सरसफाई मजदुरको आन्दोलनले अस्पतालको काम प्रभावित

What's This?


Download our app to get more features

चितवन, १० चैत्र । चितवन मेडिकल कलेजमा कार्यरत स्वास्थ्य तथा सरसफाई मजदुरको आन्दोलन अझै पनि साम्य भएको छैन । विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई श्रमिक संघ मूल एकाइ कमिटी चितवन मेडिकल कजेजको नाममा गत फागुन १० गतेदेखि आन्दोलन हुँदै आएको छ । 
आन्दोलनको निरन्तरता स्वरुप सरसफाई मजदुरहरुले बुधबार बिहानैदेखि अस्पताल प्रशासनमा नाराबाजी समेत गरेका छन् । मजदुरहरुले केहीबेर अस्पतालमा नाराबाजी गरेपछि अस्पतालका प्रबन्ध निर्देशक डा. हरिश न्यौपाने, अस्पताल प्रशासक पारष अधिकारीलाई कारबाहीको माग गर्दै ¥याली समेत निकालेका छन् । प्रबन्ध निर्देशक न्यौपाने र प्रशासक अधिकारीले मजदुरहरुको दमनका लागि प्रहरी लगाएको मजदुरहरुको आरोप रहेको छ । 
मजदुरहरुले बुधबार चितवन मेडिकल कलेजबाट निकालेको ¥याली चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय, भरतपुर अस्पताल, सप्तगण्डकी क्याम्पस हुँदै पुनः अस्पतालमा नै आएर सभामा परिणत भएको थियो । ¥यालीपछिको कोणसभाका वक्ताहरुले मजदुरहरुको मागलाई पूरा नगरेमा आफूहरु जस्तो सुकै आन्दोलन गर्न समेत बाध्य हुने बताएका छन् ।  

आन्दोलनका क्रममा मजदुरहरुले विभिन्न तीन चरणको आन्दोलन गरी आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । पहिलो चरणको आन्दोलनमा हातमा कालोपट्टी बाँधेर सरसफाई मजदुरहरु आन्दोनमा उत्रिएका थिए । दोस्रो चरणको आन्दोलनलाई परिमार्जित गर्दै अस्पतालमा दुई घण्टा धर्ना दिँदै आएका थिए । त्यसैगरी, तेस्रो चरणको आन्दोलनका क्रममा मजदुरहरुले सरसफाईमा प्रयोग हुने कुचो, झाडू, बाल्टिन, पोचासहितको सामग्री प्रदर्शन गर्दै ओपिडी सेवा सञ्चालनमा रोक लगाउने प्रयास गरेका थिए । 

अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई श्रमिक संघ मूल एकाइ कमिटी सीएमसीको नाममा हुँदै आएको आन्दोलनले बिरामीको उपचारमा समेत प्रभाव पार्न थालेपछि उनीहरुलाई प्रहरी पक्राउ गरी साँझ छोड्ने गरेको थियो । अस्पताल प्रशासनले प्रहरीमार्फत सरसफाई मजदुर पक्राउ गराएको भन्दै श्रमिकहरुले चैत ८ गते अस्पतालको एउटा बसमा समेत आगजनी गरेका थिए । मजदुरको आन्दोलनका कारण अस्पतालबाट प्रदान गरिने सेवा समेत प्रभावित हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । 

शान्तिपूर्ण रुपमा सञ्चालन गरिने भनेर मजदुरहरुले आन्दोलन घोषणा गरेको भएपनि आन्दोलनले उग्र रुप लिन पुगेपछि अस्पतालको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ । सरसफाई मजदुरले २०६६ साल फागुन ११ गते भएको सहमतिलाई अस्पतालले लागू नगरेको र त्यो सहमति लागू गर्नुपर्ने माग गर्दै आएका छन् । सहमतिको कुरा गर्दा अस्पताल प्रशासनले कर्मचारीको जागिर खाइदिने, हाजिर गर्न नदिने, विभिन्न धम्कीहरु दिने गरेको स्वास्थ्य मजदुरको गुनासो रहेको छ । तत्कालिन अवस्थामा अस्पतालको तर्फबाट डा. चन्द्रप्रसाद सेढाई, डा. विजयराज आचार्यलगायतले सहमति पत्रमा हस्ताक्षर गरेको थिए भने कर्मचारी मजदुर युनियनको तर्फबाट रिता आचार्य, शोभा वाग्ले र प्रकाश चौलागाईले हस्ताक्षर गरेका थिए । कर्मचारीहरुले ०६६ साल माघ ५ गते पेश गरेको मागका सम्बन्धमा अस्पताल प्रशासन र मजदुर युनियनबीच ६६ सालकै फागुन ११ विभिन्न १५ बुँदे सहमति भएको थियो ।


के थियो सहमति पत्रमा ? 


कर्मचारीहरुले राखेको मागका सम्बन्धमा अस्पताल प्रशासन र कर्मचारी युनियनबीच फागुन ११ गते भएको सहमतिमा अस्पतालमा भइरहेको ज्यालादारी प्रथाको अन्त्य गर्दै सबै कर्मचारीलाई नियुक्ति पत्र दिने सहमति भएको थियो । त्यसैगरी, ड्युटी तालिकालाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, रात्री भत्ताको व्यवस्था गर्ने, खाजाको व्यवस्था, श्रमिकहरुको तलब वृद्धि गर्दै पोशाक भत्ता बापत दुई सय रुपैयाँ प्रदान गरिनुका साथै समय सापेक्ष महंगी भत्ता बृद्धि गर्दै लगिने सहमति भएको थियो । 

त्यसैगरी, सरसफाई मजदुरहरुलाई खाजा खाने समय प्रत्येक दिन आधा घण्टा उपलब्ध गराउने, उपचारको सुविधा उपलब्ध गराइने, श्रमिकको रोजगार सुरक्षाको लागि पुनरावेदन गर्न पाउने, स्वास्थ्य कर्मचारी राख्ने सम्बन्धमा ठेक्का पट्टाको व्यवस्था नगरिनेलगायतकाम विभिन्न १५ बुँदे सहमति भएका थिए । 
अहिले विप्लव माओवादी निकटका सरसफाई मजदुरहरुले फागुन ११ मा भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएको हो । 


के माग राखेर आन्दोलन गर्दै आएका छन् सरसफाई मजदुर ? 

स्वास्थ्य तथा सरसफाई मजदुरले गत फागुन ९ गते पत्रकार सम्मेलन गरि आफूहरुले अस्पताल प्रशासन समक्ष विभिन्न १० बुँदे मागपत्र पेश गरेको जानकारी गराएको थियो । मुलुकमा दैनिक उपभोग्य वस्तुहरु र खाद्यान्नको मूल्य बढ्दै गएको भएपनि श्रमजीवि मजदुरहरुको तलब नबढेको कारण तलब सुविधा बढाउन अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाइएको एकाइ अध्यक्ष सरस्वती ढकालले बताइन् । प्रशासन समक्ष मौखिक रुपमा विभिन्न मागहरु राख्दा आफूहरुको मागलाई सम्बोधन गर्नुको साटो राज्यले तोकेको सेवा सुविधा समेत नदिएको ढकालले गुनासो गरिन् । सरसफाई मजदुरहरुले एक वर्षसम्म सेवा अवधि पार गरिसकेका कर्मचारीलाई स्थायी नियुक्तपत्रको व्यवस्था गर्नुपर्ने, स्यार्यी कर्मचारीको सञ्चयकोष कट्टा गरिनुपर्ने, पूर्ण तलब बराबरको दसैं खर्च उपलब्ध गराइनुपर्नेलगायतका विभिन्न १० बुँदे माग राख्दै आएका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts