बागमती प्रदेशका ८ जिल्ला अस्पतालमा वृहत्त अक्सिजन प्लान्ट जडान गरिने



Download our app to get more features

काठमाडौं, १८ साउन । बागमती प्रदेश सरकारले कोरोना महामारीको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका ८ जिल्ला अस्पतालमा वृहत्त अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।

प्रदेशको सामाजीक विकास मन्त्रालयले प्रदेशका १३ मध्ये ८ जिल्ला अस्पतालमा वृहत्त अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको हो ।

प्रदेशको बाँकी ८ वटा जिल्ला अस्पताललाई वृहत अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान भई करीब पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको र केही दिनभित्रै सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने तयारी भइरहेको बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका प्रमुख डा। वसन्त अधिकारीले बताए ।

धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा, ललितपुर, काठमाडौँ र चितवन जिल्लाका सरकारी स्वामित्वमा रहेका अस्पतालमा कोभिड सङ्क्रमण रोगीका उपचार कार्यलाई सहजीकरण गर्न अक्सिजन प्लान्ट, पिसिआर प्रयोगशाला, सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण उपलब्ध गराउन प्रदेश सरकारले बजेट विनियोजित गरी बोलपत्रको माध्यमबाट उपकरण जडान गर्ने कार्यको लागि आवश्यक तयारी भइसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। पुरुषोत्तमराज सेढाइँले जानकारी दिए ।

उनले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालमा कोभिड महामारीको सङ्कट फैलन सक्ने सम्भाव्यतालाई अध्ययन गरी प्रत्येक अस्पतालमा अक्सिजन सिलिण्डर जर्गेना गर्ने, आवश्यकीय दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी उपलब्ध गराइसकिएको तथा थप गर्नुपरेमा प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सकको टोली अनुगमन गरी आएको सिफारिस अनुसार दरबन्दी उपलब्ध भएको पनि जानकारी दिए ।

यसअघि, प्रदेशको मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाढी अस्पतालमा वृहत्त अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Last modified on 2021-08-02 13:57:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts