नेपाललाई खोप परीक्षण गर्ने प्रयोगशाला बनाउन दिन्न: मन्त्री त्रिपाठी



Download our app to get more features

चितवन, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप परीक्षण गर्ने प्रयोगशाला बनाउन नदिने बताएका छन् ।

चितवनस्थित भरतपुर अस्पतालमा आज (शुक्रबार) खोप अभियानको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

खोपको अध्ययन तथा अनुसन्धानका चरणहरू पुरागरी आवश्यक परीक्षण पुरा भएका र कम्तीमा दुई–तीन वटा देशमा प्रयोग गरिएका खोपलाई मात्र नेपालमा ल्याउने अनुमति दिईने भन्दै मन्त्री त्रिपाठीले भने– “आफ्नो पालोमा म कसैको दवावमा परेर नेपाललाई खोप परीक्षण गर्ने प्रयोगशाला बनाउन दिन्न ।”

खोप अभाव हुन नदिने भन्दै उनले भने “खोपको अभावमा यो अभियान रोकिंदैन । पहिलो चरणको खोप लगत्तै दोस्रो चरणका कार्यक्रमका लागि आवश्यक खोप व्यवस्था हुन्छ ।” त्यसको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको समेत उनले जनाए ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारी, खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको स्वास्थ्य टोलीका संयोजक डा. युवानिधि बसौला, नेपाल चिकित्सक संघ चितवनका पुर्व अध्यक्ष डा. कृष्णप्रसाद पौडेललगायतले खोपको आवश्यकता, महत्त्व र असर बारे प्रष्ट पारेका थिए ।

यसैबीच जिल्लाभर तेस्रो दिन आज शुक्रवार चार सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार भरतपुर अस्पतालमा तीन सय ४०, टाडीस्थित बकुलहर रत्ननगर अस्पतालमा एकसय ४० जनाले खोप लगाएका छन् । माडीस्थित बगौडा अस्पतालमा भने शुक्रवार कसैले पनि खोप लगाएका छैनन् ।

यसअघि अभियानको पहिलो दिन बुधवार २ सय ७९ र दोस्रो दिन बिहीवार ३ सय २७ जना गरी दुई दिनमा जम्मा ६ सय ६ जनाले खोप लगाएका थिए । शुक्रवारको समेत गरी अहिलेसम्म जिल्लाका एक हजार ८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2021-01-31 06:07:04

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts