सुरक्षा सेवा बाहेक कुनैपनि सेवासुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा 



Download our app to get more features

काठमाडौं,१८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले चैत मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्यष् रहेको बताएका छन् ।

सोमवार मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म एकतिहाई जनसंख्या र चैत मसान्तसम्म सम्पूर्ण नागरिकलाई खोप दिने बताएका हुन । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आफ्नो प्राथमिकतामा कोरोना खोपको वितरण रहेको बताएका छन् । श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी पनि गरेका छन् । उनले महामारी नियन्त्रणका लागि सर्वाधिक आवश्यक खोप व्यवस्थापनका लागि मित्र राष्ट्र तथा दात्री निकायहरुसंगको खोप कूटनीतिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनका अनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने बताएका छन् । त्यसैगरी १२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको पनि उनले बताएका छन् । 

कोभिड खोपको उत्पादन नेपालमै गर्ने अध्ययन भईरहेको बताउँदै उनले आगामी दिनमा यस विषयमा विज्ञ र सम्बन्धीत क्षेत्रसँग छलफल गरेर अघि बढ्ने पनि बताए ।

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै भारतसंगको सिमाक्षेत्रमा होल्डिङ्ग सेन्टर बनाउने, जनशक्तिको आवश्यकता परिपूति गर्न आवश्यक समन्वय गर्ने, स्वास्थ्यकर्मीको सेवा सुविधाको लागि उचित व्यवस्था गर्ने जस्ता तयारी गरेको पनि उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले आफू संलग्न सम्पूर्ण व्यवसायिक संग्लनताबाट अलग हुँदै काम गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आफू राज्यमन्त्रीमा रहँदा सरकारबाट प्राप्त भएको सुरक्षा सेवा बाहेकको सबै सेवा सुविधा पनि नलिने घोषणा गरेका छन् । 

सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना प्रस्तुत कार्यक्रममा स्वास्थ्य राज्यमन्त्रीले उक्त प्रतिवद्धता गरे । स्वास्थ्यकर्मीको सेवा सुविधाको लागि उचित व्यवस्था गर्ने जस्ता तयारी गरेको पनि उनले बताएका छन् । 
 

Last modified on 2021-08-02 16:42:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts