कोरोनाको दोस्रो लहरः रुघाखोकी लाग्दैमा कोरोना संक्रमणको भय नपाल्नुस



Download our app to get more features

कोरोना भाइरसको संक्रमणको दोस्रो चरणको लहर नेपालमा पनि सुरु भइसकेको छ । बेलायतमा देखिएको कोरोनाको न्यू भेरिएन्ट र भारतमा देखिएको डबल म्यूटेन्टपनि नेपाल प्रवेश गरिसकेको अवस्थामा हामी सबै सचेत हुनु आवश्यक छ ।

चिनबाट सुरु भएर मध्यपूर्वी मुलुक हुँदै युरोप, अमेरिका, भारत हुँदै नेपालमा पनि महामारीको रुपमा फैलिएको कोरोना महामारीको अब नयाँ स्वरुपहरु देखिँदै छ । जुन चिन्ताजनक विषय हो । कारण सुरुदेखि नै कोरोना भाइरसबारे वैज्ञानिकहरुले यकिन भन्न नसकेको अवस्थामा हालसम्म पनि कोरोनाको यस्तै लक्षण र यहि नै हो भनेर भन्न सक्ने अवस्था छैन ।

त्यसकारण यस महामारीबाट जोगिन हामीले सावधानी अपनाउनु नै उत्तम उपाय र विकल्प हो । कोरोना भाइरबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउनु पर्छ तर, आत्तिनु भने हुँदैन । जाडो मौसम सकेर गर्मी लाग्ने र फेरि मौसम परिवर्तन भएसँगै रुघाखोकीका लक्षणहरु देखिने गर्छ । अहिलेको अवस्था पनि उस्तै छ । तर यी लक्षण देखिँदैमा कोरोना नै हो भन्ने भय मनमा पाल्नु हुँदैन । 

नेपालमा साधारणतया जाडोयाम सकिएपछि चैत वैशाखतिर र बर्खा सकिएर भदौ, असोजतिर रुघाखोकीको संक्रमण बढ्ने गरेको देखिन्छ । रुघाखोकी भन्नाले साधारण रुघाखोकी, फ्लु, मौसमी एलर्जी जस्ता रोगहरु बुझ्नुपर्छ ।

साधारण रुघाखोकी (Common Cold)
यो रोग राइनोभाइरस (Rhinovirus), आरएसभी (RSV), एड्नो भाइरस (Adenovirus) लगायतका २ सय प्रजातिका भाइरसको कारणले लाग्ने गर्छ ।

यसका लक्षणहरुः
– नाक बन्द हुने, नाकबाट पानी बग्ने
– हाच्छ्यूँ आउने
– हल्का खोकी लाग्ने
– घाँटी दुख्ने
– गन्ध वा स्वाद हराउने

फ्लू (Flu)
यो रोग ईन्फ्लुएन्जा (Influenza) भाइरसको कारणले हुने गर्छ ।

यसका लक्षणहरु :
–  ज्वारो आउने,
– सुख्खा खोकी लाग्ने,
– घाँटी खसखस हुने
– टाउको दुख्ने
– जाडो महसुस हुने
– मांशापेशी दुख्ने
– थकान महसुस हुने 

मौसमी एलर्जी (Seasonal Allerfies)
मौसम परिवर्तनसँगै बिरुवा, रुख, घाँसपात परिवर्तन हुँदा हावामा एलर्जिक तत्त्व (Allergen) र पराग कण (Pollen) फैलिने कारणले यो रोग लाग्छ ।

यसका लक्षणहरुः 
–  नाक, कान, घाँटी चिलाउने
–  नाकबाट पानी बग्ने
–  हाँच्छ्यूँ आउने
–  घाँटी खसखस हुने, खोकी लाग्ने,
–  आँखा रसाउने
–   श्वास फेर्न गाह्रो हुने 

कोरोना संक्रमण (nCovid-19):
यो nSARS-CoV भाईरसको कारणले लाग्ने गर्छ ।

लक्षणहरु :
–  ज्वरो आउने
–   मांसापेशी दुख्ने
–  थकान महसुस हुने
–  गन्ध वा स्वाद हराउने
–  स्वास फेर्न अप्ठेरो हुने ।
–  पखला लाग्न सक्ने ।

कोरोना संक्रमण र रुघाखोकीका लक्षणहरु मिल्दा जुल्दा भएका कारण अहिलेको महामारीको अवस्थामा विशेष ध्यान दिनुपर्छ ।  

कसरी बच्ने र बचाउने :
– मास्क लगाउने
–  खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले वा रुमालले मुख छोप्ने 
– बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाईजरको प्रयोग गर्ने
– चिसो, धुलो, धुवाँबाट बच्ने
–  हात मिलाउने, अङ्कमाल गर्ने जस्ता काम नगर्ने 
– भीडभाड भएको ठाउँमा नजाने
– रुघाखोकी लागेका मानिसबाट ५ देखि ६ फिटको दरी कायम गर्ने 

घरेलु उपचार :
– मनतातो पानी प्रसस्त मात्रामा पिउने
– कागती, मह, अदुवा राखेर तातो पानी पिउने
– पोषिलो खानेकुरा खाने
– जति सक्यो धेरै आराम गर्ने
– तातो पानीको बाफ लिने
– नुन पानीले घाँटी कुल्ला गर्ने 

औषधिको प्रयोग
रुघाखोकी, भाइरल इनफेक्सन भएकाले अनावश्यक रुपमा एन्टीबायोटिकको सेवन गर्नु हुँदैन  । ज्वरो, टाउको दुखाई, घाँटी दुखाईको लागि पारासिटामोलको मात्रै प्रयोग गर्ने । नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, हाच्छ्यूँ आउने भएमा Antihistamine समुहको औषधि प्रयोग गर्ने । भिटामिन सी को सेवन गर्ने । 

खोप:
रुघाखोकी विरुद्ध वर्षको एक पटक फ्लू भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । खोप लगाएपछि रुघाखोकी लाग्दैन भन्ने होईन तर यसले निम्त्याउने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । ६५ वर्षभन्दा माथिका वा दीर्घ रोगीको लागी रुघाखोकी, फ्लू जटिल हुनसक्ने भएकाले PPSV-23 Pneumo नामको खोप लगाउनु उचित हुन्छ । 

माथि उल्लेख गरिएका लक्षणहरु केही दिनमा सुधार भएनन् वा झन् जटिल हुँदै गएमा वा स्वास फेर्न गाह्रो भएमा तुरुन्त चिकित्सकसँग परार्मश लिनुपर्छ ।

 

(डा .प्रधानाङ्ग शङ्खमुल हेल्थकेयरमा क्लिनिसियन (इएनटी) को रुपमा कार्यरत छन्)  

Last modified on 2021-04-18 14:46:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts