सुदूरपश्चिममा १६ हजार बढी कोरोना विरुद्धको खोप आउँदै, १० खोपकेन्द्र तोकियो



Download our app to get more features

धनगढी, ११ माघ । संघीय सरकारले सुदूरपश्चिमका १६ हजार बढीलाई पुग्नेगरि कोरोना भाइरस विरुद्धको खोप पठाएको छ ।

संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यान मार्फत आइतबार प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरि कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।  

भोलि वा मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्ने भएकाले त्यसका लागि आन्तरिक व्यवस्थापनको काम समेत थालिएको उनले बताए ।  

प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ । उनीहरुलाई माघ १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाइने कार्कीले बताए । 

यसअघि खोपका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क संकलन भएको जनाएको थियो । खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी नहुने बताइएको छ । 

यस्तै प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र समेत तय गरेको छ । सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई  खोप केन्द्र रुपमा तोकेको छ । अन्य जिल्लाको हकमा भने जिल्ला अस्पताललाई खोपकेन्द्र तोकिएको छ ।

प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले खोप भण्डारणको सबै तयारी सकिएको जनाएको छ । 

भारतले हालै अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि पनि पठाएको हो । सुदूरपश्चिम कोरोना फैलिएको झण्डै ११ महिनापछि खोप आउन लागेको हो ।

Last modified on 2021-01-25 07:04:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts