गौर अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु



Download our app to get more features

रौतहट , १६ साउन । जिल्ला अस्पताल सदरमुकाम गौरमा एक सुत्केरी महिलाले जन्माएकी शिशुको मृत्यु भएको छ । अस्पतालका चिकित्सक र कर्मचारीको लापरवाहीका कारण आफ्नो नवजात शिशुको ज्यान गएको पीडित अभिभावकले बताएका छन् ।

प्राप्त घटना विवरण अनुसार भारतको विहार राज्य अन्तरगत सितामढी जिल्ला अमुवा टोल निवासी अवदेश साह आफ्नी २८ बर्षीया श्रीमती दुर्गा देवी साहलाई सुत्केरी गराउन रौतहटको सदरमुकाम गौरस्थित जिल्ला अल्पताल गएका थिए ।

देवी अहिले माइतघर गौर नगरपालिका-७ सिसवा टोलमा बसेका कारण सुत्केरीको समय पुगे पछि शुक्रबार बेलुकी करिब ४ / ५ बजेको समयमा उपचार गराउन अस्पताल पुगेकी थिइन् । देवीले शुक्रबार नै छोरी जन्माएकी थिइन् । अस्पतालमा डाक्टरको ड्यूटी हुँदाहुँदै पनि नर्सको भरमा उपचार गराउने मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहको चरम लापरवाहीका कारण नवजात शिशुको ज्यान गएको पीडित साहले बताए ।

जिल्ला अस्पताल गौरमा चिकित्सकहरुले रात्रीकालीन ड्यूटी र ओभरटाइमको भत्ता बापत रकम बुझिरहेको भएतापनि अस्पतालमा सुविधा भने शुन्य रहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ । सरकारले अस्पतालमा करोडौं बजेट विनियोजन गरेपनि अस्पतालमा केही सुविधा नरहेको नाम नबतााउने शर्तमा एक कर्मचारीले हाम्रो डाक्टरलाई बताए ।

जिल्ला अस्पताल गौरले स्वास्थ जस्तो संबेदनशील विषयमा चरम लापरवाही गरेपनि सम्बन्धित निकायले कुनै कारबाही नथालेको स्थानीयहरुले जनाएका छन् । जिल्ला अस्पतालककै चरम लापरवाहीले आफ्नी छोरीको मृत्यु भएको भन्दै ड्यूटीमा बसेका डाक्टर र नर्स बिरुद्ध कानुनी कारबाही नभएसम्म बालिकाको शव नबुझ्ने पीडित साहले बताए ।

सुत्केरी महिलाको चिकित्सक तथा नर्सले १ पल्ट पनि हेरचाह गर्न नआएको र चिकित्सक र नर्सलाई बोलाउन जाँदा पनि कुनै वास्ता नगरेको कारण शिशुको मृत्यु भएको पीडित साहले बताए । जिल्ला अस्पताल गौरमा हुने गरेको अनियमितता बारे विभिन्न निकायमा उजुरी परे पनि कुनै कारबाही नभएको बताइएको छ ।

Last modified on 2021-07-31 19:15:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts