चितवनका ४ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित पाँचभन्दा कम, इच्छाकामनामा भने शून्य



Download our app to get more features

चितवन, २१ माघ । चितवनमा सातवटा स्थानीय तह मध्ये चारवटामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या पाँचभन्दा कम भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधवार दिउँसोसम्म चारवटा स्थानीय तहमा सक्रिय संक्रमित पाँचभन्दा कम रहेका हुन् ।

ती स्थानीय तहमा खैरहनी नगरपालिकामा ४, कालिका नगरपालिकामा ३, राप्ती नगरपालिकामा २ र माडी नगरपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ७१ जना छन् । त्यस्तै, रत्ननगर नगरपालिकामा दश जना सक्रिय संक्रमित रहेका छन् । यसरी जिल्लाभर बुधवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ९१ रहेको छ । त्यसमध्ये ८१ जना होम आइसोलेसन र १० जना अस्पताल भर्ना भई उपचाररत् रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी बुधवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ हजार ७ सय २८ पुगेको छ । संक्रमित हुनेमा तीन हजार नौ सय ८७ जना पुरूष र दुई हजार सात सय ३८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म छ हजार ५ सय ३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म एकसय छ जनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ५८ प्रतिशत हो । मृत्यु हुनेमा ६५ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ४१ जना जिल्लाका अन्य पालिकाका रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसैबीच जिल्लाभर पहिलो चरणको खोप अभियानको आठौं दिन बुधवारसम्म कुल पाँच हजार एक सय ६४ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए ।

Last modified on 2021-02-04 07:24:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts