चितवन मेडिकल कलेजमा सुरू भयो ‘न्युक्लियर मेडिसिन सेवा’– के हो ‘न्युक्लियर मेडिसिन’ ?



Download our app to get more features

चितवन, ६ पुस । भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसि) मा न्युक्लियर मेडिसिन सेवा शुरू भएको छ । 

अस्पतालमा सेवा विस्तार गर्दै न्यूक्लियर मेडिसिन सेवा सुरु भएको हो ।

मेडिकल क्षेत्रमा अत्याधुनिक तथा अति विशिष्ट मानिने न्युक्लियर मेडिसिन सेवा गतहप्ता देखि सुरू गरिएको अस्पतालका न्युक्लियर मेडिसिन विभागका प्रमुख डा. जीवन पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

उनका अनुसार त्यसका लागि अत्याधुनिक उपकरण सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी तथा अन्य आवश्यक उपकरणहरु ल्याइएको छ । यसले पुरै शरीरको स्क्यान गर्दछ । शरीरको कुन अङ्गले कत्तिको काम गरेको छ भन्ने परीक्षण गर्दछ । साथै आवश्यकता अनुसार उपचार समेत गर्ने गरिन्छ ।

सो न्युक्लियर मेडिसिनमा प्रयोग हुने गामा क्यामरा अत्याधुनिक प्रविधि हो । जसमा रेडियोधर्मी औषधि प्रयोग गरी शरीरका विभिन्न अंगहरूले के–कति मात्रामा काम गरेको छ भन्ने जाँच गरिने उनले बताए ।

यस उपचार विधिमार्फत् थाइराइड, फोक्सो, मुटु, मस्तिष्क, हड्डी, मिर्गौला, कलेजो लगाएत प्रायः सबै अंगको परीक्षण तथा उपचार सम्भव रहेको डा. पौडेलले जानकारी दिए ।

थाइराइडको क्यान्सर लगायत सबै समस्याको सफल उपचार गर्न सकिने उनको दावी छ । थाइराइडका गलगाँडको शल्यक्रिया बिना नै सफल उपचार गरिने उनले बताए ।

शल्यक्रियापछि पूर्ण रूपमा निको भए नभएको यस चिकित्सा विधिबाट यकिन गर्न सकिन्छ । यदि शल्यक्रियापछि  पूर्ण रूपमा रोग निको नभएको खण्डमा समेत यो उपचार विधि प्रयोग गर्न सकिन्छ । न्युक्लियर मेडिसिन सुरक्षित उपचार विधि समेत रहेको उनले बताए । 

यो सेवा सञ्चालन गर्न अस्पतालले १४ करोड रुपैयाँ खर्च गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनका अनुसार साँढे ९ करोड रुपैयाँ उपकरण खरीदमा खर्च भएको छ । बाँकी पाँच करोड रुपैयाँ भने अन्य पूर्वाधार निर्माणमा खर्च भएको छ ।

न्युक्लियर मेडिसिन सेवा अहिले अनौपचारिक रुपमा सुरु भइसकेको भएपनि केही दिनपछि मात्रै औपचारिक रुपमा सुरूवात गरिने अस्पतालले जनाएको छ ।

मध्य नेपालमा अवस्थित ‘मेडिकल सिटी’ को रूपमा चिनिएको भरतपुरमा सुरू भएको न्युक्लियर मेडिसिन सेवाले चिकित्सा क्षेत्र र सर्वसाधारणमा थप आशा जगाएको छ ।

Last modified on 2020-12-21 10:47:37

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts