क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी

What's This?


Download our app to get more features

चितवन, ११ चैत्र । गम्भीर प्रकृतिका र संवेदनशील बिरामीको क्षयरोग परीक्षणमा ‘जिन एक्स्पर्ट’ मेसिन प्रभावकारी भएको छ । विशेष प्रकारका बिरामीको खकार परीक्षणका लागि प्रयोग गरिएको यो मेसिन प्रभावकारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कुष्ट तथा क्षयरोग अधिकृत जयराम दवाडीले जानकारी दिए । सरकारले नेपालका विभिन्न ३० स्थानमा खकार परीक्षण गर्ने मेसिन स्थापना गरेको छ । 

निश्चित मापदण्डभित्र परेका बिरामीका खकार ‘जिन एक्स्पर्ट’ मेसिनमार्फत परीक्षण हुने गर्दछ । एचआइभी संक्रमित बिरामी, जतिपटक परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको तर उसको शारीरिक अवस्थामा रोग देखिएको, क्षयरोग लागेका व्यक्तिको परिवारका सदस्यलाई ‘जिन एक्स्पर्ट’ मेसिनबाट परीक्षण गर्ने गरिएको दवाडीले जानकारी दिए । 

जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैं परीक्षण गरेर कम्प्युटरमा नतिजा दिन्छ । अर्काे पूरानो पद्धति भने खकारलाई कीटमा राखेर माइक्रोस्कोपको सहायतामा हेरेर रोग पत्ता लगाइने हो । यसरी गर्दा दुईपटकसम्म परीक्षण गर्नुपर्ने र त्रुटिको सम्भावना पनि हुने कार्यालयले जनाएको छ । 

जिन एक्स्पर्ट मेसिनमार्फत गएको एक वर्षमा चितवनमा ३ सय ३२ जनाको खकार परीक्षण भएको थियो । उनीहरुमध्ये ९७ जनामा क्षयरोग लागेको पुष्टि भएको कार्यालयले जनाएको छ । तीमध्ये ३५ महिला र ६२ जना पुरुष छन् । 


चितवनमा अघिल्लो एक वर्षमा एक हजार चारजना क्षयरोगी पत्ता लागेको छ । यो आवको पछिल्लो आठ महिनामा ९ सय क्षयरोगी फेला परेको दवाडीले जानकारी दिए । नियमित औषधि खाए निको हुने दर करिव शतप्रतिशत नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख मधुसूदन कोइरालाले बताए । 
रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts