खोप आइसक्यो भन्दैमा कोरोना भाइरसलाई वेवास्ता नगरौं : डा. ढुंगाना



Download our app to get more features

कोरोना भाइरस शब्द अहिले सबैका लागि परिचित बनिसकेको छ । सन् २०१९ को अन्तिममा देखिएको कोरोना भाइरसका कारण हालसम्म नेपालमा २ लाख ७३  हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।

एकदमै नयाँ प्रकारको भनिएको कोरोना भाइरस हाल आएर मानिसको दैनिकीसँग जोडिएको छ । कोरोना भाइरसका कारण मानिसहरुको जीवन शैली पनि फेरिएको छ । पछिल्लो समय कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी मानिसहरु सचेत भएका छन् ।

कोरोना भाइरस के हो भनेर परिभाषित गरिरहनु पर्दैन हालको अवस्थामा । तर, कोरोना भाइरस यहि नै हो भनेर भन्न सक्ने अवस्था पनि छैन । कारण यसबारेको अध्ययन अझैपनि जारी नै छ । तर, समग्रमा हालसम्मको अवस्थालाई हेर्ने हो भने कोरोना भाइरस भनेको एक प्रकारको आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूह हो । जसले मानिसको विभिन्न अंगलाई प्रभावित पार्ने गरेको छ । जसमा सबैभन्दा बढी फोक्सोलाई प्रभावित बनाउँछ ।

यस भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ (SAARS-Cov-2) हो । यसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ । यो भाइरसले मानिसलाई संक्रमित बनायो भने सिधै फोक्सोमा असर गर्छ । यो रोग एक किसिमको श्वाप्रश्वासको संक्रमण नै हो । यो भाइरस मुखबाट नाकबाट भित्र छिरेर श्वासप्रश्वास प्रणालीमा बस्छ र संक्रमण गराउने गर्छ । यसको मुख्य लक्षणहरु पनि श्वासप्रश्वास सम्बन्धी नै हुने गर्छन् ।

यति हुँदाहुँदै पनि कतिपय अवस्थामा लक्षण नदेखिने पनि हुन्छ । जसलाई लक्षणबिनाका बिरामी पनि भन्ने गरिन्छ । यस्तै यदि कोरोना भाइरसले संक्रमण गरि हालेको छ भने एक सातादेखि १० दिनसम्ममा सुक्खा खोकी हुने, उच्च ज्वरो आउने, टाउको दुख्ने, मुखको स्वाद र नाकको गन्ध हराउने, शरीरका विभिन्न अंगमा रगत जम्ने हुन्छ । यदि भाइरसको मात्रा शरीरमा धेरै नै छ भने फोक्सोमा निमोनिया वा गम्भीर निमोनिया गराउने हुन्छ । जसले श्वास फेर्नमा समस्या हुँदा मानिसको मृत्यु समेत हुने गरेको छ ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने ८० प्रतिशत मानिसलाई निमोनिया नै नदेखिएर यो समस्या हुने गर्छ । १० देखि १५ प्रतिशतलाई कडा खालको निमोनिया देखिने गर्छ । ५ प्रतिशतलाई कडा खालको निमोनिया हुने गर्छ । जसलाई भेन्टिलेटरको प्रयोग गर्नुपर्छ । छाति सम्बन्धी जटिलता आएको देखिन्छ । कोभिड १९ को जोखिम फ्याक्टर हेर्ने हो भने एउटा ६० वर्ष उमेर भन्दामाथिहरुलाई देखिने गर्छ । बढ्दो उमेरका साथै उच्च रक्तचाप र मुटु सम्बन्धी रोग भएका, मधुमेह भएका र दीर्घ श्वाप्रश्वासका बिरामीहरुलाई कोरोना संक्रमण भएको पाइन्छ ।

हाल आएर अधिकांश मानिसहरुमा कोरोनाको सामान्य लक्षणहरु देखिने हुँदा घरमै बसिरहेका छन् । तर, घरमा बस्दा पनि रोगलाई वेवास्ता गर्दा गम्भीर बिरामी बनाउने र समयमै अस्पताल पुग्न नसक्दा उनीहरुको मृत्यु समेत हुने गरेको पाइएको छ ।

सामान्य अवस्थामा मानिसको अक्सिजन लेभल वा अक्सिजन स्याचुरेसन रेट ९५ प्रतिशत हुने गरेको छ । तर, कोरोना संक्रमणका कारण यदि अक्सिजन स्याचुरेसन रेट ९३ प्रतिशत कम भएको छ भने उपचारका लागि अस्पताल भर्ना भइहाल्नु पर्छ ।

अन्तिममा, नेपालसहित विश्व नै कोरोना महामारीको चपेटमा आइसकेको हुँदा अहिले विभिन्न मुलुकले कोरोना विरुद्धको खोपको विकास गरेर आशा जगाएका छन् । झन् नेपालमै पनि कोरोना विरुद्धको खोप अभियान सुरु भइसकेको छ । खोप नराम्रो भन्ने हुँदैन । त्यसकारण खोप लगाउनु पर्छ । यो सुरक्षित छ भनेर विभिन्न अध्ययनहरुले पनि देखाइसकेको छ । त्यसकारण खोपलाई लिएर कुनैपनि शंका गर्नु हुँदैन ।  

तर, एउटा कुरा के भने, खोप नेपालमा आइसकेको छ र लगाउन सुरु भइसकेको अवस्थामा अब कोरोना भाइरसले केहि हुँदैन भन्ने धारणा नराखौं । तपाईंले यदि खोपको पहिलो डोज लगाइसक्नुभएको छ भने दोस्रो डोज लगाउन बाँकी छ । यसीचमा तपाईंलाई कोरोना संक्रमण हुन सक्छ र तपाईंले अरुलाई पनि संक्रमित बनाउन सक्नु हुन्छ । फरक यति हो की खोप नलगाएको अवस्थामा हुने कोरोना संक्रमणको जोखिम खोप लगाइसकेपछि कम हुन्छ । त्यसकारण यसलाई वेवास्ता गर्नु हुँदैन । 

 

(डाक्टर ढुंगाना पल्मोनोलोजी, क्रिटिकल केयर फिजिशियन र स्लिप डिस्क स्टडीका विषेशज्ञ हुन्)

Last modified on 2021-02-20 22:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts