कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’ आजदेखि चितवनमा पनि लगाइँदै, ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

चितवन, १४ साउन । चितवनमा आजदेखि एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’ लगाउन सुरू गरिँदै छ । 

जिल्लाभर बिहीवार र शुक्रवार दुईदिन एकसाथ ८२ वटा केन्द्रबाट खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका नि. प्रमुख अमृत महर्जनले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । त्यसका लागि जिल्लामा ३६ हजार ५ सय डोज खोप प्राप्त भएको उनले जानकारी दिए । उनले स्थानीय पालिकाले आफ्नो खोप तालिका तयार पारी सोही अनुसार सञ्चालन गर्ने बताए । 

उनका अनुसार ५० देखि ५४ वर्ष उमेरसमूहलाई यो खोप लगाइँदैछ । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदैछ । त्यस बाहेक जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाउन सक्ने उनले बताए । त्यस्तैगरी स्वास्थ्य संस्था कार्यरत यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले समेत यो खोप लगाउन सक्नेछन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको खोप जोन्सन एन्ड जोन्सनको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ ।

जसमा खोप लिन हुने अवस्था निम्न अनुसार छः
– १८ वर्षमाथिका सबै उमेर समूह
– स्तनपान गराइरहेका महिला
– विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार गर्भवती महिला

राष्ट्रिय खोप सल्लाहकार समितिको २६ मे २०२१ को सिफारिस अनुसार निम्न अवस्थाका गर्भवती महिलाहरु कोभिड–१९ को उच्च जोखिममा पर्ने भएकाले हाल प्रयोग भएका कोभिड–१९ खोप चिकित्सकको परामर्श लिएर दिन सकिन्छ ।

– ३५ वर्ष उमेर वा सो भन्दा माथिका गर्भवती महिला
–अत्यधिक तौल भएका महिला गर्भवती भएमा
– गर्भावस्थाका जटिलताहरु भएका अवस्थामा जस्तै प्रि इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह
– साथै कोभिड–१९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्तिहरु 

खोप दिन नहुने अवस्था निम्न अनुसार छः
– पहिला अन्य कुने पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया (सिरियस एलर्जीक रियाक्सन) वा एनाफाइलेक्सि भएका व्यक्ति
–यो खोपको कुने पनि तत्व जस्तै साइट्रिक एसिड मोनोहाइड्रेट, ट्रिसोडिएम साइट्रेट डिहाइड्रेट, इथानोल, सोडिएम क्लोराइड, सोडिएम हाइड्रोक्साइड, हाइड्रोक्लोरिक एसिड आदीबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका व्यक्ति
– १८ वर्षभन्दा कम उमेरका व्यक्ति
– पहिला अन्य कुनै पनि कोभिड–१९ को खोप लगाइसकेका व्यक्ति
– कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ
–प्यासिभ एन्टिबडी थेरापी जस्तै मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ 
– हाल कोभिड–१९ संक्रमण भएको व्यक्ति । तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ

विशेष निगरानीमा खोप दिन सकिने अवस्था निम्न अनुसार छः
रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधि लिई राख्नु भएको व्यक्तिलाइ विषेश निगरानी वा परामर्श जरुरी हुन्छ

खोप लगाएपछि हुन सक्ने असरहरू 
–खोप लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने, सुनिने र चिलाउने ।
– आलस्यता आउने, थकाइ लाग्ने तथा कमजोरी भएको महसुस हुने ।
–जाडो महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने ।
–वाकवाकी लाग्ने, वान्ता हुने, ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने आदि । 

तर, यी सामान्य असर हुन् र १–२ दिनपछि आफैं ठीक हुन्छन् ।

यदि लगातार वा असहय टाउको दुखेमा, कम्पन आएमा , घमिलो देखिएमा , मानसिक स्थितिमा परिवर्तन भएमा , खोप लगाएको ठाउँ भन्दा अन्य ठाउँमा निलो डाम देखिएमा वा सानो थोप्लो जस्तो दाग देखिएमा, श्वास फेर्ने गाहो भएमा, छाती दुखेमा लगातार पेट दुखेमा, खुट्टा दुखेमा वा सुन्निएमा , शरीरको कुनै पनि अगं कमजोर वा लुलो भएको महसुस भएमा तुरून्तै चिकित्सकको परार्मश लिनुपर्दछ । जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । 

यसअघि चितवनमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ खोप भेरोसिल लगाइएको थियो । जोन्सनको यो खोप भने चितवनमा पहिलो पटक लगाउन लागिएको हो ।

जिल्लामा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाइसकिएको छ ।

यस पटक यहि साउन ११ गतेबाट १३ गतेसम्म ३ दिन सञ्चालन भएको चिनियाँ खोप भेरोसिल जिल्लाका २५ हजार ६ सय ६० जनालाई लगाइएको छ ।

Last modified on 2021-07-30 15:40:36

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts