कोरोनाविरुद्धको खोप अभियानः लगाउने भन्दा हेर्ने धेरै

विज्ञ भन्छन्ः ‘नडराउनुस्’



Download our app to get more features

चितवन, १६ माघ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको आज तेस्रो दिन भयो । 

चितवनमा पनि आज तेस्रो दिन खोप अभियान सञ्चालन हुँदैछ । जिल्लाभर तीनवटा केन्द्रमा अभियानको पहिलो र दोस्रो दिनगरी दुई दिनमा जम्मा ६ सय ६ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन बुधवार भरतपुर अस्पतालमा एकसय २०, टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा एकसय १९ र माडीस्थित बगौडा अस्पतालमा ४० गरी २ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । 

त्यस्तै, दोस्रो दिन बिहीवार भरतपुर अस्पतालमा एकसय ८७, टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा ९१ र माडीस्थित बगौडा अस्पतालमा ४९ जनाले सो खोप लगाएका छन् ।

पहिलो दिन जिल्लाभर २ सय ७९ जनाले लगाएकोमा दोस्रो दिन ३ सय २७ जनाले खोप लगाए छन् ।

अहिले लगाउने भन्दा नि लगाएकामा कुनै असर देखिन्छ कि भनेर हेर्ने धेरै पाईएको खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको स्वास्थ्य टोलीका संयोजक डा. युवानिधि बसौलाले बताए । 

उनका अनुसार भरतपुर अस्पतालका कर्मचारी आठसय हाराहारी भएपनि दुई दिनमा गरी ३८ दशमलव ३७ प्रतिशतले लगाएका छन् । खोप लगाउनेमा एकसय ५३ पुरूष र एकसय ५४ महिला गरी तीन सय सात जना कर्मचारी रहेका छन् । जस मध्ये ८९ जना चिकित्सक, ९४ जना नर्श, १८ जना पारामेडिक्स र बाँकी अन्य कर्मचारी छन् । जसमध्ये पनि अहिलेसम्म खोप लगाउनेमा कार्यालय सहयोगी र सरसफाइकर्मी बढी रहेका उनले जनाए ।

खोप लगाएका केहीमा सामान्य असर देखिएको छ । भरतपुर अस्पतालमा खोप लगाएका मध्ये दुई दिनमा गरी दश जनामा बान्ता आउने, ज्वरो आउने, चक्कर लाग्ने, पखाला लाग्ने, निन्द्रा नलगाउने जस्ता सामान्य लक्षण देखिएको आफुलाई जानकारी आएको संयोजक डा. बसौलाले बताए । 

उनीहरूमा खोप लगाएदेखि पाँच देखि छ घण्टाभित्र त्यस्ता लक्षण देखिएको छ । अन्य केन्द्रमा लगाएका मध्ये केहीमा समेत सामान्य असर देखिएको जानकारी आएको उनले बताए ।  कसैमा पनि अहिलेसम्म गम्भीर प्रकृतिका असर भने नदेखिएको उनले जनाए । धेरैमा अझै मनमा डर देखिएको उनले बताए । अन्योलमा नपरी ढुक्क भएर खोप लगाउन समेत उनले अनुरोध गरेका छन् । खोप लगाएका मध्ये केहीमा मनोवैज्ञानिक असर समेत देखिएको हुनसक्ने उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्न समेत डा. बसौलाले सबैमा अनुरोध गरेका छन् ।

यसैबीच भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले खोप अभियानमा सहभागी हुन र खोप लगाउन सबै कर्मचारी एवम् सम्बन्धीत सबैमा अनुरोध गरेका छन् ।

उक्त खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाको संयोजकत्वमा चिकित्सक, नर्श र पारामेडिक्स सहितको सात सदस्यीय टोली गठन गरिएको छ ।

अहिले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई खोप लगाईएको छ । सो अन्तर्गत जिल्लामा स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, फोहोर व्यवस्थापनकर्मी, एम्बुलेन्स चालक, कोभिडका कारण मृत्यु भएको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीलाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले जानकारी दिए । चितवनमा अहिले चार हजार एकसय डोज भ्याक्सिन प्राप्त भएको उनले जनाए ।

प्रमुख तिवारीका अनुसार चितवनमा भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिएको छ । त्यस्तै, रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिएको छ । माडीमा माडी नगरपालिभित्रकालाई खोप दिएको छ । पहिलो चरणको खोप अभियान नौ दिनसम्म चल्ने उनले जानकारी गराए ।

Last modified on 2021-01-29 14:41:57

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts