संक्रमण घटेपछि अस्पताल अनुगमन गर्दै सुदूरपश्चिमका मन्त्री



Download our app to get more features

धनगढी, २२ असार । सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव उच्च बिन्दुमा रहेका बेला सुदूरपश्चिम सरकार सम्पर्कबिहीन बन्यो । सुदूरपश्चिमेली जनताले अनेकन सास्ती खेपे । प्रदेशमा अस्पतालहरुको अवस्था दयनिय बन्यो। कतिले अक्सिजन पाएनन् त कतिले भेन्टिलेटर । प्रदेशमा हजारौंमा संक्रमण फैलियो, कैयौंले अक्सिजन अभावकैकारण अकालमै ज्यानसमेत गुमाए । कोरोनाको दोस्रो लहरको सामना कसरी गर्ने भन्नेतर्फ प्रदेश सरकारको ध्यान खासै केन्द्रित हुन सकेको थिएन ।

जसोतसो सीमामा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरिए । कोरोना संक्रमण दर उच्च रहेका बेला सरकारका मुख्यमन्त्री र मन्त्रीहरू राजनीतिक खिचातानीमै ब्यस्त रहे । प्रदेशमा अक्सिजन नपाएर संक्रमित छटपटी रहँदा प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट विमुख जस्तै बन्यो ।

प्रदेश सरकार संक्रमितहरूका लागि अक्सिजनको जोहो गर्न बेवास्ता गरेपछि विभिन्न संघ–संस्था अगाडि बढे । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका बेला न सीमा क्षेत्रमा कडाइ गरियो न स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्थापन गरियो। जनता भने प्रदेश सरकारलाई खोजिरहे ।

प्रदेशभरका सबै अस्पतालमा अक्सिजनको चरम अभाव भएको थियो । त्यो बेला सुदूरपश्चिम सरकारको सक्रियता खासै देखिएन् । जनताले अक्सिजन माग गरिरहेका बेला सरकार भने सत्ता र संसद्को जोडघटाउमै केन्द्रित रह्यो। तर, अहिले कोरोनाको दोस्रो लहर विस्तारै कम हुँदै गइरहेको छ । पछिल्लो समय संक्रमणको अवस्था विस्तारै ओरोलोतर्फ उन्मुख छ । संक्रमण तुलनात्मक रुपमा केही कम भएसँगै सुदूरपश्चिम सरकारका मन्त्रीहरु भने अस्पताल अनुगमनमा निस्किएका छन् ।

असार २ गते सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र राज्य मन्त्री मिना साउँदले कैलालीको टीकापुर अस्पतालको अनुगमन गरे । 

अनुगमनका क्रममा मन्त्रीहरुले टीकापुर अस्पतालमा ५० बेड थप गर्ने, कम्तिमा १५ बेड भेन्टिलेटरको व्यवस्था गर्ने, टिकापुर अस्पतालको प्रयोगशालालाई थप व्यवस्थित गर्ने, टिकापुर अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र स्वास्थकर्मीको विमा तथा सुविधामा करारमा कार्यरत कर्मचारीलाई पनि समेट्नेमा प्राथिमकता दिइने मन्त्री खड्काले आश्वासनसमेत दिए ।

यस्तै सोमबार मन्त्रीद्वय खड्का र साउँद अछाम पुगेका छन् । अछाम पुगेर मन्त्रीद्वय खड्का र साउँदलले अछामको बयालपाटा अस्पतालको अनुगमन गरे । मन्त्रीद्वय खड्का र साउँदसहित अनुगमन टोलीमा जिल्ला समन्वय समिति अछामका संयोजक नर बहादुर कुँवर, साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर उपप्रमुख बिर्मला बुढा थापा पनि सहभागि बने ।

अछाममा पनि सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागी प्रदेश सरकार गम्भीर रहेको दाबी गरे । पहाडी जिल्लामा नागरिकको स्वास्थ्य उपचारमा प्रदेश सरकारले सहज बनाउने भन्दै उनले भाषणसमेत गरे । बयालपाटा अस्पताललाई ब्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक रणनीति तथा कार्य योजना तयार गरिरहेको समेत उनले बताए ।

यस्तै राज्यमन्त्री साउँदले पनि बयालपाटा अस्पताललाई आर्थिक अभाव हुन नदिने भन्दै आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बयालपाटा अस्पताल अछाम जिल्लाको मात्र नभई प्रदेशकै गौरवको रुपमा रहेको र यस क्षेत्रका नागरिकको स्वास्थ्यका लागी ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकाले उनले दाबी गरेकी छन् ।

Last modified on 2021-07-07 08:38:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts