चितवनमा कोरोना खोपः दोस्रो दिन ३ सय २७ जनाले लगाए, केहीमा असर देखियो



Download our app to get more features

 चितवन, १५ माघ । चितवनमा आज दोस्रो दिन ३ सय २७ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । 

जिल्लाभर तीनवटा केन्द्रमा गरी दोस्रो दिन बिहीवार ३ सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार भरतपुर अस्पतालमा एकसय ८७, टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा ९१ र माडीस्थित बगौडा अस्पतालमा ४९ जनाले सो खोप लगाएका छन् । यसअघि पहिलो दिन बुधवार भरतपुर अस्पतालमा एकसय २०, टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा एकसय १९ र माडीस्थित बगौडा अस्पतालमा ४० गरी २ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

यसरी दुई दिनमा गरी जम्मा ६ सय ६ जनाले खोप लगाएका छन् । उक्त खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको स्वास्थ्य टोलीका संयोजक डा. युवानिधि बसौलाले खोप लगाएका केहीमा सामान्य असर देखिएको बताए । उनका अनुसार भरतपुर अस्पतालमा खोप लगाएका मध्ये दुई दिनमा गरी दश जनामा बान्ता आउने, ज्वरो आउने, चक्कर लाग्ने, पखाला लाग्ने, निन्द्रा नलगाउने जस्ता सामान्य लक्षण देखिएको आफुलाई जानकारी आएको बताए ।

उनीहरूमा खोप लगाएदेखि पाँच देखि छ घण्टाभित्र त्यस्ता लक्षण देखिएको डा. बसौलाले जनाए । अन्य केन्द्रमा लगाएका मध्ये केहीमा समेत सामान्य असर देखिएको जानकारी आएको उनले बताए । कसैमा पनि अहिलेसम्म गम्भीर प्रकृतिका असर भने नदेखिएको उनले जनाए । धेरैमा अझै मनमा डर देखिएको उनले बताए । अन्योलमा नपरी ढुक्क भएर खोप लगाउन समेत उनले अनुरोध गरेका छन् ।

खोप लगाएका मध्ये केहीमा मनोवैज्ञानिक असर समेत देखिएको हुनसक्ने उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्न समेत डा. बसौलाले सबैमा अनुरोध गरेका छन् । उक्त खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाको संयोजकत्वमा चिकित्सक, नर्श र पारामेडिक्स सहितको सात सदस्यीय टोली गठन गरिएको छ ।

अहिले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई खोप लगाईएको छ । सो अन्तर्गत जिल्लामा स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक, कोभिडका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले जानकारी दिए । चितवनमा अहिले चार हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए ।

Last modified on 2021-01-29 14:40:23

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts