काठमाडौं उपत्यकामा १० अस्पतालबाट कोरोना खोप लगाइने



Download our app to get more features

काठमाडौं, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ गतेदेखि भारतले  दिएको कोरोना खोप लगाउने तयारीमा लागेको छ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सातवटै प्रदेशमा आईतबार सम्म पठाइसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वरगौतमले जानकारी दिए।

पहिलो चरणको यो खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने मन्त्रालयले जनाएको छ। डा.गौतमले सात प्रदेश र ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए । 
काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ। उपत्यकामा ठूला अस्पतालबाट खोप सञ्चालन गर्ने तयारी मन्त्रालयले जनाएको छ।

जस अन्तर्गत, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगायत अन्य अस्पतालमा बुथ राखेर खोप दिने तयारी भएको मन्त्रालयले जनाएको छ।
खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ कोसक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। डा. गौतमका अनुसार दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ।

खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ। सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ।
 

Last modified on 2021-01-24 16:25:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts