कोरोनामुक्त भएर पनि किन हुन्छ मृत्यु ? जानौं



Download our app to get more features

पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकाहरुको पनि मृत्यु हुने गरेको पाइएको छ । 

धेरै जनाको संक्रमण पोजेटिभ आएर मृत्यु भएको छ भने धेरै संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आएर पनि मृत्यु भएको छ । यस्तै धेरैको त हृद्यघातका कारण मृत्यु भएको समेत पाइएको छ ।
 
त्यसैगरी कोरोना निको भएर घर फर्केकाहरु पुनः अस्पताल भर्ना हुने समेत गरेका छन् । तर, चिकित्सकहरुले भने उनीहरु कोरोना नभइ अन्य विभिन्न रोगका कारण पुनः अस्पताल भर्ना हुने बताएका छन् ।
  
संक्रमण निको भएर फर्केका बढी जसोमा सुगर, थाइराईड र कलेजोमा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डक्टर निराजन शर्माले बताए ।
 
किन हुन्छ संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि मृत्यु ?
डा. शर्माका अनुसार धेरै नागरिकरुले अझै पनि कोरोनाको विषयमा कम बुझेको पाइएको छ । यस विषयमा राम्रोसँग अध्ययन गर्नुपर्ने उनले बताए ।
 
कोरोना संक्रमणको कारणले मात्रै नभइ संक्रमण मुक्त भएकाहरुको पनि मृत्यु हुने गरेको उनले बताए । “कोरोनाले फोक्सोलाई छोइसकेपछि कडा खालको निमोनिया उत्पन्न हुन्छ । त्यो एकचोटी लागिसकेपछि कतिसम्म बढ्दै जान्छ, उपचार पनि त्यसैमा भर पर्छ । कोरोना नेगेटिभ आयो भन्दैमा कोरोनाले गरिसकेको असर पूर्णरुपले निको भइसकेका हुँदैन ।” 

कोरोनाले एक चोटीे असर गरेपछि पूर्णरुपमा निको हुन समय लाग्ने र सोही कारणले मृत्यु हुने गरेको उनले बताए । “कोरोना नेगेटिभ आइसकेको भएपनि त्यसले फोक्सोमा पारेको असर पूर्णरुपले ठिक हुँदैन । त्यस्तो अवस्थामा बिरामीको फोक्सो ‘ड्यामेज’ भइसकेको हुन्छ” उनले भने ।

यसकारण जाँच गरिन्छ कोरोना
चिकित्सकका अनुसार निमोनिया धेरै प्रकारका हुन्छन् । ब्याक्टेरिया, क्षयरोग, टिवी, ढुसी लगायतका किटाणुहरु तथा कोरोना बाहेकका अन्य भाइरसले पनि निमोनिया गराउँछ । त्यसैले कुन किटाणुले निमोनियाँ गराउँछ भनेर थाहा पाउन कोरोना जाँच गर्ने डक्टर निराजन शर्मा बताउँछन् । कोरोना भाइरसले गराएको निमोनिया कडाखालको हुने उनको भनाइ छ । 

‘एकचोटी निमोनिया भएर कडा रोग लागेका व्यक्तिमा जती क्षति भइसकेको हुन्छ त्यो क्षति फेरि सामान्य हुनलाई समय लाग्ने र गाह्रो हुने गर्छ । यसकारण कोभिड निको भइसकेपछि मृत्यु हुने देखिन्छ’ उनले भने ।
 
हृदयघात पनि मृत्युको कारण 
कोरोना संक्रमणपछि भएको निमोनिया ४÷५ दिन औषधि चलाएर सञ्चो नहुने रोग डा. शर्माले बताए । त्यसको उपचारमा लामो समय लाग्ने उनको भनाइ छ ।
 
यो रोगको थोक औषधि विश्वमा नबनेको बताउँदै उनी भन्छन्, “यसको मुख्य उपचार भनेको ‘स्ट्रेलर’ औषधि र अक्सिजन हो । गाह्रो भएको अवस्थामा भेन्टिलेटरमा राख्नुपर्छ । यति लामो समय बस्दा पनि फोक्सोले राम्रोसँग काम गर्न सकेन भने शरीरका अरु अगंहरुले पनि फोक्सोले दिने अरु अक्सिजनको मात्रा कम पाउँदै जान्छ । यसले गर्दा कलेजो, दिमाग, किड्नी लगायत शरीरका अन्य अगंहरु पनि अक्सिजनको कमीले गर्दा सुक्दै जाँदा समस्या आउने गर्छ ।” 

यस्तै सुगर, प्रेसर, थाइराइड, बाथरोगी, रगत पातलो गर्ने औषधि खाइरहेको, मिर्गौला पत्यारोपण गरेका, मुटुको अप्रेशन गरेका, मुटुमा स्टेन्ट हालेको लगायतका दीर्घरोगीहरुले लामो समयसम्म उपचार गर्दा हृद्यघात भएर मृत्यु हुने गरेको उनले बताए ।

Last modified on 2021-06-03 11:29:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts