बतास र अटोवेज समूहले किन्यो मणिपाल, बाहिरिए भारतीय व्यवसायी



Download our app to get more features

पोखरा, १० भदौ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज पोखराको मणिपाल अस्पताल तथा मेडिकल कलेज बिक्री भएको छ । पोखरामा बतास अर्गनाइजेसन चलाएका आनन्दराज बतास र अटोवेज गू्रपका नारायण पौडेलले मणिपाल कलेज किनेका हुन् । सन् १९९४ मा मणिपाल सञ्चालन गरेको भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले नेपाल सरकार र मणिपाल कर्मचारी युनियनले कलेज सञ्चालनमा असहयोग गरेको भन्दै आफ्नो लगानी झिकेर मणिपाल बाहिरिएको हो । 

मणिपाल गु्रपले नेपाल सरकारसँग सन् १९९२ मा सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो । ७५० शैयाको अस्पतालमा ११ सय कर्मचारी कार्यरत छन् भने मणिपाल कलेजबाट वर्षेनी १ सय जना विद्यार्थीलाई एमबीबीएस पढ्ने अनुमति छ । 

दुई जनाले सयुंक्त रुपमा किनेको उक्त मणिपाल अस्पताल ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा बिक्री भएको हो । एक महिना भित्रमा नै हस्तान्तरण गरिसक्ने तयारी छ ।

कलेज र अस्पताल दुवैको मूल्यांकन गर्दा अस्पतालको मूल्य २ अर्ब २५ करोड र अस्पतालको ४० रोपनी जग्गा ९७ करोड दायित्व गरेर सवा ३ अर्बमा अस्पताल बिक्री भएको बताइएको छ । अस्पताल सञ्चालनका लागि आनन्दराज बतासको अध्यक्षतामा ४ सदस्यीय बोर्ड बनाउने र उपाध्यक्षमा नारायण पौडेल तथा सदस्यमा शान्ता बतास र बिपेन बतास हुनेछन् ।

Last modified on 2021-08-27 07:44:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts