स्तनपान सप्ताहको पहिलो दिन विभिन्न कार्यक्रम गरी मनाइँदै, विज्ञ भन्छन्ः आमाको दूध पहिलो खोप



Download our app to get more features

काठमाडौं, १७ साउन । विश्व स्तनपान सप्ताहको पहिलो दिन आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 'हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी') भन्ने मुल नाराका साथ यस वर्षको विश्व स्तनपान दिवस मनाउन लागिएको हो । २३ साउनसम्म विश्व स्तनपान दिवस मनाइने छ ।

स्तनपान संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदार राज पराजुलीका अनुसार जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो ।

शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेंलो विगौति दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ ।

त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाडो एक घण्टा भित्रमा उसलाई आमाको विगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ । आमाको विगौती दूधले भविष्यमा बालबालिकाहरुलाई विभिन्न प्रकारका रोगहरुको जोखिपराजुलीले राख्ने र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने पराजुलीले बताए ।

शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिना सम्म आमाको दूध मात्र खुवाउनुपर्ने र बच्चा जन्मेको ६ महिना पुरा भएपछि पोषिलो थप खानाका साथै साथै कम्तिमा २ बर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाई रहेको थियो ।

'स्तनपानले शिशुको लागि सम्पुर्ण आहारको काम गर्दछ', पोषण शाखा प्रमुख पराजुलीले भने, 'आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो।" बट्टाको दूध सेवन गर्ने शिशुहरु भन्दा स्तनपान गर्ने शिशुहरुको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ ।

महिनासम्म आमाको दूधमात्र खुवाउदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने अन्तराष्ट्रिय जर्नल ल्यान्सेटले पुष्टि गरेको छ। नेपालमा स्तनपानको अवस्था नेपाल मल्टि इन्डिकेटर क्लष्टर सर्वे (मिक्स) २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टा भित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ ।

त्यस्तै उक्त सर्वेक्षण अनुसार २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत रहेको छ । नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांक अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । त्यस्तै, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ ।

त्यसैगरी जन्मनासाथ स्तनपान गराउनु अघि १० जना नवजात शिशुहरु मध्ये ३ जना नवजात शिशुहरुलाई घ्यू, मह, चिनि आदि चटाउने गरेको पाइएको छ । नेपालमा शिशु जन्मेदेखि १ महिनासम्म आमाको दूध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको छ । तर, शिशु २ देखि ३ महिना सम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत मात्र रहेको छ । नेपालमा शिशुलाई कहिल्यै पनि स्तनपान नगराएको संख्या भने १ प्रतिशत मात्रै छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ५ वर्ष मुनीका ३६ प्रतिशत बालबालिकाहरू पुड्कोपना, १० प्रतिशत ख्याउटेपना, २७ प्रतिशत कम तौल र ५३ प्रतिशत रक्तअल्पताबाट ग्रसित छन् । नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । यी सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपुर्ण भूमिका रहने बताइएको छ ।

नेपालमा पूर्ण स्तनपानलाई सहयोग गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, गैरसरकारी वा नीजि संघ संस्थामा कार्यरत महिलालाई कम्तिमा ९८ दिनसम्मको तलब सहितको प्रसुती बिदा तथा चिकित्सकको सिफारिसमा बढिमा एक वर्षसम्मको वेतलबी बिदाको व्यवस्था रहेको छ । त्यस्तै दफा १४ मा सरकारी, गैरसरकारी वा नीजि संघ संस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन् स्वास्थ्य रुग्णता (मर्बिडिटी) को कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भएमा त्यस्तो शल्यक्रिया हुनु अघि वा पछि कम्तीमा तीस दिनसम्मको तलब सहितको अतिरिक्त विदा दिनु पर्ने व्यवस्था रहेको छ ।

नेपालमा स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । कोभिड १९ को महामारीको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका जनस्वास्थ्यका मापदण्डहरुको परिपालन गरी महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरु र स्वास्थ्यकर्मीहरुमार्फत स्तनपान गराउने आमाहरु र परिवारका सदस्यहरुलाई स्तनपानको महत्व, कोभिड संक्रमित भएकी आमाले पनि सावधानी अपनाएर बच्चालाई स्तनपान नै गराउनु पर्ने लगायतका विषयमा परामर्श दिनुपर्ने पोषण शाखा प्रमुख पराजुलीले बताए ।

Last modified on 2021-08-01 16:27:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts