रा मौलिक रैथाने चिकित्सा पद्धतिहरूमा यस रोगलाई नियन्त्रण गर्ने धेरै विधि र विधानहरू छन् । यिनै विधिविधानहरू उपचारमा प्रयोग गरिएको उनले बताए । 

‘कोरोनाले बिरामीको मानसिक अवस्थामा पर्ने नकारात्मक असर कम गर्न उनीहरूलाई योगा तथा मेडिटेशन पनि गराइएको थियो ।’ उनले भने– ‘सन्तुलित तथा प्राकृतिक खाना समेत खुवाउने गरिन्थ्यो ।’ जसले कोरोना संक्रमणबाट छिटो मुक्तहुन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट देवघाट जाने सडकसँगैको वन क्षेत्रमा रहेको सो आइसोलेसन केन्द्र गत भदौ १४ गतेबाट सञ्चालनमा आएको थियो । सोहि दिनदेखि यहाँ संक्रमितलाई भर्ना गरेर उपचार गर्न थालिएको थियो ।

यस्तै स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधवार दिउँसोसम्म जिल्लाभर ६ हजार दुईसय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म पाँच हजार ८ सय ९० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । 

त्यस्तै, जिल्लामा बुधवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या २ सय ६८ रहेको छ । त्यसमध्ये २ सय ४२ जना होम आइसोलेसन र २६ जना अस्पताल भर्ना भई उपचाररत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित संक्रमणमुक्त भई घर गएपछि चितवनका संस्थागत आइसोलेसनहरू समेत खाली भएका छन् ।

जिल्लाका संक्रमित मध्ये बुधवारसम्म एकसय एकजनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ६ प्रतिशत हो । मृत्यु हुनेमा ६१ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ४० जना जिल्लाका अन्य पालिकाका छन् ।

Last modified on 2020-12-24 09:54:39

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts