कर्णालीमा ४४ हजारले लगाए कोरोनाविरुद्धको खोपको दुबै मात्रा, ८२ हजार दोस्रो मात्राको पर्खाइमा



Download our app to get more features

सुर्खेत, ११ साउन । कर्णाली प्रदेशमा ४४ हजार मानिसले कोरोनाविरुद्धको खोपको दुबै मात्रा लगाएका छन् ।

कोभिडविरुद्धको खोप १८ वर्ष माथिको उमेर समूहलाई मात्र लगाउने गरिएको छ । कर्णालीमा झन्डै १८ लाख २४ हजार १ सय ३१ बराबर जनसङ्ख्या (अनुमानित) रहेको छ । त्यसमध्ये १८ वर्ष माथि उमेर समूहका झन्डै नौ लाख जनसङ्ख्यालाई खोप दिने प्रक्षेपण गरिएको छ ।

पहिलो चरणमा कोभिड विरुद्धको खोप लगाएका १ लाख ३४ हजार ९ सय ८१ जनामध्ये ८२ हजार ६ सय ७० जनालाई कोभिसिल्डको दोस्रो मात्रा लगाउन अझै बाँकी छ । उनीहरूलाई पहिलो डोज खोप लगाएको झन्डै चार महिना बितिसकेको अवस्था छ । 

खोप आयातमा समस्या हुँदा उनीहरूलाई दोस्रो डोज दिन समस्या भएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्का बताउँछन् । प्रदेशमा अझै सात लाखको हाराहारीमा कोभिशिल्ड खोपको आवश्यकता छ ।

त्यो अनुसारको कोभिशिल्ड खोप आयात हुन सकिरहेको छैन । कोभिसिल्डको पहिलो मात्रा एक लाख आठ हजार चार सय ८६ जनाले लगाएका छन् । ती मध्ये २५ हजार ८ सय १६ जनाले मात्रै दुवै डोज लगाएको डाक्टर खड्काले जानकारी दिए । भेरोसेल खोपको पहिलो डोज लगाएका २७ हजार ६ सय ६८ मध्ये, १८ हजार एक सय ३९ जनाले भेरोसेलको दोस्रो डोज लगाएका छन् भने बाँकीले दोस्रो डोज लगाउन बाँकी नै छ ।

कर्णालीमा पहिलो चरणको खोप माघ २४ गते लगाइएको थियो । पहिलो चरणकै दोस्रो प्राथमिकतामा फागुनको २ गतेदेखि लगाइएको थियो । त्यसपछि फागुन २३ गतेदेखि खोप लगाइएको थियो भने  त्यो बीचमा एक पटक लगाइएको थियो । अब, पाँचौँ चरणको अभियान अन्तरगत भरोसेल जोन्सन एन्ड जोन्सन खोप लगाउने तयारी छ ।

पाँचौँ चरणमा २६ हजार बढीलाई खोप लगाउने तयारी  
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको पाँचौँ चरणमा यहाँका ४६ हजार बढी नागरिकहरूलाई  खोप लगाइने तयारी थालिएको छ । त्यसका लागि शनिबार भेरोसेल र जोन्सन एन्ड जोन्सन गरी ६० हजार डोज खोप कर्णालीका लागि भनेर आइसकेको छ । 

स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर खड्काका अनुसार भेरोसेलको ४३ हजार डोज ल्याइएको हो भने एक पटक मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप १७ हजार डोज आएको छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारयाण चौधरीका अनुसार केन्द्रबाट बाँकेको नेपालगञ्जमा खोप छोडिएको छ । दैलेख र सुर्खेतका लागि खोप ल्याइसकिएको छ । सुर्खेतले सोमबार देखिनै खोप लगाउन सुरु गरिसकेको छ ।

Last modified on 2021-07-27 06:43:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts