अक्सिजनको मात्रा ८५ पुगिसकेका पाँचथरका हिमबागले पाए नयाँ जीवन



Download our app to get more features

पाँचथर घर भएका बद्री विक्रम हिमबाग २२ दिनपछि कोरोनालाई जितेर घर फर्केका छन् । ४५ वर्षका हिमबाग, १४ दिन आईसीयू र ७ दिन एचडीयूमा रहेका थिए । कोरोना संक्रमण भए नभएको पुष्टि हुनु अगावै उनलाई असहज भइसकेको थियो । श्वास फेर्न समस्या हुन थालेपछि मात्रै उनी अस्पताल भर्ना भए ।

स्थायी घर पाँचथर भएपनि हिमबाग विगत १५ वर्षदेखि काठमाडौं कै सामाखुशीमा बस्दै आएका छन् । लुगा सिलाउने काम गर्दै आएका हिमबाग लकडाउन हुनु अगाडी नै बिरामी भएका थिए । काम सकेर पसलबाट घर फर्किने क्रममा वर्षामा दुईदिन भिजेका हिमबागलाई ज्वरो आउन थाल्यो । हिमबागलाई १००.२/१००.३ डिग्रीसममको ज्वरोले सताउन थालेको थियो । वैशाख पहिलो हप्ता नै स्वास्थ्यमा समस्या भएको हिमबाग ११ गते नजिकैको केडीसी जनरल हस्पिटलमा भर्ना भए ।

नजिकैको एक निजी क्लिनिकमा गएर डाक्टरसँग परामर्श गर्दा ती डाक्टरले हिमबागलाई तपाईंलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण छ कोरोना परीक्षण गराउन भनेर सुझाव दिएका थिए भने तिनै डाक्टरले अक्सिजनको मात्रा पनि कम भएको बताएको हिमबाग बताउँछन् । हिमबागको अक्सिजनको मात्रा वैशाख १० गतेदेखि ओरालो लाग्दै गएको थियो । १० गते उनले घरमै बसेर तातोपानी खाएर वा अरु केहि गरेर निको हुन्छ की भनेर बसे । तर, स्वास्थ्यमा कुनै सुधार नआएपछि उनी केडीसि जनरल अस्पतालमा भर्ना भए ।

छिमेकी नर्सले उनलाई केडीसि जनरअल अस्पतालमा बेडका लागि बुझ्न भनेको र उनले बेड बेलैमा पाएपनि । अस्पताल भर्ना भएपछि उनी इमर्जेन्सी वार्डमा भर्ना भए । उनको पिसिआर परीक्षण गरियो र कोरोना पोजेटिभ देखियो । इमर्जेन्सी वार्डमा उनलाई अक्सिजन दिइयो । त्यसपछि उनलाई आईसीयूमा सारियो । १४ दिन आईसीयूमा उपचार गराएपछि हिमबागलाई एचडीयूमा सारियो । 

सवास्थ्य अवस्था सुधार हुँदै गयो । उनले २२ दिनपछि कोरोनालाई जिते र अहिले आफ्नो घर फर्किसकेका छन् । अस्पतालमा जब कोरोना पुष्टि भयो र अक्सिजन मास्कसहित उनको उपचार सुरु भयो हिमबागलाई सायद अब बाँचिन्न होला जस्तो लागेको थियो । कोरोनाले मानिसको मृत्यु नै हुन्छ भन्ने पनि मनमा लागिरह्यो तर, अस्पतालका डाक्टर र नर्सहरुले गरेको उपचार र सेवाले नयाँ जीवन पाएको उनको भनाइ छ । 

हिमबाग भन्छन्, ‘मलाई केडीसिका डाक्टर र नर्सहरुले जीवनदान नै दिएका हुन् । आईसीयूमा भर्ना भइसकेपछि सायद अब यहाँबाट फर्केर आइन्न होला लागेको थियो । तर, केडीसिको सेवा र डाक्टरले मलाई नयाँ जीवन दिए । जसको लागि म अस्पताल र सबै डाक्टर नर्सलाई हृदयदेखि ने धन्यवाद दिन चाहन्छु ।’

नयाँ जीवन पाएका हिमबाग सबैलाई धन्यवाद दिँदै अन्तिममा केडीसि जनरल अस्पतललाई सुझाव दिँदै भन्छन्, ‘अस्पतालले मलाई नयाँ जीवन दियो जसका लागि म आभारी छु । तर, जो निम्न आय र विपन्न वर्गका छन् उनीहरुलाई उपचारको खर्चमा केही छुट दिने व्यवस्था गरिदिए हुन्थ्यो । जोसँग पैसा छैन र जो महँगो अस्पतालमा वा निजीमा गएर उपचार गराउन असक्षम छन् उनीहरुका लागि छुट्टै व्यवस्था गरिदिए राहत हुने थियो ।’ 

Last modified on 2021-05-16 21:41:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts