कोरोनाको पहिलो र दोस्रो लहरमा देशभर कतिजना नर्सले गुमाए ज्यान ?

What's This?


Download our app to get more features

 काठमाडौं, १४ भदौ । नेपालमा कोरोना संक्रमणका कारण १४ जना नर्सहरुको मृत्यु भएको छ । 

नेपाल नर्सिङ्ग संघका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरको क्रममा गरि १४ जनाको मृत्यु भएको हो ।

संघका अध्यक्ष मनकुमारी राईले देशभर मृत्यु भएका नर्सहरुमध्ये २ जना सेवामा रहेको र अन्य १२ जना सेवाबाट अवकास लिइसकेको बताइन् ।

उनका अनुसार एक जना वीर अस्पताल र अर्का एक जना चितवनको भरतपुर अस्पतालमा कार्यरत नर्स थिइन् । 

अध्यक्ष राई भन्छिन्, ‘हामीसँग आईपुगेको तथ्याङ्क यति मात्रै हो, अब कति नर्सहरु बाहिर आउन नचाहेर नआएको पनि हुनसक्छ । कति नर्सहरु संक्रमित भए भन्न पनि यकिन तथ्याङ्क छैन ।’ 

नेपालमा अहिले पनि दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यस्ता संक्रमितको सेवामा लाखौं नर्सहरु खटिरहेका छन् । तर, वास्तविक तथ्याङ्क सरकारसँग पनि छैन ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ्ग तथा उपचारत्मक महाशाखाका अनुसार कोरोना महामारीको दुबै चरणको लहरको क्रममा कति नर्सहरु प्रभावित भए र कतिको मृत्यु भयो भन्ने तथ्याङ्क छैन । 

यसरी हेर्ने हो भने कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित नर्सहरु भएपनि उनीहरुको बारेमा सरकारसँग तथ्याङ्क नहुँदा त्यसले नर्सहरुलाई दिने सेवा सुविधाबारे पनि टुङ्गो लगाउन समस्या हुने देखिन्छ ।

Last modified on 2021-08-30 16:45:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts