प्रदेश १ मा कोराना  संक्रमितको संख्या बढ्दो



Download our app to get more features

इटहरी, २ भदौ । प्रदेश नम्बर १ मा कोरोना संक्रमण  पछिल्लो समय बढ्दै गएको छ । संक्रमितको सङ्ख्या दिन प्रतिदिन उच्च हुन थालेपछि प्रदेशका कोभिड उपचार अस्पतालका शैयाहरू भरिन थालेका छन् ।

पूर्वी नेपालमा विशेष गरी सुनसरी, मोरङ र झापा जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढिरहेको देखिन्छ । सहरीकरण तथा अधिक जनघनत्व भएको तराईका जिल्लामा मात्र होइन, इलाम, धनकुटा र उदयपुर जिल्लामा पनि संक्रमितको सङ्ख्या पछिल्लो समय बढ्दै गएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयको मङ्गलबारको तथ्याङ्क हेर्ने हो भने प्रदेश १ मा ८६० मा कोरोना संक्रमण  देखिएको छ । एक हजार ४१० को स्वाब परीक्षण गर्दा ४७० र एक हजार ४०४को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण  देखिएको छ । जसमध्ये झापामा १८४, मोरङमा १४५ र सुनसरीमा १०४ मा सङ्क्रमण देखिएको छ । त्यस्तै इलामका पन्ध्र र धनकुटाका सात जना संक्रमित भएका छन् ।

पछिल्ला दिनमा स्वाब तथा एन्टिजेन परीक्षण गरिएका मध्ये करिब ३५ प्रतिशतसम्मको नतिजा पोजेटिभ आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले जानकारी दिइन्। बितेको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २१ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको सङ्ख्या निरन्तर बढ्दै गएपछि कोभिड अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमितको उपचार गर्ने प्रदेश १ का चारवटा सरकारी अस्पतालमा बिरामीको चाप बढेको अधिकृत राजवंशीको भनाइ छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा रहेको कोसी अस्पताल र कोसी कोभिड उपचार अस्पतालका साथै भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालमा संक्रमितहरूको चापसँगै शया भरिन थालेको छ ।

यसबाहेक निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका विराटनगरको नोबल मेडिकल कलेज र विराट मेडिकल कलेज, झापाको बी एन्ड सी अस्पताल र बिर्ता सिटी अस्पताललगायतका कोभिड उपचार केन्द्रमा पनि कोरोना संक्रमितको चाप बढ्दै गएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts