गण्डकी प्रदेशमा ११ सय क्षयरोगका बिरामी भेटिए



Download our app to get more features

पोखरा, ९ चैत । गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो। 

गएको वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कूल एक हजार ९४८ क्षयरोगका बिरामी पहिचान भएका थिए। 

गण्डकीमा फेला परेका क्षयरोगीमध्ये सबैभन्दा धेरै कास्कीका तीन सय ४७ जना रहेका छन्। त्यसैगरी, नवलपरासीमा २५४, स्याङ्जामा १०१, गोरखामा १११, तनहुँमा १३२, लमजुङमा ४९, बागलुङमा ७७, म्याग्दीमा २४ र पर्वतमा ३१ जना क्षयरोगी पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिए।
 
बसौलाका अनुसार हिमालपारीको जिल्ला मनाङमा यस वर्ष एक जना क्षयरोगी फेला परेको छ। मुस्ताङमा भने क्षयरोगका बिरामी शून्य रहेका छन्। 

गण्डकीमा यस वर्ष क्षयरोग निको हुने दर ९० प्रतिशत रहेको छ।  क्षयरोगबाट मृत्यु हुनेको संख्या हालसम्म ४६ पुगेको छ। अघिल्लो वर्ष कोरोना प्रकोपका कारण केही पत्ता लाग्ने र उपचार सफल हुने दर घटे पनि यस वर्ष बढ्ने विश्वास लिइएको छ।
 

Last modified on 2021-03-22 20:51:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts