कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिम बढेसँगै देशका प्रमुख अस्पतालहरु के गर्दैछन् ?

What's This?


Download our app to get more features

काठमाडौं, १२ साउन । नेपालमा कोरोना महामारीको दुई चरणको लहर आइसकेको छ । अझैपनि दोस्रो लहर साम्य हुन सकेको छैन । पहिलो लहर २ अङ्कमा झरेको सङ्क्रमण दर दोस्रो लहरमा झन्डै ३ हजारमा कायमै छ । 

पहिलो लहरभन्दा दोस्रो लहरमा नेपालको स्वास्थ्य अवस्था भयावह बन्यो । अस्पताल भर्ना हुने गम्भीर बिरामी र सङ्क्रमित हुने बिरामीको दरले अस्पतालमा बिरामीले बेड पाएनन् भने कतिले अक्सिजन अभावका कारण मृत्युवरण गर्नुपर्यो ।

दोस्रो लहरको पिक समयमा दैनिक झन्डै १० हजारका दरले सङ्क्रमित थपिए भने २ सयका दरले मानिसहरुको मृत्यु हुन थाल्यो । चैतको अन्तिम सातामा कोरोनाको दोस्रो लहर सुरु भएकोमा वैशाखको अन्तिम र जेठको पहिलो÷दोस्रो सातासम्म सङ्क्रमित र मृत्यु हुनेदर उकालो लाग्न थाल्यो । तर, असार लागेसँगै विस्तारै कोरोना परीक्षण दर घट्न थालेसँगै सङ्क्रमण दर कम हुन थाल्यो । मृत्यु दर अझैपनि २० भन्दा बढी नै छ ।

सरकारले झन्डै १० दिनअघि नेपालमा कोरोनाको जोखिम कायमै रहेको र तेस्रो लहरको जोखिम बढेको भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको छ भने मानिसहरुले जनस्वास्थ्यका मापदण्ड अझै कडाईका साथै पालना नगर्दा र सबैले खोप लगाइनसकेका कारण सङ्क्रमण दर उच्च हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्दै आएको छ । 

यसबीचमा, मन्त्रालयले सोमबार सात वटै प्रदेशका आपूर्ति व्यवस्थापन केन्द्रलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डरहरु भरेर राख्न पनि निर्देशन दिएको छ भने असोजको दोस्रो सातासम्म कोरोनाको तेस्रो लहर आउन सक्ने प्रक्षेपण पनि गरेको छ । 
 
विश्व वैज्ञानिक र नेपाल सरकार तथा स्वास्थ्य विज्ञहरुले कोरोनाको तेस्रो लहरको उच्च जोखिममा बालबालिका र खोप नलगाएकाहरु पर्न सक्ने आँकलन गरेको छ । सरकारले सञ्चालन गरेको खोप अभियान अन्तर्गत हालसम्म पनि लक्षित सबै समूहले खोप लगाउन पाएका छैनन् भने लगाएकाहरुले पनि दुबै मात्रा लगाउन सकेका छैनन् । यस्तै बालबालिकाहरु पनि खोपको पहुँचबाटा टाँढा छन् । त्यसकारण अबको जोखिम उनीहरुलाई बढी रहेको बताइएको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरभन्दा बढी खतरनाक र विकसित किसिमको भाइरस हुने बताइएको छ । कोरोनाको तेस्रो चरणको लहर आउन सक्ने जोखिमलाई हेर्दै महामारीविरुद्धको लडाईंका लागि देशका प्रमुख अस्पतालहरुमा कस्तो हुँदैछ तयारी ? हामीले केहि अस्पतालका प्रमुखहरुसँगको कुरा समेट्दैछौं ः

डा.हेमराज पाण्डे, मेडिकल सुप्रिटेन्डेन्ट (सेती प्रादेशिक अस्पताल, कैलाली)


सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सड्क्रमणको दर बढ्न थालेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा नराम्रोसँग प्रभावित बनेको सुदूरपश्चिम भारतबाट नेपाल फर्किने नेपालीहरुका कारण जोखिममा पर्दै आएको छ । पर्याप्त जाँच र व्यवस्थित क्वारेन्टाइन अभावका कारण सुदूरपश्चिम कोरोनाको उच्च जोखिम क्षेत्र मध्येको एका हो ।

अस्पतालका प्रखुम डा. हेमराज पाण्डेकले पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले धेरै पाठ सिकाइसकेकाले सजक भएर थप व्यवस्थापनमा अस्पताल जुटेको बताए ।

उनले कोरोनाविरुद्धको खोप अभियानमा पनि सबै जना समेट्न नसकिएका कारण जोखिम उच्च रहेको र पछिल्लो केहि दिनदेखि फेरि कोरोना सङ्क्रमणको दर बढ्न थालेकाले तेस्रो लहरको जोखिम थप बढेको हुँदा हामी सबै तयारी अवस्थामा रहेको बताए ।

बच्चाहरुमा पनि कोरोना सङ्क्रमणको जोखिम भएकोले त्यस्लाई पनि ध्यान दिएर अक्सिजनलाई प्राथमिकतामा राखेर जनशक्ति र अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापन तयारीमा जुटेको डा. पाण्डेको भनाइ छ । 

डा.मंगल रावल निर्देशक (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला)


कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्न थालेको सरकारको तथ्याङ्कले नै देखाएको छ । कर्णालीमा खोप अभियानपनि राम्रोसँग सञ्चालन हुन नसक्दा सङ्क्रमणको जोखिम बढेको बताइएको छ । 

कोरोना महामारीको पहिलो चरणको लहरमा कर्णाली प्रदेश पनि नराम्रोसँग प्रभावित बनेकोमा दोस्रो लहरमा भने अवस्था केहि साम्य थियो । तर, पछिल्लो केहि दिनदेखि कोरोनाको जोखिम बढेपछि भने चिन्ता थपेको छ । 

कोरोनाको दोस्रो लहर साम्य नहुँदै तेस्रो लहर आउन सक्ने भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तयारी अवस्थामा जुटेको छ । 

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको संकेत देखिन थालेको भन्दै आन्तरिक व्यवस्थापनमा जुटेको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए ।

उनले अस्पतालको अहिले राम्रो व्यवस्थापन भइरहेको र जनशक्ति व्यवस्थापन, स्वास्थ्य सामग्री र अक्सिजन व्यवस्थापनको काम पनि तयारी अवस्थामा राखिएको बताए । 
 
उनले सरकारले सहर केन्द्रीत अस्पतालहरुलाई मात्र महत्त्व दिइरहेकोले  गाँउ र सहर बाहिरका अस्पतालहरुलाई पनि महत्त्व दिनुपर्ने उल्लेख गरे । 

डा.रावलले कोरोनाको अझै कति वटा चरणका लहरहरु आउँछ कसैलाई थाहा नभएको हुँदा अब आउने जोखिमका लागि हामी तयारी अवस्थामा बसेको र बस्नुपर्ने बताए ।

डा.प्रकाश थापा, मेडिकल सुप्रिटेन्डेन्ट (भेरी अस्पताल, बाँके)


लुम्बिनी प्रदेशको बाँके कोरोनाको दुबै लहरमा सबैभन्दा बढी प्रभावित जिल्ला हो । जहाँ दोस्रो लहरले यतिसम्म भयावह रुप लियो, कि बिरामीले बेड पाउनका लागि भर्ना भएका बिरामीको मृत्यु वा डिस्चार्ज कुर्नु पर्ने अवस्था थियो । 

कोरोनाको दोस्रो लहरका कारण भेरी अस्पतालले बिरामीलाई थेग्न नसकेपछि संघ सरकारसँग सहयोग पनि माग्नु परेको थियो । अस्पतालमा अक्सिजन, जनशक्ति, बेड र अन्य स्वास्थ्यका पूर्वाधारको अभावका कारण बिरामीको बिचल्ली भएको थियो । भेरी अस्पतालको अवस्था देखेर सबैको मन भक्कानिएको थियो ।
 
पहिलो र दोस्रो लहरमा भयावह स्थिति बनेको बाँके तेस्रो चरणको लहर वेभको सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा लागिएको भेरी अस्पतालले जानकारी दिएको छ । अहिले अस्पतालमा अधिकतम रुपमा अक्सिजन बेड राख्ने र अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको डा. प्रकाश थापाले बताए । 

डा. थापाले भने “हामी तेस्रो लहरको लागि तयारी अवस्थामा बसेका छौं । तेस्रो लहरमा सड्क्रमितको संख्या बढेमा नन–कोभिड बिरामीको अनुपातलाई घटाउनुपर्ने हुन्छ, हामी अत्यावश्यक स्वास्थ्य सामग्री र कोरोना सड्क्रमणको नियन्त्रण तथा उपचारका लागि तयारी अवस्थामा छौं । दोस्रो र पहिलो लहरको जस्तो अवस्था आउँदैन भनेर अपेक्षा पनि छ ।” 

कोरोनाको अहिलेसम्मको अवस्था हेर्दा अक्सिजन महत्त्वपूर्ण रहेकाले हामी अक्सिजनका लागि पनि तयारी गरिरहेका छौं । अस्पतालकै अक्सिजन प्लान्टलाई पनि चुस्तदुरुस्त राखेर तयारीमा रहेको पनि उनको भनाइ छ ।

डा.अनुप बास्तोला, मेडिकल सुप्रिटेन्डेन्ट (टेकु अस्पताल, काठमाडौं) 


कोरोनाको पहिलो बिरामीको उपचारदेखि हालसम्म पनि कोरोना महामारी नियन्त्रणमा प्रमुख भूमिका निर्वाह गर्दै आएको नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय कोरोनाका कारण गम्भीर बिरामी अस्पताल भर्ना हुने क्रम बढेको छ । 

अस्पतालको कोभिड संयोजकपछि हाल प्रमुखको जिम्मेवारी सम्हालेका डा. अनुप बास्तोलाले अस्पतालमा पछिल्लो समय अस्पतालमा कोरोनाका गम्भीर बिरामी बढ्न थालेको बताए । 

उनले टेकु अस्पतालले अहिले जनशक्ति व्यवस्थापन र स्वास्थ्य सामग्री व्यवस्थापनलाई ध्यानमा राखेर काम गरिरहेको बताए । उनले कोरोनाको दोस्रो लहर अझै सामान्य हुन नसकेको र तेस्रो लहरको जोखिम बढेकाले अस्पतालले मानवीय स्रोतलाई तालिम दिइरहेको पनि बताए ।

टेकु अस्पतालमा अक्सिजन र अन्य उकपरणहरु पहिले देखि नै व्यवस्थित भएकोले कोरोनाको तेस्रो लहरका लागि अस्पतालले अक्सिजन, बेड र जनशक्तिलाई प्राथमिकतामा राखेर तयारी गरेको उनको भनाइ छ ।

डा. बास्तोला भन्छन्, “कोरोनाको पहिलो लहरदेखि नै हामी दिनरात नभनि बिरामीको सेवामा छौं । दुई लहर पार गरियो अब आउने लहरका लागि पनि तयारी अवस्थामा छौं । अहिले नै पनि फेरि अस्पतालमा गम्भीर कोरोना सड्क्रमित बिरामी आउन थालेका छन् । हामी सबै प्रकारले तयारी अवस्थामा छौं ।”

उदय नारायण सिंह, कोभिड संयोजक (नारायणी अस्पताल, वीरगञ्ज)


पर्साको वीरगञ्ज कोरोनाको उच्च जोखिम क्षेत्र मानिन्छ । भारतसँगको ठूलो नाकासँग जोडिएको वीरगञ्ज कोरोनाको पहिलो र दोस्रो लहरमा प्रदेश २ को सबैभन्दा बढी प्रभावित बनेको थियो । अहिलपनि अस्पतालमा फेरि सङ्क्रमण दर बढ्न थालेको र अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्न थालेको छ ।

अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले अस्पताल तयारी अवस्थामा रहेको बताए । 

उनले कोरोना महामारीको तेस्रो लहर विश्वका विभन्न मुलुकमा देखा परिसकेको र नेपालमा पनि सङ्क्रमणको दर नियन्त्रण हुन नसकेको अवस्थामा तेस्रो लहर चाँडै आउन सक्ने सम्भावना बढेको हुँदा नारायणी अस्पताल पूर्ण तयारीमा रहेको उल्लेख गरे । 

उनले भने, “तेस्रो लहरको जोखिमका लागि सबैभन्दा महत्त्वपूर्ण अक्सिजन रहेको हुँदा हामीले अक्सिजनलाई प्राथमिकतामा राखेका छौं । त्यसका लागि अस्पतालको अक्सिजन प्लान्ट र थप अक्सिजनको जोहोका लागि तयारी गरिसकेका छौं । साथै बिरामीको उपचारका लागि बेडहरु छुट्टाएर राख्ने र अक्सिजन पाइप जडान गरे व्यवस्थापन गरिरहेका छौं ।”

अस्पतालमा अहिले जनशक्ति पनि आवश्यकता अनुसार रहेकाले कोरोनाको तेस्रो लहरका लागि हामी तयारी रहेको पनि उनको भनाइ छ ।

डा.सिंहले कोरोनाको तस्रो लहरका लागि स्थानीय सरकारसँगपनि समन्वय भइरहेको र आवश्यक पर्ने औषधि लगायतका पूर्व तयारी पनि गरिसकेको र सरकारले दिएको निर्देशन अनुसार पनि हामी तयारीमा जुटेको उल्लेख गरे ।

उनले दोस्रो लहरको जस्तो भयावह अवस्था आउन नदिनका लागि अस्पताल हरसम्भव प्रयासमा जुटेको भन्दै यदि सरकारले गरेको प्रक्षेपण अगावैपनि यदि कोरोनाको तेस्रो लहर आयो भने अस्पताल तयार रहेको बताए ।

उनले हाम्रो तयारीका साथसाथै खोप अभियानपनि महत्त्वपूर्ण भएकाले त्यसतर्फपनि सबै सरकारहरु लाग्नुपर्ने उल्लेख गरे ।

Last modified on 2021-07-27 20:39:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts