गर्भावस्थामा कोरोना संक्रमण हुँदैमा आत्तिनु हुँदैन, यस्तो छ डा. सुजिता श्रेष्ठको सुझाव

हेरौं भिडियोसहित



Download our app to get more features

कोरोना भाइरस नयाँ भाइरस भएका कारणले यसको हालसम्म कुनैपनि ठोस उपचार पत्ता लाग्न सकेको छैन भने औषधि वा खोप पनि बनिसकेको छैन । हालसम्म कोरोना भाइरसको अवस्थालाई हेर्ने हो भने कतिपय मानिसहरुमा कोरोनाको लक्षण नै नदेखिएपनि निको भएका छन् भने कतिपय मानिसहरु सामान्य उपचारपछि पनि निको भएका छन् । केहि मानिसहरुलाई मात्रै सघन उपचार कक्षमा राखेर उपचार गर्नु पर्ने अवस्था आएको छ भने केहीलाई भेन्टिलेटरको आवश्यकता परेको छ ।

कोरोनाका कारण सबै उमेर समूह र अवस्थाका मानिसहरु संक्रमित भइसकेको अवस्थामा गर्भावस्थामा रहेका महिलाहरु पनि यसको चपेटामा आइसकेका छन् । अहिलेसम्मको विश्व र नेपालको अवस्था हेर्ने हो भने गर्भावस्थामा भएका महिलाहरु बढी प्रभावित भएका छैनन् । जुन सकारात्मक पक्ष हो । तर, गर्भावस्थामा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदा गर्भवति महिलाहरुले विशेष सावधानी अपनाउन आवश्यक छ । गर्भावस्थामा कोरोना संक्रमणबाट जोगिन स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुजिता श्रेष्ठको सुझाव यस्तो छ :

कोरोना संक्रमण हुन नदिन के गर्ने ?

  • बेला बेलामा साबुन पानीले हात धुने
  • हाछ्यूँ गर्दा वा खोक्दा कुहिना, टिस्यू पेपर वा रुपमालको प्रयोग गरेर मुख र नाक छोप्ने
  • सकेसम्म बाहिर भिडभाडमा नजाने, जानै परे मास्कको उचित तरिकाले प्रयोग गर्ने, अन्य मानिससँग कम्तिमा ३ मिटरको दुरी कायम राख्ने 
  • हातलाई पटक पटक आँखा, मुख वा नाकमा नलैजाने

कोरोना संक्रमण हुँदैमा आत्तिनु पर्दैन तर, संक्रमण हुँदा यस्ता लक्षण देखिन सक्छः

  • ज्वरो आउने
  • खोकी लाग्ने
  • श्वासप्रश्वासमा समस्या हुने
  • चाँडै थकाई लाग्ने
  • शरीर दुख्ने
  • यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा चिकित्सकसँग परामर्श गर्ने

कोरोनाको संक्रमण भयो भनेर घरमै सुत्केरी गराउने भनेर सोच्नु हुँदैन । यस्तो अवस्थामा घरका सदस्यहरुले हौसला दिने र बिरामीको मनोबल उच्च बनाउने काम गर्नुपर्छ ।  बिरामीको मनोबल उच्च बनाउनुका साथै बिरामीलाई पोषिलो खाने कुरा खान दिने, व्यायाम गर्न दिने वा ध्यान गर्न लगाउने ।

हालसम्मको अध्ययनमा गर्भवति महिला सुत्केरी हुँदा रगतको माध्यमबाट शिशुमा कोरोना संक्रमण भएको नगन्य मात्रै घटना छन् । संक्रमित भइसकेको अवस्थामा पनि सुत्केरी महिलाले शिशुलाई दुध खुवाउन सकिन्छ । तर, संक्रमित महिलाले शिशुलाई दुध खुवाउँदा वा हेरचाह गर्दा श्वास फेर्ने क्रममा, खोक्दा वा हाछ्यूँ गर्दा शिशुमा संक्रमण हुन सक्ने सम्भावना उच्च हुने भएकाले मास्कको प्रयोग गर्नुपर्छ । साथै शिशुलाई छुनु भन्दा पहिले साबुन पानीले हात धुनु पर्छ भने स्तनलाई पनि सफा गर्नुपर्छ ।

भिडियो सहित:

Last modified on 2020-12-31 07:26:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts