कोरोनाको दोस्रो लहर साम्य नहुँदै तेस्रो लहरको चिन्ता, कहिले आउँछ तेस्रो लहर ?



Download our app to get more features

विश्व नै अहिले कोरोना महामारीको चपेटामा रहेको बेला कोरोनाको विभिन्न चरणको लहरले सबैलाई त्रसित बनाइरहेको छ । कोरोनाको पहिलो र दोस्रो लहरको सामना विश्वका अधिकांश मुलुकले गरिसकेको र गरिरहेको बेलामा तेस्रो र चौथो लहर आउन सक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् । 

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोनाको दोस्रो लहर अमेरिका, बेलायत, इटली, स्पेन, भारत, नेपाल लगायतका मुलुकले सामना गरिसकेको छ । दोस्रो चरणको लहर साम्य हुन नपाउँदा तेस्रो लहरले सबैको ध्यान आफूतिर तानेको छ । 

हालसम्मको कोरोनाको दुई लहरलाई हेर्ने हो भने पहिलो लहरमा वृद्धवृद्धा बढी प्रभावित बनेका थिए भने दोस्रो लहरमा ६० भन्दा कम उमेर समूहका मानिसहरु बढी प्रभावित बने । कोरोनाको तेस्रो लहर आउने चर्चा भइरहेपनि कहिलेसम्म आउन सक्छ कोरोनाको तेस्रो लहर भन्ने विषयमा अहिले नै यकिन भन्न सक्ने अवस्था छैन ।
 
कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा देखिएको भाइरस बढी सङ्क्रामक अर्थात् छिटै फैलिने र बिरामीमा जटिलता उत्पन्न गराउने थियो । जबकी पहिलो लहरमा सामान्य उपचारमा पनि मानिसहरु निको हुने र जटिलता २ देखि ३ प्रतिशतमा मात्रै देखिएको थियो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी वरिष्ठ माइक्रोबायोलोजिस्ट एवं सङ्क्रामक रोग विशेषज्ञ डा.मनिषा शर्माका अनुसार तेस्रो लहर वा चौथो लहर यहि नै समयमा वा अबको यति महिनापछि नै आउँछ भन्ने हुँदैन । कारण, कोरोनाको अहिलेसम्मको प्रकृति हेर्दा कसैले पनि यकिन केहि भन्न सकेको छैन ।

उनले कोरोनाको प्रकृतिका आधारमा तेस्रो लहर आउन सक्ने अनुमान गरिएपनि यो आउने हो वा नआउने हो भनेर पनि भन्न सक्ने अवस्था नरहेको बताउछिन् । उनि भन्छिन्, ‘कोरोनाको तेस्रो लहरको चर्चा भएपनि त्यो आउन पनि सक्छ वा नआउन पनि सक्छ । यकिन गरेर वा दावी गरेर कसैले भन्दैमा कोरोनाको लहर आउने वा नआउने हुँदैन ।’

कोरोनाको दोस्रो लहरको अवस्था नेपालसहित विश्व परिवेशलाई नै पनि हेर्ने हो भने जहाँ जहाँ जनस्वास्थ्यका मापदण्डको पालना पूर्ण रुपले र कडाईका साथ लागू गरिएन र वेवास्ता गरियो त्यहाँ कोरोनाको दोस्रो लहरले बढी क्षति र प्रभावित गरेको डा.शर्माको भनाइ छ ।

उनि थप्छिन्, ‘नेपालमा कोरोनाको पहिलो लहर साम्य भइसकेको बेला सबै यातायातका क्षेत्रहरु खुला गरियो । मानिसहरुको भिडभाड अनियन्त्रित हुन थाल्यो । मानिसहरु आन्दोलनमा उत्रिने, भेला हुने, बाहिर मुलुकबाट नेपाल भित्रिन थाले । तर, तोकिएको मापदण्ड पालना गरिएन र बेलायतमा देखिएको कोरोना भेरिएन्टबाटै नेपालमा दोस्रो लहर सुरु भयो ।’

सरकार मात्रै होइन विश्वका वैज्ञानिक, विश्व स्वास्थ्य संगठन, माइक्रोबायोलोजिस्ट, सङ्क्रामक रोग विशेषज्ञ सबैले कोरोनाको विभिन्न लहरहरु आउन सक्छ, सबै सचेत भएर बस्नुस, भिडभाड नगर्नुस जस्ता जनचेतनाका कुराहरु दोहोर्याएका दोहर्याएकै थिए । तर, सबैको कमजोरी र वेवास्ताले कोरोनाको दोस्रो लहरले नेपाल मात्रै होइन छिमेकी मुलुक भारतलाई पनि नराम्रोसँग प्रभावित बनाएको उनले बताइन् ।

कोरोनाको तेस्रो लहर कहिलेसम्म आउँछ भन्ने यकिन नभएपनि अबको क्रममा बालबालिका बढी प्रभावित हुने आँकलन वैज्ञानिक र चिकित्सकहरुको छ । कारण, कोरोनाविरुद्धको खोप बालबालिकाले पाएका छैनन् र उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । 

सङ्क्रामक रोगको विषयमा अध्ययन गर्दै आएका डा.सुजन मरहट्ठाका अनुसार कोरोनाका तेस्रो लहर आउने चर्चा भइरहँदा बालबालिकालाई बढी प्रभावित बनाउने चिन्ता थपिएको छ । 

मरहट्ठा भन्छन्, ‘अहिलेको भाइरसको प्रकृति हेर्दा आउने दिनमा यसले आफ्नो म्यूटेशन परिवर्तन गर्न सक्ने र खोपको पहुँचमा बालबालिका नहुँदा उनीहरु अबको लहरमा प्रभावित हुन सक्छे देखिन्छ । हुन त अमेरिका, बेलायत लगायतका मुलुकमा १८ वर्षभन्दा कम उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । तर, त्यसको प्रभावकारिताबारे अझै टुङ्गो लाग्न सकेको छैन ।’

कोरोनाको दोस्रो लहर साम्य हुँदै गएपनि जोखिम अझै कायमै रहेपनि कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्छन् कि भन्ने आशंका गरिएको भन्दै उनले यकिनका साथ केहि भन्न नसकिने बताए ।

उनी थप्छन्, ‘हुन त नेपालमा अब विस्तारै सबै खोल्ने तयारी भइरहेको छ । विद्यालय सञ्चालन हुने, बालबालिका सबैसँग घुलमिल हुने र उनीहरु अझै आफ्नो स्वास्थ्यलाई लिएर सचेत हुन नसकेको अवस्थामा बढी जोखिम बालबालिकालाई हुने आशंका हो । तर, यो विषयमा थप अध्ययन र अनुसन्धान हुन बाँकी रहेकाले केहि भन्न सकिँदैन ।’

कोरोनाको जोखिमबाट जोगिनका लागि खोपलाई नै प्राथमिकतामा राखेर सरकारले आउने लहरका लागि तयारी गर्नुपर्ने देखिन्छ । डा.मरहट्ठाले खोप मात्रै कोरोना संक्रमणको जोखिमबाट बचाउने विकल्प भएकाले खोपमै केन्द्रीत भएर काम गर्नुपर्ने बताए ।

यता, नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाको आउन सक्ने सम्भावित लहरलाई ध्यानमा राखी कोरोनाको म्यूटेशनबारे अध्ययन अनुसन्धान गर्ने गरी काम अघि बढाएको छ । 

परिषदले कोरोनाको तेस्रो लहर कहिले आउने भन्ने यकिन नभएका कारण म्यूटेशनबारे पत्ता लगाएर कसरी जोगिन सकिन्छ भन्नेमा काम गरिरहेको बताएको छ । जसका लागि नेपालमै कोरोनाको जिन सिक्वेन्सिङ्गको काम सुरु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि खोपको पहुँचमा बालबालिका नभएका कारणले उनीहरु तेस्रो लहरको चपेटामा आउन सक्ने भन्दै तयारीमा जुटेको छ । 

मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राखी पूर्व तयारी स्वरुप अस्पतालहरुलाई २० प्रतिशत बेड छुट्याउन निर्देशन दिइसकेको छ । खोपको पहुँचभन्दा बालबालिकाहरु टाँढा रहेका कारण उनीहरुलाई बढी जोखिम हुन सक्ने भन्दै सरकारले त्यसै अनुसार काम गर्दैछ । जसका लागि नेपाल देशभरका सरकारी तथा निजी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञलाई तयारी अवस्थामा रहन भनिसकेको छ भने आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी गर्न, पूर्वाधारको व्यवस्थापन गर्न र औषधिको पनि व्यवस्थापनका लागि दिर्नेशन दिइसकेको छ ।

हुन त कोरोनाको दोस्रो लहर आउन सक्ने वैज्ञानिकले चेतावनी दिँदै आएपनि सरकारले पूर्व तयारी नगरेको कारण नै दोस्रो लहरका कारण मानिसहरु बढी प्रभावित हुन पुगे । सरकारले कोरोना महामारी सम्बन्धी आवश्यक मापदण्डलाई कडाईका साथ पालना गराउन नसकेकै कारण र मानिसहरुको वेवास्ताका कारण दोस्रो लहर मुलुकमा प्रवेश गरेको र स्थिति भयावह बनेको विज्ञहरु बताउँछन् ।

हुन त मुलुकमा पूर्ण लकडाउन नहुँदै कोरोनाको दोस्रो लहर साम्य बन्दै गएको छ । र, सरकारले विस्तारै सबै क्षेत्र खुला गर्ने तयारी गरिरहेको छ । जबकी कोरोनाको दोस्रो लहरमा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक भारत र बेलायतमा कोरोनाको डेल्टा भेरिएन्टको नयाँ स्वरुपले फेरि चिन्ता बढाएको छ ।

भारतमा मात्रै हालसम्म डेल्टा प्लस भेरिएन्टको ७ वटा केसहरु फेला परिसकेको छ भने बेलायतमा स्थिति चिन्ताजनक बन्दै गएको छ । यस्तै रुसमा पनि कोरोनाको मस्को भेरिएन्ट फेला परेको छ । रुसको राजधानी मस्कोमा कोरोना सङ्क्रमण तिव्र गतिमा फैलिन थालेको छ । रुस सरकारले मस्को स्टे्रन नामाकरण गरेर सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

बेलायत, अर्जेन्टिा, कोलम्बिया, ब्राजिल लगायतका मुलुकमा कोरोनाको तेस्रो लहरको सङ्केत देखिन थालेको छ । पछिल्लो केहि सातादेखि यी मुलुकहरुमा फेरि कोरोना सङ्क्रमणको दर बढ्दै गएको देखिएको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार यी मुलुकमा दैनिक कोरोना सङ्क्रमणको दर १० हजार नाघिसकेको छ । मृत्युदर पनि दैनिक ४ सयदेखि ५ सय नाघिसकेको छ । जसका कारण वैज्ञानिकहरुले यी मुलुकमा कोरोनाको तेस्रो लहर सुरु भएको हुन सक्ने चेतावनी दिएका छन् ।

हुन त कोरोनाको दोस्रो लहर साम्य हुँदै गएपनि मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना नगर्दा जोखिम अझै बढ्न सक्ने पनि विज्ञहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो केहि सातादेखि विश्वव्यापी रुपमा कोरोना सङ्क्रमणको दर घट्दै गएपनि मृत्युदर भने अझै कम हुन नसकेकाले सावधानी अपनाउन र सचेत रहन आग्रह गर्दै आएको छ ।

कोरोनाको तेस्रो चरणको लहरका लागि सरकारले देशभरका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । तेस्रो लहर मात्रै होइन भविष्यमा कोरोनाको कति लहर आउँछ भन्ने यकिन नहुँदा सर्वसाधारणले आफ्नो स्वास्थ्यको आफै ख्याल गर्नुपर्ने हुन्छ । अहिले नै पनि मुलुकका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएपनि मानिसहरुले वेवास्ता गरेर अनावश्यक हिँडडुल गर्ने गरेको देखिन्छ भने खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम देखिन सक्ने विज्ञहरुको भनाइ छ ।

कोरोनाको जोखिमबाट बच्नका लागि तपाईं हामी सबैले गर्ने भनेको सावधानी अपनाउनु नै हो र अर्को उत्तम विकल्प भनेको खोप हो । सरकारले खोप अभियान सञ्चालन गरेपनि त्यो सहज रुपमा परिचालन हुन सकेको छैन । पहिलो चरणमा कुल जनसंख्याको २० प्रतिशत नागकिरलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य पूरा हुन चुनौती देखिएको छ । 

पहिलो डोज लगाएकाहरुले अझै दोस्रो डोज लगाउन पाएका छैनन् भने आएका खोपहरु पनि पहुँचवालाले लगाउँदा सर्वसाधारण अझै खोपबाट बञ्चित छन् । अर्को भनेको खोप लगाइसकेपनि सबैले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विज्ञहरुले पनि खोपको दुबै मात्रा लगाइसकेकाहरुले र खोप नलगाएकाहरुले पनि अनिवार्य कोरोनाको जोखिमबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्ने हुन्छ ।

 

स्वस्थ रहौं, सुरक्षित रहौं !

Last modified on 2021-06-17 18:01:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts