नेपालमा पहिलोपटक कोरोना खोप लिएको ६ सातापछि सङ्क्रमण

यो भन्छिन् सङ्क्रमित डा.पाण्डे



Download our app to get more features

बीबीसी, २७ फागुन । चिकित्सा क्षेत्रमा कार्यरत काठमाण्डूकी डा. प्रतिभा पाण्डेले कोभिड खोपको पहिलो मात्रा लिएको छ सातापछि कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमवार थाहा पाइन् ।

पाण्डेका अनुसार कोरोनाभाइरसविरुद्ध खोप लगाइसकेपछि बाहिरी घुमघाम तथा जनस्वास्थ्यका मापदण्डलाई लिएर उनी केही लचिलो बनेकी थिइन् ।

अचानक टाउको दुख्न थालेर ज्वरो आएपछि परीक्षण गराउँदा उनी सङ्क्रमित भएको पुष्टि भयो ।

नेपालमा पछिल्लो समय जनस्वास्थ्यसम्बन्धी मापदण्डलाई बेवास्ता गर्न थालिएको जनस्वास्थ्यविद्‌हरूले बताउने गरेका छन् ।

के भन्छिन् सङ्क्रमित चिकित्सक ?
डा. प्रतिभा पाण्डे सीवेक अस्पतालकी मेडिकल निर्देशक हुन् । उनी भन्छिन्, "चिकित्सकहरूलाई खोप लगाउन थालेकै दिन ज्यानअरी २७ तारिखमा मैले कोभिड खोप लगाएँ ।

हामी गएपछि अरू पनि उत्प्रेरित हुन्छन् भनेर पहिलो दिनमै मैले खोप लगाएकी हुँ ।

दुई-तीन दिन हल्का साइडइफेक्ट देखियो। त्यसपछि ठिक भयो ।

एक महिनापछि अब सुरक्षित भइयो होला भन्ने लागेर अलि स्वतन्त्र रूपमा म घुमघाम गर्न थालेँ ।

काठमाण्डूबाहिर पनि मैले तीन-चारवटा यात्रा गरेँ। एक-दुईवटा कार्यक्रममा पनि गएँ ।

आफन्तहरूसँग हालै म हेटौँडा पनि गएकी थिएँ। त्यसपछि पाटा (प्यासिफिक एशिया ट्राभल असोशिसिएशन) को एउटा रिसेप्शनमा सहभागी भएँ, भोलिपल्ट अर्को कार्यक्रममा पनि गएँ ।

त्यसको भोलिपल्ट अर्थात्‌ गत सोमवार टाउको दुख्न थाल्यो र मलाई ज्वरो पनि आयो । त्यस्तो ज्वरो मलाई आउँदै आउँदैन्थ्यो ।

मलाई कोभिड-१९ भयो भन्ने लागेर मैले त्यहीँ दिन परीक्षण गराएँ। लक्षण देखिनासाथ परीक्षण गराएँ अनि कोभिड पोजिटिभ देखियो ।

कोभिड खोप लगाइसकेपछि [जनस्वास्थ्यका मापदण्डबारे] अलिकति लचिलो बनियो भनौँ ।

पहिला मानिसहरूबीच जानुअघि नै मैले मास्क लगाउने गर्थेँ। त्यसमा पनि अलि लचियो भइयो ।

घुमघाम धेरै गरियो। खाने बेला मास्क फुकाल्ने भइयो नै। त्यस क्रममा मान्छेहरूको नजिक पनि गइयो ।

अलिकति लापरवाह भएकोले यो सङ्क्रमण भयो भन्ने मलाई लाग्छ ।

खोप लगाउँदैमा केही हुँदैन भन्ने सोच कसैले पनि राख्नु गलत हो । किनभने हामीले नेपालमा लगाइरहेको कोभिशील्डको प्रभावकारिता ६७ प्रतिशत मात्रै हो ।

त्यो लगाइसकेपछि अस्पताल नै भर्ना गर्न नपर्ला, नमरिएला। तर दुइटै मात्रा लगाइसक्दा पनि रोग निमिट्यान्नै त हुँदैन ।

सिकिस्त हुनबाट र अस्पताल भर्ना हुनुपर्नेबाट रोकिने मात्रै हो। त्यसैले मास्कको प्रयोग र जनस्वास्थ्यसम्बन्धी अरू मापदण्डको पालना गर्ने कार्यलाई हामीले जारी नै राख्नुपर्छ ।

त्यसमा खेलाँची गरियो भने मेरोजस्तै हालत हुन्छ ।"

सङ्क्रामक रोग विशेषज्ञ के भन्छन् ?
कोभिड खोपको पहिलो मात्रा लगाइसकेपछि नलगाएका मानिसभन्दा सङ्क्रमणको सम्भावना ६०-६५ प्रशितसम्म कम हुने अध्ययनहरूले देखाएको सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन् ।

"दोस्रो डोज लगाएको दुई हप्तापछि रोगप्रतिरोधी क्षमता बल्ल ८५ प्रतिशतसम्म पुग्ने देखिन्छ। भनेपछि दोस्रो मात्रा लगाइसकेपछि पनि हामी शतप्रतिशत सुरक्षित हुँदैनौँ ।"

"त्यसो हुनाले खोप लगाउँदैमा भिडभाडमा जानु जनस्वास्थ्यका मापदण्डहरूको पालना नगर्नु अथवा बन्द स्थानमा धेरैजना भेला हुने कार्य असुरक्षित नै हुन्छ," उनले थपे ।

अझ कतिपय मुलुकमा कोरोनाभाइरसका नयाँ भेरिअन्ट अर्थात् प्रकारहरू फैलिरहेको पृष्ठभूमिमा चनाखो हुनु झन् जरूरी रहेको विज्ञहरू बताउँछन् ।

"सरकारले पनि मैले खोप लगाइदिएँ मेरो जिम्मेवारी सकियो भनेर भन्नुभएन," डा. सुवेदी सुझाउँछन् ।

स्वास्थ्य अधिकारी के भन्छन् ?
पहिलो चरणको खोप अभियान पूरा भइसकेको नेपालमा अहिले दोस्रो चरणअन्तर्गत कोभिड खोप लगाइँदैछ ।

नेपालमा प्रयोगमा ल्याइएको कोभिशील्ड अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकसित भारतको पुनेस्थित सीरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी पनि कोभिड खोप लगाएको भन्दैमा हेलचेक्र्याइँ गर्न नहुनेमा जोड दिन्छन् ।

"खोपको दोस्रो मात्रा लगाएपश्चात् पनि त्यसको केही समयपछि मात्रै रोगप्रतिरोधी क्षमताको विकास हुन्छ। अर्को कुरा रोगप्रतिरोधी क्षमताको विकास व्यक्ति विशेषमा पनि भर पर्छ ।"

Last modified on 2021-03-12 07:18:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts