दुर्गा प्रसाईंको दादागिरीः सरकारबाट स्वास्थ्य बीमाको पैसा उठाउन बिरामीलाई यातना



Download our app to get more features

काठमाडौं, २८ फागुन । सत्ताको निकट बनेर मेडिकल कलेजको सम्बन्धन लिन वर्षौंदेखि हात धोएर लागेका प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारबाट ७ करोड पैसा उठाउन निरीह बिरामीलाई ढाल बनाएको पाइएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको भन्ने अपुष्ट आरोप लगाएर विवादमा आएका प्रसाईंले ७ करोड पैसा पाउन केही ढिलाई हुँदा अस्पतालमा ताण्डव मच्चाएका हुन् । 

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको बीएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा बोर्डबाट बीमा दावीको भुक्तानी पाउन केही ढिलो हुँदा बिरामीलाई औषधि नै दिन बन्द गरेको हो । बिहीवार महाशिवरात्रिको दिन प्रसाईंको विर्तामोडस्थित अस्पतालले स्वास्थ्य बीमा बोर्डले पैसा पठाउन ढिलो गरेको विषय उठाउँदै बिरामीमाथि दुव्र्यवहार गरेको हो ।

बीमा बोर्ड र अस्पतालको बीचमा समन्वय गरेर टुंग्याउनुपर्ने विषयमा बीमित बिरामीलाई औषधि दिन रोक्नु गलत भएको भन्दै बिरामी तथा आफन्तले चर्को दवाव दिएपछि अस्पतालले पछि बाध्य भएर औषधि वितरण सुरु गरेको स्वास्थ्य बीमा बोर्डका प्रदेश १ संयोजक दुर्गा आचार्यले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।

शोधभर्नाका पाउन १५ दिन ढिला हुँदा सम्झौता विपरित बिरामीलाई दुव्र्यवहार गरेको थाहा पाएपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई तत्काल औषधि वितरण सुरु नगरे सम्झौता रद्द गर्ने चेतावनी दिएपछि सेवा सुचारु भएको आचार्यको भनाइ छ ।

'उहाँहरुले बीमा बोर्डबाट पाउनुपर्ने भुक्तानी केही ढिला भएपछि यस्तो निर्णय गर्नुभएछ । पछि बिरामी र हाम्रो दवावपछि सेवा सुरु गर्नुभएको छ ।' उनले भने । आचार्यका अनुसार अस्पतालहरुको रकम भुक्तानी यसै साताभित्र गर्ने सहमति गरेपछि बीएण्डसी अस्पतालले सेवा सुचारु गरेको हो । 

स्वास्थ्य बीमा बोर्डको सुविधाको थैली अनुसार बीमितहरुले बीमा दावीमार्फत उपचार गर्दा १ हजार १ सय ८ थरी औषधि निःशुल्क पाउनुपर्दछ । तर, अस्पतालले भने बीमाबापतका औषधि उपलब्ध नगराएर निजी मेडिकलमार्फत किन्न बिरामीलाई बाध्य बनाएको हो । 

सुरुदेखि नै सामान्य र बीमाका बिरामीलाई भेदभाव
गतवर्षदेखि क्यान्सर अस्पतालसमेत सञ्चालन गरेका प्रसाईंको अस्पतालले बीमाका बिरामीलाई पहिलेदेखि नै भेदभावका दृष्टिले हेर्ने गरेको पाइएको थियो । अस्पतालले निजी तवरबाट आएका बिरामीलाई उच्च प्राथमिकता दिएपनि बीमा मार्फत आएकालाई छुट्टै वार्डमा राख्नेदेखि डाक्टरको राउण्डसमेत कम पठाउने र सो वार्डमा न्यून नसिंग सुविधा उपलब्ध गराउने गरेको बीमा दावी गरि उपचार गरिरहेका बिरामीहरुले गुनासो गर्ने गरेका छन् । यस सम्बन्धमा केन्द्रिय बीमा बोर्डले पटक पटक अस्पताल प्रशासनलाई सेवाको गुणस्तर अद्यावधिक राख्न पटक पटक आग्रह गरिसकेको छ ।

झापामा बीएण्डसी लगायत १८ वटा निजी, सामुदायिक तथा सरकारी अस्पतालले बीमाको सेवा उपलब्ध गराउने गरेका छन् । झापामा हालसम्म ३ लाख जनाले स्वास्थ्य बीमा गराएका छन् । 

Last modified on 2021-03-13 09:34:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts