जिल्ला अस्पताल बझाङ्गमा अक्सिजन प्लान्ट उद्घाटन

बझाङ्ग, २४ जेठ । प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बझाङमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन आइतबारबाट सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ मा ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया अघि बढाएको थियो ।
प्रदेश सरकारले उपलब्ध गराएको ८० लाखको लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टको शुक्रबार परीक्षण उत्पादन गरिएको छ । योसँगै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । जिल्लामा अक्सिजन सिलिन्डर पर्याप्त मात्रामा रहेकोले जिल्लामा अक्सिजन अभाव नहुने भएको छ ।
शुक्रबार गरिएको परिक्षण उत्पादन सफल भएको र आजबाट नियमित उत्पादन सुरु हुने जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताए ।
ग्रामीण भेगका स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता देखिएकाले अक्सिजन प्लान्ट सञ्चालन भएसंगै कन्सन्ट्रेटर सञ्चालन गर्न सहज भएको डा सन्दिप ओखेडाले बताए ।