नवजात शिशु मृत्युदर कम गर्न प्रदेश २ का डाक्टरलाई चितवनमा तालिम



Download our app to get more features

चितवन, २८ चैत । नवजात शिशु मृत्युदर घटाउन प्रदेश नंम्बर २ का मेडिकल अधिकृत तहका चिकित्सकलाई ६ दिने ‘एनआईसीयू लेभल–२ तालिम’ सञ्चालन गरिएको छ । प्रदेश नंम्बर २ का ८ जिल्लामा कार्यरत १६ जना डाक्टरलाई सो तालिम सञ्चालन गरिएको हो ।

मध्य नेपालमा अवस्थित भरतपुर केन्द्रीय अस्पताल चितवनमा बुधवारदेखि सुरू भएको सो तालिम आगामी सोमवारसम्म छ दिन सञ्चालन हुने अस्पतालका प्रवक्ता एवम् सो कार्यक्रमका संयोजक वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

प्रदेश नंम्बर २ मा शिशु मृत्युदर उच्च

डा. बसौलाले भने, ‘प्रदेश नंम्बर २ मा शिशु मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च रहेको छ । आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन, शिशु मृत्युदर कम गर्न त्यहाँ कार्यरत डाक्टरको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसकारण नवजात शिशु सघन उपचार तथा विशेष नवजात हेरचाह कक्षहरूमा कार्यरत १६ जना डाक्टरलाई तालिम सञ्चालन गरिएको छ।’

उनका अनुसार प्रदेश नंम्बर २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका संघीय अस्पताल, जिल्ला अस्पताल र प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरू तालिममा सहभागी रहेका छन् ।

सहभागीलाई सुत्केरी अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने बारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने डा. बसौलाले जनाए । उनका अनुसार तालिम लिएका ती चिकित्सकहरूले यहाँ सिकेका कुरा पछि आफू कार्यरत अस्पतालका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई समेत सिकाउने छन् । 

स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का निर्देशक विजय कुमार झाले पछिल्लो तथ्याङ्क अनुसार यो प्रदेशमा प्रतिहजार जीवित जन्मेका शिशु मध्ये सरदर ३० जना नवजात शिशुको मृत्यु हुने गरेको छ । उनले देसभर भने यो सरदर २१ रहेको बताए ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश नं २ का निर्देशक सरोज न्यौपानेले यो तालिमले शिशु मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौला, वरिष्ठ बालरोग, नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञ डा. ओम कृष्ण पाठक, बालरोग विशेषज्ञ डा. योगराज शर्मा, डा. दामोदर तिवारीलगाएतले प्रशिक्षण दिएका छन् ।

१६ जना नर्सले पाए ‘नवजात शिशु स्याहार तालिम’

यसअघि प्रदेश नंम्बर २ कै ८ जिल्लामा कार्यरत १६ जना नर्सलाई समेत चितवनमै सो तालिम दिएको थियो । नवजात शिशु मृत्युदर घटाउन उनीहरूलाई १६ दिने ‘नवजात शिशु स्याहार तालिम’ दिईएको हो ।

तालिम चैत ५ गतेदेखि सुरू गरि २० गतेसम्म १६ दिने सञ्चालन गरिएको थियो । सहभागी नर्सलाई ७ दिन सैद्धान्तिक तथा ९ दिन व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

दुवै कार्यक्रम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र प्रदेश नं २, पथलैया, बाराको आयोजनामा सञ्चालन भएको हो ।

Last modified on 2021-04-11 06:17:05

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts