कोरोनाको खोप लगाउन ज्येष्ठ नागरिकको जाँगर



Download our app to get more features

तनहुँ, ३ चैत्र । तनहुँको भीमाद नगरपालिका ९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुगिन् । 

त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उनलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा टेलिभिजन हेरेर बिताईन । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उनको भनाइ छ । सबैले लगाएको खोप लगाउनलाई केका डर उनले भनिन् । 

शुक्लागण्डकी ३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौंडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा पुगेर खोप लगाए । पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनेभन्दा उनलाई शङ्का लाग्याथ्यो रे ।

ुपहिला त सरकारले ६५ वर्ष माथिकालाई खोप दिनेभन्दा केही खतरा भएर मरेनी यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शङ्का नि थियो । पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेपछि त्यस्तो होइन भन्ने भो, उनले भने आज त आफैँले पनि ढुक्क भएर खोप लगाएको छु । खोप लगाएपछि कोरोना लाग्दैन भन्ने उनलाई लागेको छ ।

फागुन २३ गतेदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ । त्यहीअनुसार तनहुँमा पनि खोप अभियान चलेको छ ।

खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन् । कतिलाई आफन्तले खोप लाउन डोर्याउँदै ल्याएको देखिन्छ । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ । कतिपय ठाउँमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नुपरेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनले भने, ुबुढाबढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गरेकाछन् । 

तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म ब्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकामा र फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान चलिरहेको छ । 

Last modified on 2021-03-16 12:37:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts