सूर्तिजन्य पदार्थको कर बढाउन डब्लुएचओको नयाँ मार्गदर्शन, ३८ देशमा मात्र पर्याप्त कर



Download our app to get more features

एजेन्सी । कोभिड १९ को महामारीपछि उत्पन्न अवस्थामा सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सूर्तिजन्य पदार्थको करमा भारी वृद्धि गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

सूर्तिजन्य पदार्थमा कर सम्बन्धी नयाँ मार्गदर्शन ल्याउँदै संगठनले देशहरुले वर्षेनी १ दशमलव ४ ट्रिलियन अमेरिकी डलर सूर्तिजन्य पदार्थको प्रयोगले उत्पन्न हानीका कारण खर्च भइरहेको जनाएको छ । कोभिड संक्रमण पछिको अवस्थामा देशहरुले स्वास्थ्य सेवामा ठूलो खर्च गर्नुपरेको छ । त्यो खर्चलाई न्यूनीकरण गर्न र स्वास्थ्य सेवामा लगानी पुर्याउनका लागि सूर्तिजन्य पदार्थको करमा वृद्धि गर्नका लागि नयाँ मार्गदर्शन ल्याएको  विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनको सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अर्थशास्त्र ईकाईका प्रमुख जेरिमियस पल जुनियरका अनुसार संगठनले हालै जारी गरेको नयाँ मार्गदर्शनले देशहरुलाई कसरी उपयुक्त रुपमा सूर्तिजन्य पदार्थको कर वृद्धि गरि त्यस पैसाले समग्र स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई वृद्धि गराउन सकिन्छ भन्ने बारेमा वैज्ञानिक जानकारी दिन्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ सम्म आइपुग्दा जम्मा १४ प्रतिशत मुलुक अर्थात ३८ वटा मुलुकले मात्र सूर्तिजन्य पदार्थमा ७० प्रतिशत वा त्योभन्दा माथि कर निर्धारण गरेका छन् । जुन अपर्याप्त रहेको छ । सबै मुलुकले कर पुनरावलोकन गरेमा मात्र देशहरुले सो करबाट बाँकी स्वास्थ्य सेवाको वितरणमा लगानी गर्नसक्छन् । अघिल्लो वर्षमात्र सूर्तिजन्य पदार्थको कारणले विश्वभर ८० लाख मानिसले ज्यान गुमाएका छन् । यो तथ्यांक हेर्दा सूर्तिजन्य पदार्थको कर वृद्धि गर्नु यसको प्रयोग निरुत्साहित गर्ने सबैभन्दा बलियो अस्त्र भएको डब्लुएचओको ठहर छ । 

दिगो विकासको लक्ष्य हासिल गर्न देशहरुले स्वास्थ्यमा प्रशस्त लगानी गर्नुपर्ने स्मरण गराउँदै संगठनले नयाँ मार्गदर्शनले देशहरुलाई नीति निर्माण गर्न सहज बनाउने विश्वास जनाएको छ । 

Last modified on 2021-04-10 06:50:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts