कोरोनाको 'रेड जोनमा सुनसरी',एक सातामा ३१ को मृत्यु



Download our app to get more features

इटहरी, ८ भदौ । प्रसाशनले निषेधाज्ञा खुकुलो बनाएसँगै सुनसरीमा नयाँ भेरियन्टसहित देखा परेको कोरोना संक्रमणको दर तीव्ररूपले बढेको पाइएको छ । सुनसरीमा दुई गुणाले संक्रमणको दर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लालाई रेडजोनमा राखेको छ । सक्रिय संक्रमितको संख्या ५०० कटेपछि मन्त्रालयले जिल्लालाई रेड जोनमा राख्ने गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको दरलाई न्यूनिकरण गर्न प्रसाशनले गत वैशाख १७ गतेदेखि असार दोश्रो सातासम्म कडाइका साथ निषेधाज्ञा जारी गरेकोमा हाल खुकुलो भएसँगै दैनिक संक्रमणको दर १०० नाघेको छ । यो साता मात्रै जिल्लामा ५८८ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो साता ४६५ संक्रमित थपिएका थिए । यसैगरी यो साता सुनसरीमा कोरोना संक्रमणबाट ३१ जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालय प्रदेश १ को विवरणले देखाएको छ ।

जिल्लाको संक्रमण दरलाई हेर्ने हो भने सबैभन्दा बढी सुनसरीको इटहरीमा देखिएको छ । इटहरीमा यो साता मात्रै ३०७ जना नया संक्रमित थपिएका छन् भने यो साता धरानमा १६० जना नयाँ संक्रमित थपएका छन् ।

योसँगै इटहरीमा सक्रिय संक्रमितको संख्या ६८१ पुगेको छ । यो साता मृत्युदरमा पनि इटहरी उपमहानगर अगाडि देखिएको छ । गएको भदौ एक गतेदेखि ७ गते सम्मको विवरण हेर्ने हो भने इटहरीमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको देखिएको छ । त्यस्तै धरानमा ९ जना ,बराहक्षेत्रमा २  जना इनरूवामा २ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लामा संक्रमणको दर दुई गुणाले बढ्नुमा प्रसाशनले निषेधाज्ञालाई कडाइ गर्न नसक्नु मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । इटहरी अस्पतालका चिकित्सक रामकुमार धमलाले प्रसाशनबाट निषेधाज्ञाको  पालना कडाइका साथ नभएकाले स्थानीयस्तरमा लापरबाही बढेको र संक्रमणको दर पनि उच्च बनेको बताए ।

जिल्लामा संक्रमण बढिरहँदा धरान उपमहानगरले निषेधाज्ञालाई कडाइ गर्न बिहान १० बजेदेखि साझ ५ बजेसम्म मात्रै व्यवसाय सुचारू गर्न दिएको छ भने इटहरीमा संक्रमणसँगै मृत्युदरसमेत बढिरहँदा सामान्य सतर्कता पनि अपनाइएको छैन । अव्यवस्थित बजार, स्थानीयहरूको बाक्लो जमघट, स्वास्थ्य मापदण्ड विपरीतका व्यवसायहरू सञ्चालन हुँदै आएका छन् ।

जिल्ला प्रसाशन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्रसाशनको मात्र भर नपर्न स्थानीय सरकारलाई सुझाव दिइसकेको बताए ।

जिल्लामा निषेधाज्ञालाई कडाइ गरौं भन्दा व्यवसायीदेखि जनप्रतिनिधिसम्म आफैंमाथि खनिएकाले तत्काललाई अघिल्लो निर्णय नै कार्यान्वयन गराइँदै आएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । तर जिल्लालाई मन्त्रालयले रेड जोनमा राखेपछि अब सोच्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts