भेटेनरीका विद्यार्थी शर्माले जब आमाको उपचारका लागि अनावश्यक शुल्क तिनुपर्यो



Download our app to get more features

  जनकपुर, २० जेठ । कोरोना संक्रमणको दोस्रो महामारीको बेला निजी अस्पतालहरुले मनपरी शुल्क असुल्ने गरेको घटना जनकपुरमा पनि देखिएको छ ।

जनकपुरका निजी अस्पतालमा भर्ना भएका बिरामीको वेवास्ता गर्नुका साथै अनावश्यक शुल्क लिने गरेको पाइएको छ ।

निरन्तर ज्वरो, कमजोरी र श्वास फेर्न गाह्रो हुने लक्षण देखिएपछि धनुषाकी कलियादेवी ठाकुरलाई जनकपुरको काव्या हस्पिटलमा जेठ ४ मा भर्ना गरियो ।

अस्पताल पुग्दा चिकित्सकले तत्कालै भर्ना गरी आइसोलेसन कक्षमा राख्न सल्लाह दिए । तर, त्यसका लागि ३६ हजार रुपैयाँ अग्रिम भुक्तानि गर्नु पर्यो ।

ठाकुरको उपचार सुरु भयो । दोस्रो दिन अस्पतालले थप १८ हजार रुपैयाँ बेडचार्जको नाममा जम्मा गर्न लगायो । तर, बिल दिँदा भने बेडचार्जको साटो ‘एडभान्स’ भनेर लेखियो ।

ठाकुरका छोरा सुदिप शर्माले बेड चार्जबापत २ दिनमा ५४ हजार रुपैयाँ अस्पतालले लिएपनि बिलमा भने एडभान्स लेखेर दिने गरेको बताए । यसमा बेडचार्जको साटो एडभान्स भनेर किन लेखेको भन्ने प्रश्नमा प्रसाशनले कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ । शर्माले आमाको उपचार ठूलो भएकाले धेरै खोजीनिती गर्न नसकेको पनि बताए ।

अस्पताल सञ्चालक डा.एसके सिंहले भने बेडचार्ज १८ हजार लिएको स्वीकारे पनि त्यसमा अन्य–चार्जसमेत जोडिने भएकाले बेडचार्ज नै भनेर बिल नदिएको दावी गरे । तर ‘अन्य चार्ज’ भनेको केको चार्ज हो भन्ने प्रश्नमा सिंहले कुनै प्रतिक्रिया दिएनन् ।

‘मेरो आमालाई अक्सिजन लगाइएको पनि छैन, पीपीई सेटसहित अरु सबै औषधि मैले नै किनेको छु‚ भनेपछि अरु के को शुल्क लिएको छ ?’ शर्माले भने । 

शर्मा भन्छन्, ‘म मात्रै होइन काव्याको वार्डमा भर्ना भएका सबै बिरामीका आफन्तले पनि दैनिक १८ हजार नै शुल्क बुझाइरहेका छन् । यसबारे अस्पताल प्रशासनसँग कुरा गर्दा धरौटी नराखे बिरामी भर्ना नै नलिने भनेर बिरामी फर्काउने गरेको छ ।’

उपचारमा खटिने डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि फार्मेसीबाट पीपीई, ग्लोब्स, मास्क, सेनिटाईजरलगायत सामग्री बिरामीकै आफन्तले ल्याउनुपर्ने शर्माले बताए । ‘१५ सय जति पर्ने पीपीई सेटलाई अस्पतालको फार्मेसीमा ३५ सय रुपैयाँ लिइयो‚’ उनले भने । सबै स्वास्थ्य सुरक्षा सामग्रीको ४५ सय र विभिन्न जाँचबापत थप १७ हजार तिर्नुपरेको उनले जानकारी दिए ।

निजी अस्पताल संघ धनुषाका अध्यक्षसमेत रहेका काव्या अस्पतालका संञ्चालक डा. सिंहले केही दिनअघि कोभिडको उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीका लागि पीपीई, ग्लोब्सलगायतका स्वास्थ्य सुरक्षा सामग्री बिरामीलाई किन्न लगाउनु गलत रहेको बताएका थिए । त्यसो गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने दाबी गरेका डा. सिंहले आफ्नै हस्पिटलमा भने त्यो लागू गरेका छैनन् ।

कोभिड र कोभिड नभएका बिरामी एउटै वार्डमा
कोभिडको आशंकामा अस्पताल भर्ना गरिएकी कलिया देवीको पिसिआर परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो । अर्थात् उनमा कोरोनाको संक्रमण थिएन । तर, उनलाई कोभिड वार्डमा कोभिड संक्रमितहरुसँगै राखिएको थियो । 

ठाकुरका छोरा शर्माले दिनको १८ हजार रुपैयाँ बेडचार्ज तिरेपछि बिरामीलाई अलग र व्यवस्थित वार्डमा राख्ला भनेर सोचेपनि कोभिड वार्डमा कोरोना संक्रमित बिरामीसँगै आमालाई राखेर उपचार गरेको बताए ।

कोरोना संक्रमित र संक्रमण नै नभएकालाई एउटै वार्डमा राख्ने र कुरुवापनि त्यहि बस्दा कुरुवा र बिरामीलाई कतिसम्म तनाव हुँदो हो अनुमान गर्न पनि नसकिने उनको भनाइ छ । 

शर्माले आमाको उपचारका लागि २ दिनमा करिब १ लाख ५० हजार रुपैयाँ सकिएको बताए । २ दिनको १८ हजारका दरले बेड चार्ज गरेर ५४ हजार रुपैयाँ र ल्याबको शुल्कबापत १७ हजार रुपैयाँ गरी ७१ हजारको बिल भएपनि अस्पतालमा आफूले १ लाख २० हजार रुपैयाँ बुझाएको शर्माको भनाइ छ ।

ईसीजी, भिडिओ एक्सरेलगायतका परीक्षण गरेको बिल भने अस्पतालले नदिएको उनको भनाइ छ । शुल्क तिरेपछि बिरामीलाई ईसीजी, गर्ने कोठामा पठाएको र त्यहाँ ईसीजी गरेर रिपोर्ट लिएको तर बिल भने नदिइएको उनको दाबी छ ।

यसबाहेक फार्मेसीबाट करिब ३० हजार रुपैयाँको औषधि किनेको शर्माले बताए । पीपीईलगायत खरिदमा ४ हजार ५ सयसहित ३० हजार जतिको औषधि किनेको उनको भनाइ छ । तर, अस्पताल सञ्चालक डा. सिंह भने बिरामीलाई औषधि अस्पतालले नै दिने दाबी गर्छन् ।

त्यतिमात्रै होइन अस्पतालमा कार्यरत कर्मचारीले औषधिमा म्याद गुजे्रका औषधि बिरामीलाई दिने गरेको शर्माको आरोप छ । उनी भन्छन्, ‘औषधिमा म्याद कहिले गुज्रिन्छ भन्ने मितिलाई काटेर अनि बिरामीलाई दिने गरिएको छ । ताकि मिति नै नभएसि बिरामीलाई थाहा नै हुँदैन औषधिको म्याद छ वा छैन भनेर ।’

‘बिरामीलाई दिनका लागि ल्याएको औषधिको म्याद हेर्न खोज्दा म्याद लेखेको नै काटिएको थियो । मैले बहस गरेपछि नर्सले अर्को म्याद लेखेको औषधि लिएर आउँछु भनेर अर्को म्याद भएको औषधि दिएको थियो ।’ उनले थपे ।

भेटेनरी चिकित्साशास्त्रमा अध्ययनरत शर्मा थप्छन्, ‘अस्पताल भर्ना हुनुभएकी आमाको ज्यान जोगाउनुपर्ने बाध्यताले केहि बोल्न सक्ने अवस्था थिएन । यदि त्यतिबेला अस्पतालमा मैले केही भनेको भए सायद मेरो आमाको ज्यान जोखिममा पर्न सक्थ्यो । त्यसकारण म चुप लागे । आमालाई कहिले सुधार होला र यहाँबाट सारौंला भएको थियो । फर्केर म त्यो अस्पताल कहिले जाँदिन ।’

‘हामी जस्ता पढेलेखेका त यस्तो अवस्था छ । सोच्नुस् जसलाई केही थाहा छैन । औषधिको म्यादपनि हेर्न जान्दैनन् तीनिहरुलाई त अस्पतालले म्याद गुजे्रका औषधि नै दिइरहेको छ,’ उनले सुनाए ।   

अस्पतालको आइसोलेसन वार्डमा कुनै व्यवस्था नहुँदा र संक्रमित र कोरोना नभएकाहरु एकै ठाउँमा राख्दा आफू पनि बिरामी भएर १५ दिन आइसोलेसनमा बस्नु परेको शर्माले बताए । दुई दिन मात्रै अस्पताल बस्दा कोरोनाको लक्षण देखिएपछि आफूपनि आइसोलेसनमा बस्नुपरेको उनको भनाइ छ ।

‘आमाको अवस्था हेर्दा कम्तीमा पनि एक साता अस्पतालमा राख्नुपर्ने थियो । तर, अस्पतालको अवस्थाले गर्दा आमालाई गुमाउँछु कि भन्ने डर भयो र दुई दिनमै डिस्चार्ज गराएर घरमै राखेर आफैंले इन्जेक्शन र स्लाइन लगाएर उपचार गरे । अहिले आमा स्वस्थ हुनुहुन्छ ।’

जनकपुर मात्रै होइन पर्साको नेशनल मेडिकल कलेजमा पनि बिरामीसँग अनावश्यक चर्को शुल्क लिने गरेको पाइएको छ । अस्पताल भर्ना भएका बिरामीलाई एक त भर्ना नै गर्न नमान्ने र यदि भर्ना गरिहाल्यो भने ढाड सेक्नेगरि शुल्क असुल्ने गरेको पाइएको छ ।

बाराका शम्भु यादवका बुबालाई जेठ ३ गते नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । भर्ना गर्नका लागि पहिले त पिसिआर रिपोर्टको लागि र पछि भर्ना गर्नका लागि २० हजार जम्मा गर्नु पर्यो ।

७ दिनको अस्पताल बसाईको क्रममा यादवले झन्डै २ लाख रुपैयाँ तिर्नुपर्यो ।

कोरोना संक्रमण देखिएको यादवको बुबाको उपचारका लागि चाहिने सबै आवश्यक स्वास्थ्य उपकरण आफैले किनेर दिनुपर्ने शम्भुले बताए । 

उनले जतिपटक बिरामीलाई हेर्न जानुपर्ने त्यतिपटक एक पिस होइन बक्स नै मास्क र पञ्जाको खरिद गरेर दिनुपर्ने अनि पीपीई सेट दिनुपर्ने बताए । 

उनी भन्छन्, ‘डाक्टरले बुबालाई हेरेवापत र बेडमा राखेबापत मात्रै मैले २ लाख तिरे । किनकी बाँकी सबै सामान त मैले नै खरिद गरेर दिएको थिए । अस्पतालले के को यत्रो पैसा लियो नै थाहा छैन । बुबाको ज्यान जोगाउनु मात्रै मेरो उदेश्य थियो र मैले केही सोधीखोजी गर्न सकिन ।’

नेशनल मेडिकल कलेज सँधै विवादमा आइरहने अस्पताल हो । कोरोनाको पहिलो चरणको लहरमा पनि अस्पतालले बिरामी भर्ना लिन नमान्दा कतिजना बिरामीको मृत्यु भएको थियो भने दोस्रो लहरमा पनि विवादित बनेको छ ।

नेपालका कमेडियनको रुपमा आफूलाई चिनाउन सफल भएका बाराकै आदर्श मिश्रको बुबाको डायलासिसको घटनाले पनि नेशनल विवादमा आएको छ । 

Last modified on 2021-06-03 12:14:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts