चितवनका अमृत काफ्लेः जो आफ्नो व्यक्तिगत गाडी प्रयोग गर्दै कोरोना संक्रमितको सेवामा खटिएका छन्



Download our app to get more features

चितवन, २५ वैशाख । चितवनका एक युवाले कोरोना संक्रमितलाई अस्पतालसम्म लैजान निःशुल्क गाडीको व्यवस्था गरेका छन् ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा कार्यरत अमृत काफ्लेले आफ्नै व्यक्तिगत गाडीलाई संक्रमितलाई बोक्न प्रयोग गरेका हुन ।

केही दिनदेखि यो अभियानको थालनी गरेको उनले बताए । शनिवार मात्रै समस्यामा परेका पाँच जना संक्रमितलाई अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

एम्बुलेन्स नपाएको खण्डमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन व्यक्तिगत गाडीलाई नै प्रयोग गर्न थालिएको काफ्लेले बताए । उनी आफै गाडी चलाएर संक्रमितको उद्धारमा खटिएका छन् ।

‘संक्रमण बढ्दो क्रममा रहेको र लकडाउनका कारण सार्वजनिक तथा निजी गाडी समेत नचल्दा बिरामीलाई समस्या परेको छ । बिरामीले आवश्यक परेको समयमा एम्बुलेन्स नपाएको सुनिएको छ । केही एम्बुलेन्सले संक्रमितलाई बोक्न पनि नमानेको भन्ने गुनासो पाइयो,’ उनले भने, ‘समयमा अस्पताल पुर्याउन नसकेर बिरामीले अकालमै मृत्युवरण गर्नु नपरोस् , त्यही समस्या समाधानका लागि यो अभियान सुरु गरेको हुँ ।’

एम्बुलेन्स नपाएमा फोन नम्बर ९८५५०३५३८३ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । यो महामारीको समयमा सबैलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत काफ्लेले आग्रह गरेका छन् । यो आफ्नो सामाजिक उत्तरदायित्व रहेको उनको भनाइ छ ।

विभिन्न सामाजिक संघसंस्थामा समेत आबध्द काफ्ले निकै सक्रिय युवा हुन । काफ्लेको यो सामाजिक कार्य अन्य युवाको लागि प्रेरणाको स्रोत बनोस् । महामारी र लकडाउनको यो समयमा एकअर्कालाई सक्दो सहयोग गर्रौं ।

कोरोना संक्रमण नियन्त्रण बाहिर रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई उनीहरूले अनुरोध गरेका छन् ।

उनीहरूले सन्तुलित खाना, घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न समेत आग्रह गरेका छन् ।

Last modified on 2021-05-08 19:31:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts