सुर्तिजन्य पदार्थको सेवनले ज्यानै जोखिममा, कसरी छुटाउन सकिन्छ लत ?



Download our app to get more features

काडमाडौं, २३ जेठ । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने भनाइ प्रायः सबैलाई थाहा भएको कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि नेपालसहित विश्वभर कुनै न कुनै बहानामा मानिसहरुले सुर्तीजन्य पदार्थको सेवन गर्ने र लतमा फस्ने गरेका छन् । महिला, पुरुष, धनी, गरिव, बालबालिका, किशोरकिशोरी, युवायुवती, बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुलमखुल्ला रुपमा चुरोट तथा अन्य कुनै न कुनै सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् ।
कोहीले साथीभाइको कर र रहरमा , कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र कोहीले हर्ष बढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइन्छ ।

विश्वभर सुर्र्तीजन्य पदार्थको सेवनवाट आम मानिसहरुमा पर्ने गएको समस्या र स्वास्थ्यमा पर्ने असरबारे जनचेतना फैलाउन तथा सुर्र्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा कम गर्ने नीति नियम बनाउन सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मे ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थरहित दिवस विविध कार्यक्रम गरी मनाइन्छ । हाल सुर्तीजन्य पदार्थको प्रयोग केहि घट्दोक्रममा देखिए तापनि उल्लेखनीय सुधार आउन सकेको छैन । 

एक सर्वेक्षण अनुसार विश्वमा प्रयोग हुने हरेक १० वटा चुरोटमध्ये एउटा चुरोट गैरकानुनीरुपमा बिक्री वितरण भइरहेको देखिएको छ । सुर्र्तीजन्य पदार्थमा कर बढाउनुको उद्देश्य नै यसको प्रयोगमा कमी आवस भन्ने हो । तर त्यसमा उल्लेखनिय सुधार हुन सकिरहेको छैन । त्यसैले यसको विक्री वितरणलाई नियन्त्रण गर्न यसको गैरकानुनी व्यापारलाई रोक्नुपर्दछ । 
बजारमा पाइने गुट्खा, खैनी, सुर्र्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एमनिया, आर्सनिक आदिजस्ता करिब सात हजारभन्दा बढी केमिकल पाइन्छन, यी सबै स्वास्थ्यका लागि हानिकारक छन् । 

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार विश्वभर करिव ६० लाख ब्यक्तिहरु सुर्र्तीजन्य पदार्थको सेवनको कारण वर्षेनी ज्यान गुमाइरहेका छन् । जसमध्ये करिव ६ लाख मनिसहरु अरुले सेवन गरेको सुर्तीजन्य पदार्थको प्रभावले ज्यान गुमाइरहेका छन । हरेक छ सेकेण्डमा एक ब्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ । करिव ८० प्रतिशत प्रयोगकर्ताहरु हाम्रो देश जस्ता कम तथा मध्यम आयस्रोत हुने देशहरुमा छन । यस अर्थमा हेर्ने हो भने हाम्रो जस्तो मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नको लागि हामी सबै लाग्नुपर्ने देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष २७ हजारको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा मुखको क्यान्सर हुन्छ । त्यस्तै ओठ, जिब्रो, गिजामा घाउ, अल्सर र बिस्तारै क्यान्सर हुने गर्छ । मुखका विभिन्न अंगमा हुने यस्ता क्यान्सर चुरोट, गुट्खा वा सुर्र्तीबाट हुने गरेको पाइन्छ । 
सुर्तीजन्य पदार्थका असरहरु:

चुरोट, सुर्र्ती, खैनी, तमाखु आदि बढी मात्रामा प्रयोग हुने सुर्तीजन्य पदार्थ हुन । सेवन गर्ने वित्तिकै तत्काल असर नपरे पनि लामो समय पछि यिनीहरुको असर देखिने गर्दछ । हालसम्म ४ हजार भन्दा बढी रसायनहरु सुर्र्तीजन्य पदार्थमा भेटिइसकेको छ । जसमध्ये करिव २५० हाम्रो शरीरका लागि हानिकारक छन् र ५० वटा भन्दा बढीले क्यान्सर निम्त्याउँदछन । यो कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । 
- सामान्य रुपमा मुख, गिजा तथा दाँतको समस्यादेखि लिएर फोक्सो, मुटु र पेटमा असर गर्ने क्षमता सुर्तीजन्य पदार्थहरुमा हुन्छ ।
- लामो समयसम्म गुट्खा सेवन गर्ने व्यक्तिमा सबम्युकेस फाइब्रोसिस हुने गर्छ । जुन मुखमा हुने एकप्रकारको जटिल रोग हो । सुर्तीजन्य पदार्थमा हुने तत्वले मुखको छालामा असर गर्दै  जान्छ । बिस्तारै राम्ररी मुख खोल्न नसक्ने, मुखको आकार सानो हुँदै जाने हुँदा खाना चपाउन नसक्ने, खाना निल्न समस्या हुनेजस्ता जटिलता देखिन्छन् । 
- सुर्तीले मुखमा मात्रै नभई पेट र आन्द्रामा पनि उत्तिकै असर पारिरहेको हुन्छ । गुट्खा सेवन गर्ने व्यक्तिमा पाचन प्रणालीमा समस्या देखिन्छ । खानानली, आन्द्रा र पेटमा घाउ,अल्सर र क्यान्सर हुने गर्छ । 
- गुट्खा, खैनी वा सुर्र्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले आफ्नो स्वास्थ्यमा मात्र नभई आफूवरपरको वातावरण र परिवारलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पु¥याइरहेका हुन्छन् । 
- लामो समयदेखि सुतीजन्य पदार्थ सेवन गरिरहेको व्यक्तिमा श्वास–प्रश्वासको समस्या हुने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ । रक्तचाप बढ्ने र मुटुमा अन्य समस्या देखापर्ने हुन्छ ।   
- गुट्खा, खैनी वा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले आफ्नो स्वास्थ्यमा मात्र नभई आफूवरपरको वातावरण र परिवारलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पु¥याइरहेका हुन्छन । 
- गुट्खा सेवन गर्नेले जथाभावी थुक्ने गर्छन, जसले वरपर बस्ने व्यक्तिमा समेत नराम्रो प्रभाव पार्छ । सार्वजनिक स्थान, घर, कार्यालय वा अन्य स्थानमा गुट्खा चपाइरहने वा जथाभावी थुक्ने बानीले मानिसको व्यक्तित्वमा पनि नकारात्मक असर गर्छ ।

पछिल्लो समय विश्वभर नसर्ने रोगहरुको प्रकोप बढ्दो क्रममा छ । जसको प्रमुख कारक तत्व भनेको नै हाम्रो जीवन शैली र सुतीजन्य पदार्थको प्रयोग नै हो । लामो समयसम्म निरन्तर प्रयोग गर्नाले नसर्ने खालका दीर्घ रोगहरु देखा पर्दछन । रक्तनली विगार्ने, रक्तचाप बढाउने, मुटुसम्वन्धी दीर्घरोग लाग्ने, हृदयाघात हुने, मस्तिकमा असर गर्ने, फोक्सो विगार्ने, दम हुने, फोक्सोको क्यान्सर हुने, स्वासनलीको क्यान्सर हुने, रगत तथा पाठेघरको क्यान्सर हुन मद्दत गर्ने आदि जस्ता रोगहरु सुर्तीजन्य पदार्थको सेवनले लाग्छ । त्यसैगरी गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ खेर जाने, समय नपुगी जन्मिने, कम तौल भएको बच्चा जन्मिने तथा शिशुको शारिरीक तथा मानसिक विकासमा समेत असर गर्दछ ।

रोकथाममा नेपालको प्रयास:
सरकारले सुर्र्तीजन्य पदार्थको नियन्त्रण र रोकथाकमा लागि तीन वटा कानून ल्याएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१ ल्याएको छ । नीति नियममा हाम्रो देश नेपाल बलियो नै देखिन्छ । यद्यपी कार्यान्वयन पक्ष भने त्यति राम्रो देखिएको छैन ।

तर ति कानून प्रभावकारी कार्यन्वयन नहुँदा सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण हुन नसकेको पाइएको छ । सुर्तीजन्य पदार्थको बट्टामा नकारात्मक असर गर्ने चित्र अंकित गरिएको छ । सम्पूर्ण सार्वजनिक ठाउँहरुमा सुर्तीजन्य पदार्थको प्रयोगमा प्रतिवन्ध लगाइएको छ । तर यसको पूर्णपालना भैरहेको छैन । नियमित अनुगमन र कारवाही पनि हुन सकेको छैन ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाका अनुसार नेपालमा  बर्षेनी २७ हजार १३७ जना सुर्तिजन्य पदार्थको सेवनले मृत्यु हुने गरेको छन । जुन नेपालमा मृत्युको करिव १५ प्रतिशत रहेको हो । विश्वमा करिव ८० लाख मानिस सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख संगै बस्नेले खाएको चुरोटको धुँवाको असरको कारणले मृत्यु हुने गरेको छ । 
केन्द्रका निर्देशक डा.थपलियाका अनुसार नेपालको तथ्याकले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेको छ । तिमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला रहेका छन । यसैंगरी पहिलो पटक धुम्रपान शुरु गर्दाको औषस उमेर १७.८ रहेको छ । दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करिव ६.५ वटा चुरोट खाने गरेको छन ।  नेपालमा बर्षेनी सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिव ४७ अर्ब रुपियाँ क्षति हुने गरेको छ ।  
सुर्तीजन्य पदार्थको करबाट उठेको रकमको ७५ प्रतिशत रकम वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र २५ प्रतिशत रकम क्षयरोग तथा अन्य रोग नियन्त्रणमा लगानी गर्ने भन्ने उल्लेख छ । नेपाल  सरकारको तर्फबाट सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा तथा सुर्तीजन्य पदार्थको प्रयोग परित्याग गर्ने जस्ता कार्यक्रमहरु अगाडि बढाइएको छ । तैपनि यी कार्यहरुको पूर्णरुपमापालना तथा अनुगमन हुन सकेको छैन । यसकालागि सरकार मात्र नभइ हरेक ब्यक्ति, समाज, संघ संस्था सबै लाग्नुपर्ने देखिन्छ ।

कसरी छुटाउन सकिन्छ लत ?
कुनै पनि लतबाट मुक्त हुनु त्यति सजिलो कुरा पक्कै पनि होइन । सानैदेखि लागेको बानी कहाँ जान्छ र भन्छौं हामी । तर, लत त्याग्ने प्रयत्न गर्दैनौं । यदि कोशिस गर्ने हो भने लत हटाउन सकिन्छ सजिलै । भनिन्छ नी संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसका लागि हामीले निरन्तर इमान्दारीतापूर्वक प्रयत्न भने जारी राख्नुपर्छ । त्यसैले सानैदेखि लागेको बानी हटाउन सकिँदैन भन्ने पुरानो मानिसकतालाई सबैभन्दा पहिले हामीले त्याग्न जरुरी छ । आत्मैदेखि र मानसिकरुपमा तयार भएर म यो लत छुटाउँछु भनेर लाग्ने हो भने सहजै छुटाउन सकिन्छ । यस्ता लत हटाउन बिभिन्न स्वास्थ्य संस्था, क्लिनिकहरु पनि खुलेका छन । निम्न कुराहरुमा ध्यान दिने हो भने सुर्तीजन्य पदार्थको लतबाट मुक्ति पाउन सकिन्छ ।

नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा. ओममुक्ति अनिलले अहिले कोभिड–१९ को कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताएकाछन् । । अहिले घटिरेको सुर्तीजन्य पदार्थको सेवनलाई निरन्तर दिनका लागि उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । दिनमा एक दुई वटा चुरोट खाँदा पनि हृदयघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको र युवा अवस्थामा नै  सुर्तीजन्य पदार्थको  सेवन छाड्न सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उनको भनाई छ । 
- अरुको दबावबाट होइन की भित्री मनदेखि नै सुर्तीजन्य पदार्थको म प्रयोग गर्दिन भनेर दृढता व्यक्त गर्ने हो भने पक्कै पनि यो लतबाट छुट्कारा पाउन सकिन्छ । यस्तै,

- आत्मबल सहित मानसिकरुपमा पनि आँफु तयार हुनपर्छ । 
- एकैपटक म छोड्छु भनेर लाग्दा अन्य किसिममा समस्याहरु देखिन सक्ने हुंदा १ र २ हप्ता कम मात्रा तथा पटक घटाउनपर्छ ।  
- सुर्ती,चुरोट लगायत अन्य कुनै पनि सुर्तीजन्य पदार्थहरु आफ्नो घर अफिसबाट हटाउने त्यसको सट्टामा मिठाई, चकलेट आदि राख्न्ने । 
- सुरु सुरुको अवस्थामा अन्य खानेकुराहरु जस्तैः छुर्पी, चकलेट आदिले मुखलाई व्यस्त बनाउने । 
- पहिला सुर्तीजन्य पदार्थ सेवन गरेर सकिने समयलाई अन्य तरिकाले व्यतित गर्ने ।  गीत सुन्ने, पत्रिका पढ्ने तथा अन्य चिजहरु चकलेट, फलफूलको सेवन गर्ने । 
- बिहान साँझ कसरत तथा अन्य क्रियाकलापमा व्यस्त रहने, पानी धेरै पिउने बानी बसाल्ने ।
 यी क्रियाकलापहरुलाई नियमित रुपमा दोह¥याउने हो भने सूर्तीजन्य पदार्थको सेवनलाई छोड्न सहयोग पुग्दछ । सुर्तीजन्य पदार्थको प्रयोगलाई त्याग्नैपर्छ । यसको प्रयोगबाट हाम्रो स्वास्थ्यमा पर्न गएका असरहरु घटाएर स्वस्थ जीवन विताउन तर्फ हामी सबैको ध्यान जान जरुरी छ । किनकी रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ ।

 

Hamro Doctor
Last modified on 2021-06-06 18:26:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts