भ्याक्सिन, इम्युनिटी र क्यान्सरका कुरा



Download our app to get more features

इम्युनिटी, रोग प्रतिरोधात्मक शक्ति दुई प्रकारका हुन्छन् । सामान्य र विशेष । यी दुबै आवश्यक छन् । सामान्य इम्युनिटी पोषणयुक्त ताजा खानेकुरा एव स्वच्छ जीवन शैलीबाट प्राकृतिक रुपमै प्राप्त गर्न सकिन्छ । सामान्य रोग प्रतिरोधक प्रणाली हामी सबैको हुन्छ । तर, मधुमेह, एचआईभी जस्ता रोगका कारण या कुपोषण लगायत समस्याले गर्दा यसमा कमी आउँदा विभिन्न संक्रमण लगायतका समस्या हुन्छन् ।
 
विशेष इम्युनिटी कुनै निश्चित किटाणु वा पदार्थका विरुद्ध प्राकृतिक रूपमा वा खोपको माध्यमबाट विकशित गर्न सकिन्छ । भ्याक्सिन कै कारण धेरै रोगहरु नियन्त्रणमा आएका छन् । टिटानस, टि.बि., हेपाटाइटिस, दादुरा लगायत विभिन्न खोप सरकारले निःशुल्क लगाइदिएको छ । आजको दिनमा कोरोना विरुद्धको विशेष खोपको आवश्यकता सबैलाई छ ।  

खोपकै कुरा गर्दा क्यान्सरको उपचार गर्ने डाक्टर भएकोले मैले ह्युमन प्यापिलोमा भाइरस (Human Papilloma Virus) भ्याक्सिनको कुरा गर्नै पर्ने हुन्छ । 

मैले उपचार गर्ने सबैभन्दा धेरै क्यान्सर मध्य पाठेघरको मुखको क्यान्सर एक हो र सबैभन्दा क्यान्सर हुनबाट बच्न सकिने र निको पार्न सकिने क्यान्सर मध्यको पनि यो प्रमुख हो । यो भ्याक्सिनले महिलामा धेरै देखिने सर्भाइकल क्यान्सर अर्थात् पाठेघरको मुखको क्यान्सर र पुरुषको लिङ्ग को क्यान्सर हुनबाट जोगाउँछ ।

यो भ्याक्सिनको प्रयोगका कारण विकसित देशमा पाठेघरको मुखको क्यान्सर निकै कम हुँदै गएको छ र केही वर्ष भित्रै उन्मुलन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् भने हामी कहाँ अझै पनि महिलाको एउटा प्रमुख क्यान्सर रोगको रुपमा पनि छ । त्यो रोग हामी कहाँ किन धेरै छ त ? भन्ने प्रश्नमा यो खोप लगाइँदैन अथवा उपलब्ध छैन त्यसैले यो बढ्दै गएको छ ।  

HPV खोप लगाएका व्यक्तिमा खोप नलगाएको वयक्तीको भन्दा ९० प्रतिशत कम क्यान्सर लाग्ने सम्भावना हुन्छ । जनवरी महिनालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको सचेतना जागरणको महिनाको रुपमा विश्वव्यापी रूपमा मनाइन्छ । 

सर्भाइकल क्यान्सरको कुरा गर्दा यो धेरै हदसम्म जोगिन सकिने क्यान्सर हो र भइसकेको अवस्थामा पनि पूर्ण रुपमा निर्मुल गर्न सकिन्छ । एक भाइरसले गराउने क्यान्सर भएकोले यो भाइरस कसरी सर्द्छ त भन्ने बुझ्नु पर्द्छ । समान्यतया पुरुषहरूको लिङ्गबाट यो भाइरस महिलाको अङ्मा सर्द्छ र वर्षौसम्म भाइरस यौनाङ्गमा रहिरहँदा क्यान्सर लगायत विभिन्न रोग उत्पन्न गराउन सक्छ ।

यो क्यान्सर हुनु भन्दा निकै अघिदेखि नै महिलाको यौनाङ्गमा विभिन्न लक्षण देखिने हँुदा सजिलैसँग पत्ता लगाएर पूर्ण रूपमा उपचार गर्न सकिन्छ । 

प्याप स्मियर, VI VILLI कल्पोस्कोपी लगायत सामान्य जाँचबाट यस क्यान्सरबारे पत्ता लगाउन सकिन्छ । 

यौन क्रियाकलापमा सक्रिय हरेक महिलाले कम्तीमा हरेक तीन तीन वर्षमा यसको जाँच गर्नु पर्छ । आफ्नो यौनाङ्गमा एचपीभी भाइरस संक्रमण छ कि छैन भनेर पनि जाँच गर्न सकिन्छ । यदि भाइरस भएको पत्ता लाग्यो भने विशेष उपचार गरि यस क्यान्सर हुनबाट बच्न सकिन्छ ।

Last modified on 2021-01-18 07:10:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts